Successfully Copied

विश्व चर्चित व्यक्तिको प्रेम र विवाह

प्राणी जगत्मा प्रेम अपरिहार्य मानिन्छ । अझ मानव समाजमा प्रेमको महत्वको कुरा गरिसाध्य छैन । एउटा भनाइ छ–‘कसैको गहिरो प्रेमबाट शक्ति मिल्छ, कसैलाई गहिरो माया गर्दा साहस मिल्छ ।’ विश्वमा प्रेममा नपरेका मानिस भेट्न मुस्किलै छ । सानो वा ठूलो जुनसुकै मानिस प्रेममा

प्राणी जगत्मा प्रेम अपरिहार्य मानिन्छ । अझ मानव समाजमा प्रेमको महत्वको कुरा गरिसाध्य छैन । एउटा भनाइ छ–‘कसैको गहिरो प्रेमबाट शक्ति मिल्छ, कसैलाई गहिरो माया गर्दा साहस मिल्छ ।’ विश्वमा प्रेममा नपरेका मानिस भेट्न मुस्किलै छ । सानो वा ठूलो जुनसुकै मानिस प्रेममा परिरहेको हुन्छ । उमेर पुगेका व्यक्तिमध्ये कसैको प्रेम विवाहमा परिणत हुनसक्छ भने कसैको सम्बन्ध विच्छेद पनि हुनसक्छ ।

विश्वमा चर्चित व्यक्तिहरू पनि प्रेममा पर्ने मात्र नभई वैवाहिक जीवनका आरोह–अवरोहहरूका कारण चर्चामा छन् । विश्व चर्चित नेता, शासक, सेलिब्रेटी, कवि तथा सामाजिक व्यक्तिहरू प्रेम र वैवाहिक जीवनका कारण चर्चामा आउँछन् । विश्वविख्यात दार्शनिकदेखि शासक तथा नेताहरूको प्रेम एवं वैवाहिक जीवन विश्वभर चर्चाको विषय बन्छ ।

डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति

उदार सामाजिक व्यवस्था भएको अमेरिकामा जन्मिएका डोनाल्ड ट्रम्प यतिबेला ४५ औं राष्ट्रपतिका रूपमा पदमा आसिन छन् । व्यक्तिगत एवं सामाजिक स्वतन्त्रताको नमुना मानिने अमेरिकामा डोनाल्ड ट्रम्पले पनि प्रेम र जीवनलाई राम्रैसँग उपयोग गरेको पाइन्छ । उनले अहिलेसम्म तीन जनासँग विवाह गरिसकेका छन् । उनका पाँच जना छोराछोरी तथा आठ नातिनातिना छन् ।

ट्रम्पकी जेठी श्रीमती इभाना जेलनिकोभा हुन् । उनी चेक गणतन्त्रकी चर्चित मोडल तथा खेलाडी थिइन् । इभानालाई ट्रम्पले दुव्र्यवहार गरेका खबरहरू पनि सार्वजनिक भएका थिए एकताका । इभानाबाट तीन सन्तान जन्मिएपछि ट्रम्पले सन् १९९० मा उनीसँग सम्बन्ध विच्छेद गरे । जेलनिकोभाको कोखबाट जन्मिएका डोनाल्ड जुनियर, इभान्का र इरिक हुन् । पहिलो सम्बन्धविच्छेदको तीन वर्ष बित्न नपाउँदै ट्रम्पले सन् १९९३ मा नायिका मार्ला म्यापल्ससँग विवाह गरे ।

मार्ला म्यापल्ससँग पनि उनको सम्बन्ध टिकेन । एक छोरी जन्मिएपछि उनीहरूले सन् १९९९ मा सम्बन्ध विच्छेद गरे । ट्रम्पकी हालकी श्रीमती पेशाले नर्स हुन् तर अहिले उनी मोडलिङमा सक्रिय छिन् । फस्र्ट लेडी भएर साम्राज्य जमाइरहेकी ट्रम्पकी तेस्री श्रीमतीको नाम मेलानिया नउस हो । आफूभन्दा करिब २० वर्ष कान्छी मेलानियासँग ट्रम्पको विवाह सन् २००५ मा भएको थियो । मेलानियाको कोखबाट अहिले ब्यारन विलियम नामका एक छोरा छन् । मेलानियाले विभिन्न पत्रपत्रिकाका लागि नग्न तस्बिर समेत खिचाएकी थिइन् ।

नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री

भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट उम्मेदवार भएर प्रधानमन्त्री पदमा पुगेका नरेन्द्र मोदीसँग विदेश भ्रमणमा जाँदा होस् वा कुनै सार्वजनिक समारोहमा कुनै ‘फस्र्ट लेडी’ हुँदिनन् । मोदीको विवाह भएर सम्बन्धविच्छेदजस्तै भएको वर्षौं बितिसकेको छ । सन् १९६८ मा १७ वर्षको उमेरमा मोदीसँग विवाह गरेकी जसोदाबेन अहिले मोदीको साथमा छैनन् । उनीहरू के कारण अलग्गिए भन्ने तथ्य बाहिर आएको छैन ।

अवकाश प्राप्त शिक्षिका जसोदाबेन विवाह भएको केही महिना मोदीसँगै रहे पनि त्यसपछि एकाएक अलग्गिएकी थिइन् । सामान्य परिवारकी जसोदालाई मोदीले नै बेवास्ता गरेको बताइन्छ । गुजरातको ब्रह्मवदा गाउँमा भाइ अशोकसँग बस्दै आएकी जसोदाले अर्को विवाह भने गरिनन् । गुजरातको मुख्यमन्त्री रहेका बेला मोदीले जशोदाबेनलाई आफ्नी पत्नी स्वीकारेका थिएनन् । यद्यपि सन् २०१४ मा आएर मोदीले उनलाई पत्नी स्वीकार गरे । जशोदाबेन मोदीसँग नाम जोडेर पाइने सस्तो लोकप्रियताबाट टाढै बस्न चाहन्छिन् भने मोदीले उनको सामान्य चासोसम्म राख्दैनन् ।

विवाहका ३ वर्षमा मुस्किलले ३ महिना सँगै बसेका उनीहरू खुसीसाथ अलग्गिएको पनि चर्चा छ । दुवैको कलिलो उमेरमै विवाह भएका कारण मोदीले आफूलाई सधैं पढ्न र आत्मनिर्भर भएर बाँच्न प्रेरित गरेको जशोदाबेनले भारतीय अखबारलाई बताएकी छिन् । मोदीको एक्लो जीवन बिताउने इच्छा बुझेर बिनामनमुटाव आफू अलग भएको उनको तर्क छ । उनीहरू हाल भेटघाट समेत गर्दैनन् ।

भ्लादिमिर पुटिन, रुसी राष्ट्रपति

तेक्वान्दोको ब्ल्याक वेल्ट, मार्सल आर्टका गुरु तथा जुडो खेलाडी भ्लादिमिर पुटिन रुसका राष्ट्रपति हुन् । विश्वकै धनी राष्ट्रपतिका रूपमा समेत चिनिएका पुटिन सफल नेताका रूपमा उत्तिकै चर्चित छन् तर उनको निजी जीवनमा भने धेरै उचारचढाब आएका छन् । पुटिनको पनि पहिलो विवाह सफल हुन सकेन । सोभियत संघको गुप्तचर निकायमा आबद्ध भएका बेला सन् १९८३ मा एयरहोस्टेज लुडमिला सक्रेब्नेभासँग विवाह गरेका पुटिनको उक्त वैवाहिक जीवन सन् २०१४ मा टुट्यो ।

एकजना साथीले आयोजना गरेको पार्टीमा जाँदा पुटिनले लुडमिलालाई भेटेका थिए । पार्टीमा सामान्य परिचय भएपछि विस्तारै सम्बन्धलाई गाढा बनाएका उनीहरूले अन्तत: विवाह नै गरे । दुई सन्तान भैसकेपछि यो जोडीको वैवाहिक जीवन टुङ्गियो । विभिन्न संचारमाध्यममा आएका समाचारअनुसार पुटिन एक रुसी महिला सांसद अर्थात् खेलाडी एलिना काव्ययेभासँग नजिकिएको थाहा पाएपछि लुडमिलाले पुटिनसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेकी थिइन् । ६४ वर्षीय पुटिन र ३३ वर्षीया एलिनाबीच विवाह भएको चर्चा गरिए पनि त्यसको पुष्टि भने कुनै संचारमाध्यमले गर्न सकेका छैनन् । आधिकारिक खबर बाहिर नआए पनि यो जोडी सन् २००८ देखि प्रेम सम्बन्धमा रहेको र उनीहरूले सुटुक्क विवाह गरिसकेको दाबी गरिन्छ ।

मार्क जुकरवर्ग, फेसबुकका मालिक

फेसबुकका मालिक एवं सोसियल मिडियाका राजा मार्क जुकरवर्ग यतिबेला विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा सूचिकृत छन् भने उनको चर्चा विश्वका करोडौं मानिसबीच हुन्छ । लाग्न सक्छ मार्कको जीवन निकै हाइफाइ र उच्चस्तरको छ । यद्यपि उनमा त्यस्तो छनक पाउन सकिँदैन किनभने उनको प्रेम र विवाहको सामान्य स्तरको कथाले यथार्थ बताउँछ ।

सन् २००३ मा बोस्टनमा एक पार्टीमा जाने क्रममा वेटिङ लाइनमा प्रिसिला चान नामकी युवतीसँग चिनापर्ची गरेका मार्कले तिनै युवतीसँग विवाह गरे । हार्वड युनिभर्सिटीमा सँगै पढेका मार्क र चान मार्क अर्बपति भैसक्दा पनि छुट्न सकेनन् र अन्त्यमा विवाह नै गरे । प्रेममा परेका बेला यो जोडी तीन घन्टा पनि एक्लै बस्न सक्दैनथे । हप्तामा एक रात सँगै हुन्थे भने उनीहरूको भेट पलपल भैरहन्थ्यो । यो क्रम सन् २०१२ सम्म चल्यो । प्रिसिलाले चिकित्साशास्त्रको अध्ययन सकेपछि मार्कसँग लगनगाँठो कसेकी थिइन् । उनीहरूबाट हाल छोरी म्याक्स जन्मिएकी छिन् ।

बेलायती राजकुमार ह्यारी

विनाशकारी महाभूकम्पताका नेपाल भ्रमणमा आएर नेपालीहरूको मन जितेका बेलायती राजकुमार ह्यारीको प्रेम र विवाहका बारेमा सबैलाई जिज्ञासा हुनसक्छ । मिजासिला, ह्यान्डसम एवं स्मार्ट ३३ वर्षीय ह्यारीको प्रेम सम्बन्ध अमेरिकाकी टेलिभिजन स्टार मेघान मार्केलीसँग जोडिएको छ । सन्डे एक्सप्रेस नामक अखबारले मार्केली र ह्यारी डेटिङमा रहेको समाचार ब्रेक गरेपछि उनीहरूबीचको सम्बन्ध सार्वजनिक भएको थियो । किङ्स्टन प्यालेसले पनि यसको आधिकारिकताका बारेमा स्पष्ट पारिसकेको छ ।

उमेरका हिसाबले ह्यारीभन्दा करिब तीन वर्ष जेठी मेघानले सन् २०११ मा ट्रिभोर इन्जिलसनसँग विवाह गरेर २०१३ को अगस्टमा सम्बन्धविच्छेद गरेकी थिइन् । सम्बन्धविच्छेदपछि एक्लै बस्दै आएकी मेघान ह्यारीसँग गहिरो प्रेम सम्बन्धमा रहेको बताइन्छ । क्यानाडामा आयोजित ‘इनभिकस गेम’ मा सहभागी हुने क्रममा ह्यारी र मेघानको भेट भएपछि उनीहरूबीच अफेयर्स चलेको थियो ।

                                   (एजेन्सीको सहयोगमा)

 Image