Successfully Copied

बुवाको बिँडो थाम्छु

होस सम्हालेदेखि नै मेरो एउटै सपना थियो बुवाजस्तै पत्रकार बन्ने । कोठामा टन्नै पुस्तक हुन्थे । म स्कुलको होमवर्क सकेर ती पुस्तक नियाल्थें । जसमा थारू भाषाका पुस्तक पनि थिए । म सानैदेखि विभिन्न किसिमका पुस्तक पढ्न रुचाउँथे । म पुस्तकको आफ्नै तरिकाले

छोरी बुनु थारु, पत्रकार

बुवा कृष्णराज सर्वहारी पत्रकार

होस सम्हालेदेखि नै मेरो एउटै सपना थियो बुवाजस्तै पत्रकार बन्ने । कोठामा टन्नै पुस्तक हुन्थे । म स्कुलको होमवर्क सकेर ती पुस्तक नियाल्थें । जसमा थारू भाषाका पुस्तक पनि थिए । म सानैदेखि विभिन्न किसिमका पुस्तक पढ्न रुचाउँथे । म पुस्तकको आफ्नै तरिकाले रिभ्यु गर्थें । कविता पनि लेख्थें । बुवाले राम्रो छ भन्दा फुरुङ्ग भएर अर्काे लेखिहाल्थें । तीन दिदीबहिनीमा म माइली र त्यसमा पनि सबैभन्दा प्यारी छोरी हुँ । दाङमा जन्मिए पनि मैले नर्सरीदेखि नै काठमाडौंमा पढ्ने अवसर पाएँ । बुवाले सधैं मलाई असल साथीजस्तै भएर कार्यक्रमहरूमा लानुहुन्थ्यो ।

मैले बुवाजस्तै बन्छु भनेर पत्रकारिता विषय लिएर पढें । आइ.ए. र बी.ए. दुवैमा मैले क्लास टप गरें । एसएलसीपछि बुवाले छोरीहरूमध्ये को पत्रकार बन्ने भन्दा मैले म बुवाको बिँडो थाम्छु भनेर यो क्षेत्रमा आएकी हँु । हुन त कान्छी बहिनी पनि फाइन आर्ट पढेर टेलिभिजनमार्फत पत्रकारितामै लाग्दैछिन् । मलाई धेरैले अनुहार पनि बुवाको जस्तै रहेछ भनेको सुन्छु । मेरो अनुहार मात्र होइन काम र बानी–व्यवहार पनि बुवाकै जस्तो छ । हामी दुवैलाई मनमा लागेको कुरा बोलिहाल्नुपर्छ । बुवाले गोरखापत्रमा थारू पृष्ठ हेर्नुहुन्छ, बुवाको फाइनल लेआउट, डिजाइन हेर्न म नै जान्छु ।

 बुवाले वार्षिक रूपमा थारू पत्रिका निकाल्नुहुन्छ । पछि बुवाकै पत्रिकालाई आफूले निरन्तरता दिने सोच छ । बिहान नामक उक्त पत्रिका अब छोरीको सम्पादकत्वमा प्रकाशन भएको हेर्ने चाहना बुवाको पनि छ । यति मात्र होइन हामी बाबुछोरीबीच आज यस्तो लेखें, भोलि कुन विषयमा लेख्ने छलफलसमेत हुन्छ । मलाई नर्स बनाउन चाहने ममीलाई भने घरमा हामीले पत्रकारिताको कुरा गर्दा झर्काे लाग्छ ।

 Image