Successfully Copied

ढिलो विवाहको परिणाम

जतिबेला शरीरमा बल, मनमा उत्साह र जाँगर तरोताजा हुन्छ त्यतिबेला हरेक कामका लागि आँट पनि आउँछ । उमेरमै बालबच्चा जन्माउँदा बेलैमा हुर्किन्छन् र समयमै फेमिली सेटल हुन्छ । मानसिक रूपमा पनि स्वतन्त्र महसुस गरिन्छ जसले आफूलाई शारीरिक एवं मानसिक रूपमा स्वस्थ अनि सुन्दर

पछिल्लो समय ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसको कारणलाई हेर्दा अत्यन्तै व्यस्त जीवन, करियरको चिन्ता, व्यावसायिक उचाइमा पुग्ने ध्येय, विदेश जाने सोच आदि प्रमुख देखिन्छन् । सेलिब्रेटी मात्र नभई विभिन्न पेसामा आबद्ध व्यवसायीहरू पनि केही वर्षयता ढिलो विवाह गर्ने पंक्तिमा देखिन्छन् । ढिलो विवाह गर्दाका असर र प्रभाव के–कस्ता छन् ? यस पटकको बहसमा विभिन्न क्षेत्रका महिलाको धारणा :

डा. मञ्जु मिश्र                      संस्थापक प्रिन्सिपल कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन

उमेरमै विवाह गर्नु उत्तम हुन्छ । जतिबेला शरीरमा बल, मनमा उत्साह र जाँगर तरोताजा हुन्छ त्यतिबेला हरेक कामका लागि आँट पनि आउँछ । उमेरमै बालबच्चा जन्माउँदा बेलैमा हुर्किन्छन् र समयमै फेमिली सेटल हुन्छ । मानसिक रूपमा पनि स्वतन्त्र महसुस गरिन्छ जसले आफूलाई शारीरिक एवं मानसिक रूपमा स्वस्थ अनि सुन्दर बनाउँछ । करियरको चिन्ताले ढिलो विवाह गर्नु गलत होइन तर उमेर बितिसकेपछि आइपर्ने ठूलो जिम्मेवारीले थिचिँदा जीवन भारी लाग्नसक्ने सम्भावना बढ्छ । विवाह भनेको गर्नैपर्ने कुरा हो भन्ने लाग्छ भने २५ वर्षको उमेरभित्रै गर्नु हितकर हुन्छ ।

डा. नेहा बजिमय                                      क्यान्सर अस्पताल, हरिसिद्धि

स्वास्थ्यका हिसाबले ढिलो विवाहलाई रामै्र मानिन्छ भन्ने छैन । धेरै ढिलो विवाह गर्दा आइपर्ने मुख्य स्वास्थ्य समस्या भनेको प्रजनन्को हो । बच्चा बस्न गाह्रो हुने र बसिहाले पनि आमा र गर्भस्थ शिशु दुवैको स्वास्थ्य जोखिममा हुनसक्छ । जसले गर्दा शारीरिक एवं मानसिक वोन्डिङमा असन्तुलन पैदा हुन्छ । उमेर बढ्दै जाँदा त्यसै पनि शरीर जवानीको जस्तो जोस–जाँगरयुक्त हुँदैन । उमेरसँगै आइपर्ने स्वास्थ्य समस्याहरू त आफ्नो ठाउँमा छँदैछन् ।

चिनु गुरुङ                                      सौन्दर्यविद् तथा पोखरा  खउद्योग महासंघ सदस्य

धेरै छिटो वा धेरै ढिलो जे गर्दा पनि मानसपटलमा केही न केही कमी महसुस त हुन्छ नै तर सही ढंगले त्यसको व्यवस्थापन गर्न सक्नु नै जीवनलाई सार्थक बनाउनु हो । मैले सानै उमेरमा विवाह गरें, बेलैमा बालबच्चा जन्मिए र हुर्किए पनि । म आफ्नो व्यवसायमा सफल त छु नै अहिले आएर विभिन्न सामाजिक संघ–संस्थामा समेत सक्रिय भएर काम गर्न सकेकी छु । आफ्नै अनुभवले पनि होला मलाई के लाग्छ भने ढिलो भन्दा छिटो विवाह गर्नु नै उत्तम हो किनभने उमेर छँदै धेरै जिम्मेवारीबाट मुक्त हुन पाइन्छ ।

जयन्ती मोक्तान                                                     व्यवसायी

मैले १६ वर्ष नपुग्दै छोरी जन्माएंँ । अहिले छोरी १२ वर्षकी भइन् भने म २८ वर्षकी । बाहिर हिँड्दा म अविवाहितजस्तै देखिन्छु । त्यति मात्र नभएर छोरी हुर्किएपछि मेरो पढाइ, करियर तथा समाजसेवा र एक्स्पोजर अझ बढेको अनुभव गरेकी छु । ढिलो विवाह गरेकाहरू एउटा सन्तान जन्माउनेबित्तिकै उमेर घर्किएको देखिन्छन्, शारीरिक एवं मानसिक रूपमा पनि भारी महसुस गरिरहन्छन् भने बढ्दो जिम्मेवारीका कारण आफ्नो करियरलाई पनि निरन्तरता दिन सकेका हुँदैनन् । यी र यस्तै कारणले गर्दा उमेरमै विवाह गर्नु राम्रो हो । अर्को कुरा विवाहपछि बालबच्चा र परिवार सेटलमेन्टमा पनि ढिलाइ हुने हुँदा कतिपय कुरा लथालिङ्ग हुनसक्छन् । विवाह नै नगर्ने हो भने अलग कुरा हो, गर्नैपरे समयमै गरेको राम्रो ।

डा.सरोजप्रसाद ओझा                                    प्राध्यापक तथा मनोचिकित्सक, त्रि.वि.शिक्षण अस्पताल

ढिलो विवाहपछि शिशु जन्माउँदा महिलाको स्वास्थ्य जोखिम वृद्धि हुने सम्भावना आफ्नो ठाउँमा छ । नेपालमा ढिलो विवाह भर्खरै मात्र देखिन थालेको हो । हाम्रो संस्कार यो विषय सुहाउँदो छैन र यस्तो प्रचलन पनि छैन । ढिलो विवाहका केही नकारात्मक असर पनि छन् तर त्यसो भन्दैमा यो व्यक्तिगत रुचिको कुरा पनि हो र यसलाई पारिवारिक एवं सामाजिक परिवेशले पनि निर्धारण गर्छ । ढिलो विवाह आफूअनुकूल छ भने सन्तान जन्माउने जोखिमबाहेक अन्य कुरा स्वीकार्य हुने नै भयो तर हाम्रो मुलुकको रीतिरिवाज, संस्कार, संस्कृति आदि हेर्दा ढिलो विवाह त्यति सहज छैन । उमेर बढ्दै गएपछि मनोवैज्ञानिक समस्या भए थप अप्ठ्यारो सिर्जना हुनसक्छ तसर्थ अहिलेको अवस्थामा यो कुरा हाम्रा लागि त्यति सुहाउँदो छैन ।

 Image