Successfully Copied

आगलागीबाट जोगिने उपाय

इमर्जेन्सीका बेला कुन बाटोबाट सुरक्षित स्थानमा पुग्ने भन्ने योजना पहिले नै तय हुनुपर्छ । बाहिर निस्कने बाटो कहिल्यै अवरुद्ध गर्नुहुँदैन । ढोका खोल्नुअघि कोठा तातो भए–नभएको चेक गर्नुपर्छ । तातो भए अर्काे कोठामा वा बाहिर आगो लागेको हुनसक्छ ।

पकाउँदा सुरक्षित हुने उपाय के–के हुन् ?

अल्कोहल तथा तुरुन्तै आगो टिप्नसक्ने अन्य वस्तुहरू स्टोभ तथा चुल्होको अगाडि नराख्ने । साना नानीहरूलाई एक्लै भान्सामा नछाड्ने तथा सलाई, लाइटरजस्ता वस्तु उनीहरूको पहुँचबाट टाढै राख्ने । ताप्केको हेन्डल ग्याँसमाथि आगो नटिप्ने गरी राख्ने । स्पार्क डिभाइसहरू लाइटर वा सलाई भन्दा बढी सुरक्षित हुन्छन् किनभने यसमा ग्याँसले सीधै आगो भेट्दैन । खाना पकाइसकेपछि अनिवार्य रूपमा ग्याँस बन्द गर्ने ।

विद्युतीय आगोबाट कसरी जोगिने ?

ओभर हिट हुनबाट जोगिन उपयुक्त फ्युज जडान गर्ने । अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गरेका विद्युतीय उपकरण मात्र प्रयोग गर्ने । बढी लोड लिने विद्युतीय उपकरण जस्तै वासिङ मेसिन, हिटर आदिका लागि सिंगल प्लग प्रयोग गर्ने । सकेसम्म एउटा प्लगका लागि एउटा सकेट मात्र प्रयोग गर्ने । खतराको कुनै पनि संकेत पाए वा कुनै तार नांगो फेला परे वा कुनै सकेट, फ्युज, सर्किट ब्रेकर विनाकारण उडिरहे तथा कुनै बत्ती झिपझिप गरिरहे विशेष ध्यान पुर्‍याउनुपर्छ । प्रयोगमा नआउने विद्युतीय उपकरणहरूलाई सुत्नुअघि वा प्रयोगमा नआउँदा बन्द गर्नुपर्छ ।

इमर्जेन्सीमा कसरी सुरक्षित हुने तथा सुरक्षित स्थानमा कसरी पुग्ने ?

इमर्जेन्सीका बेला कुन बाटोबाट सुरक्षित स्थानमा पुग्ने भन्ने योजना पहिले नै तय हुनुपर्छ । बाहिर निस्कने बाटो कहिल्यै अवरुद्ध गर्नुहुँदैन । ढोका खोल्नुअघि कोठा तातो भए–नभएको चेक गर्नुपर्छ । तातो भए अर्काे कोठामा वा बाहिर आगो लागेको हुनसक्छ । ढोका नखुले झ्यालको सिसाको तल्लो भाग फुटाई बाक्लो कपडाले फुटेको तथा धारिलो सिसा पन्छाएर निस्कनुपर्छ । आगलागी भएको अवस्थामा लिफ्ट तथा बाल्कोनी आदि प्रयोग गर्नु हुँदैन ।

आगो लागिहाले के गर्ने ?

आगो लागिहाले नआत्तिई सबैलाई जति सक्दो छिटो बाहिर निकाल्ने र आफू पनि निस्कने । के भयो भनेर खोज्नतर्फ वा मूल्यवान् वस्तु समेट्नतर्फ लाग्नुहुँदैन । कोठामा धूवाँ भरिएको छ भने भुइँमा घिस्रिएर बाहिर निस्कनुपर्छ । बाहिर निस्कनेबित्तिकै १०१ मा दमकललाई फोन गर्न सकिन्छ ।

शरीरको कपडामा आगो लागे के गर्ने ?

कदापि दौडनु हुँदैन, दगुर्दा आगो अरू फैलन सक्छ । भुइँमा पल्टने अनि आफूलाई रोल गर्ने जसले गर्दा आगो फैलन पाउँदैन । आगो नटिप्ने बाक्लो कपडाले छोपेर आगो निभाउने प्रयास गर्नुपर्छ । यसमा मुख्यत: स्टप, ड्रप तथा रोललाई सम्झनुपर्छ ।

बाहिर निस्कन सक्ने स्थिति नभए के गर्न सकिन्छ ?

बाहिर निस्कन सक्ने अवस्था नभए सबैलाई एउटै कोठामा झ्यालको नजिक जम्मा गर्ने साथै फोन लिन नबिर्सने । ढोकामुनिको काप कपडाले बन्द गर्ने जहाँबाट धूवाँ भित्र छिर्न नसकोस् । भुइँ तल्ला वा पहिलो तल्ला छ भने झ्यालबाट बाहिर निस्कने प्रयास गर्ने ।

घरका लागि स्मोक अलार्म कत्तिको उपयोगी छ ?

स्मोक अलार्म लगाउँदा राति वा घरमा नभएका बेला समयमै सुरक्षित हुन सकिन्छ । त्यस्तै आगलागीका धेरैजसो घटना खाना पकाउँदा हुन्छन् । धेरैजसो दुर्घटना केन्डल, हिटर, बिग्रिएका वा मापडण्ड नपुगेका विद्युतीय सामग्री, तार तथा ओभरलोड सकेटबाट निम्तिन्छ । कमसे कम एउटा स्मोक डिटेक्टर सम्भावित स्थान वा प्रत्येक तल्लामा राख्नु राम्रो हुन्छ र त्यसमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण नै प्रयोग गर्नुपर्छ ।

 

 Image