Successfully Copied

सगरमाथामा नेपाली महिला

सन् १९७५ मा जापनिज नागरिक जुन्को ताबेईले पहिलो पटक महिलाका रूपमा सगरमाथा आरोहण गर्दा महिलाले पनि सगरमाथा चढ्छन् भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए । जुन्को चढेको लामो समय पछि मात्र नेपाली आरोही पासाङ ल्हामु शेर्पाले सन् १९९३ सालमा सगरमाथाको सफल आरोहण गरेपछि

केही वर्षअघिसम्म पनि पुरुष र महिलाबीच असमानताको ठूलै खाल्डो थियो । यो काम महिलाहरूले गर्न सक्दैनन्, गर्नुहुँदैन, यो महिलाको मात्र काम आदि भनेर कतिपय काममै बार लगाइएको थियो । यद्यपि अहिले समयले कोल्टो फेरिसकेको छ । अहिलेको पुस्तालाई यो दूरीको कुरा एकादेशको कथाजस्तै लाग्छ । । अहिलेका महिलाहरू म सक्छु, मैले गर्छु, म पनि केही कम छैन भनेर आफैं अघि बढिरहेका छन् । भान्सा कोठा र परिवारको सेवामा सीमित महिलाहरू पुरुषले गरिने भनिएका कुनै पनि काम गर्न पछाडि छैनन् । त्यसको उदाहरणका रूपमा सगरमाथा आरोहणमा महिलाहरूको सहभागितालाई पनि लिन सकिन्छ । यो वर्षका लगभग ४ सय सगरमाथा आरोहीमा नेपालबाट ५ जना पुरुष तथा १५ जना महिलाले सगरमाथाको सफल आरोहण गरेका छन् । यसले पनि नेपाली महिलाहरू पुरुषको तुलनामा कुनै हदमा कम छैनन् भन्ने दर्शाउँछ ।

सन् १९७५ मा जापनिज नागरिक जुन्को ताबेईले पहिलो पटक महिलाका रूपमा सगरमाथा आरोहण गर्दा महिलाले पनि सगरमाथा चढ्छन् भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए । जुन्को चढेको लामो समय पछि मात्र नेपाली आरोही पासाङ ल्हामु शेर्पाले सन् १९९३ सालमा सगरमाथाको सफल आरोहण गरेपछि मात्र नेपाली महिलाहरू सगरमाथातर्फ आकर्षित भएका हुन् । त्यसको दुई दशकपछि महिला आरोहीको संख्या पुरुषको तुलनामा बढ्न थाल्नु महिलाहरूमा करुणा, माया, सहानुभूति र कोमलताका साथमा शक्ति, साहस र आँट पनि उत्तिकै छ भन्ने संकेत हो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमन्ड हिलारीले सन् १९५३ को मे २९ तारिखका दिन सगरमाथाको शिखरमा पुगेपछि उक्त घटनाले विश्वभरि नै ठूलो चर्चा पायो र नेपालले अन्तर्राष्ट्रिय जगत्मा सर्वोच्च शिखर सगरमाथाको देश भनेर पहिचान प्राप्त गर्‍यो । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा हुन् । उनले लगातारको चौथो प्रयासमा सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखर चुमेकी थिइन् । पासाङले पाएको सफलतासँगै उनको जीवन सगरमाथाकै काखमा सेलायो । त्यतिबेला आकस्मिक रूपमा चलेको हिम आँधीमा उनको मुत्यु भयो । संखुवासभाकी लाक्पा शेर्पाले दोस्रो नेपाली महिलाका रूपमा सगरमाथाको सफल आरोहण गरिन् भने सगरमाथा चढ्ने तेस्रो नेपाली हुन्–सोलुखुम्बु नाम्चे बजारकी पेम्बाडोमा शेर्पा । उनी तिब्बत तर्फबाट सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोही पनि हुन् । त्यस्तै लाक्पा शेर्पा तिब्बत तर्फबाट पनि दुईपटक सगरमाथा चढिसकेकी छिन् भने उनले नौ पटक सगरमाथा आरोहण गरेर सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने नेपाली महिलाको रेकर्ड बनाएकी छिन् ।

मोनी मुलेपति प्रथम नेवार महिलाका रूपमा सन् २००५ मा सगरमाथा चढ्न सफल भइन् भने उनले शिखरमै विवाहसमेत गरेर नयाँ विश्व कीर्तिमान कायम गरिन् । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पहिलो महिला फोटोग्राफर आरोहीको रूपमा रेकर्ड राखेके छिन् । नेपाली महिलाहरूको सगरमाथा चढ्ने प्रतिस्पर्धा र संख्यात्मक वृद्धिको क्रममा सन् २००८ मा सुस्मिता मास्केको नेतृत्वमा समावेशी सगरमाथा आरोहण दलका १० जना नेपाली महिला सगरमाथा चढ्न सफल भए । समावेशी सगरमाथा आरोहण दलमा सुस्मिता मास्केका अतिरिक्त उषा विष्ट, शैली बस्नेत, चुनु श्रेष्ठ आदि पनि सामेल थिए । उक्त आरोहण दलमा रहेकी शैली बस्नेत प्रथम नेपाली पत्रकार महिलाका रूपमा सगरमाथा चढ्न सफल भएकी हुन् । उक्त दलमा माया गुरुङ, आशाकुमारी सिंह, निमाडोमा शेर्पा, पेमाडोमा शेर्पा, पूजना आचार्य तथा नवाङफुटी शेर्पा पनि सामेल थिए ।

हिमाल आरोहण महँगो खेल भएकाले अपेक्षित रूपमा विश्वका महिलाहरूको तुलनामा नेपाली महिलाहरू आरोहणमा जान सकिरहेका छैनन् । थुप्रै अप्ठ्यारा हुँदाहुँदै पनि नेपाली महिला पर्वतारोहीहरू यो चुनौती मोल्न तयार हुँदै आएका छन् ।

यसै क्रममा अक्सिजन प्रयोग नगरी, कृत्रिम खुट्टा लगाएर, सबैभन्दा कम उमेरमा र सबैभन्दा बढी उमेरमा सगरमाथा चढेर धेरैले नयाँ–नयाँ रेकर्ड कायम गरेका छन् । पहिलो नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पा, पहिलो महिला आरोही जापानकी जुन्को ताबेई, कृत्रिम अक्सिजन प्रयोग नगरी आरोहण गर्ने फ्रान्सकी राइन होल्ड मेसनर तथा महिला पर्वतारोहीमध्ये छोटो समयमा आरोहण पूरा गर्ने छुरिम डोमा शेर्पाको नाम कीर्तिमानी आरोहीका रूपमा रेकर्ड छ । केही आरोहीले सगरमाथा आरोहणकै क्रममा आफ्नो जीवन उत्सर्ग गरेका छन् । प्रथम नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पा, बाबुछिरी शेर्पा, ७६ वर्षीय वृद्ध पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय तथा ८२ वर्षीय वृद्ध मीनबहादुर शेरचन सगरमाथामा मृत्यु हुने केही नेपाली हुन् । भारतीय महिला आरोही अंशु जम्सेल्याले एकै याममा दुई पटक सफल आरोहण गरेकी छिन् । कामिरिता शेर्पाले सर्वाधिक २२ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

यसअघि आप्पा शेर्पा र फुर्वातासी शेर्पाले २१ पटक आरोहण गरेको रेकर्ड छ । संखुवासभाकी लाक्पा शेर्पाले सगरमाथाको ९ पटक सफल आरोहण गरेर नेपाली महिलाको नयाँ कीर्तिमान कायम गरेकी छिन् । यो वर्ष ४ सयभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । अघिल्ला वर्षको तुलनामा यसपटकको आरोहणमा मानवीय क्षति कम भएको छ । विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशृंखलामध्ये आठवटा नेपालमै भएकाले पनि संसारभरका साहसिक पर्यटक तथा पर्वतारोहीका लागि नेपाल आकर्षक गन्तव्यका रूपमा चिनिएको छ । मनास्लु, धौलागिरि, मकालु, ल्होत्से, आमाडब्लम आदि हिमाल आरोहणमा पनि आकर्षण अझ बढ्दै गएको छ । आरोहीको चाप बढ्दै जाँदा हिमाली क्षेत्रमा फोहोरमैलाको थुप्रोले प्रदूषण बढ्दै गएको छ । यद्यपि हिमालको सरसफाइ गरी फोहोर सङ्कलन गर्ने काम नभएको होइन तर त्यो पर्याप्त छैन । विशेषत: आधार शिविरभन्दा माथिको क्षेत्रको सफाइमा त्यति ध्यान पुग्न सकेको छैन । सरकार, वातावरणविद् तथा सरोकारवालाहरूले सगरमाथालगायत अन्य हिमालको आकर्षण र सौन्दर्य कायम राख्न समयमै दीर्घकालीन नीति निर्माण गरी अघि बढ्नु जरुरी देखिन्छ ।

सगरमाथामा फोहोर

सगरमाथा आरोहण गरेर फर्किने आरोहीले आफ्नो फोहोरमैला फिर्ता ल्याउनुपर्ने व्यवस्था छ । १ जना बराबर ८ केजीदेखि १२ केजीसम्म फोहोर बुझाउनुपर्छ । तैपनि सगरमाथाका विभिन्न भूभाग फोहोरले प्रदूषित छन् । क्याम्प दुईमा शौचालय बनाइए पनि फोहोर त्यहीँ छोडिएको हुन्छ । क्याम्प तीनमा पनि फोहोरमैला हिउँको थुप्रोमा छोडिएको हुन्छ । आरोहणका क्रममा पिसाब र प्रयोग गरेर छोड्ने सामग्रीले सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मका क्षेत्रमा फोहोर देखिएको आरोहीहरू बताउँछन् । कतिपय लाश पनि त्यत्तिकै भेटिन्छन् । रोशाले पनि आरोहणका क्रममा एउटा लाशलाई देखेकी थिइन् । हिउँको चिसोले होला लाश जस्ताकै तस्तै देखिन्थ्यो, उनले नारीसँगको कुराकानीमा बताइन् ।

नियम : प्रत्येक आरोहण दलले आफ्नो फोहोरमैला आफैले फिर्ता ल्याउनुपर्ने, नभए सरकारलाई बुझाएको चार सय अमेरिकी डलर धरौटी जफत हुने प्रावधान छ । त्यस्तै प्रत्येक आरोहीले फर्कंदा थप आठ किलो फोहोर आधार शिविरसम्म ल्याउनुपर्ने नियम पनि छ । सगरमाथा आधार शिविरदेखि तलको फोहर संकलन गर्ने जिम्मा गैरसरकारी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समितिले लिएको छ ।

                                                                                                 क्रमश...

 Image