Successfully Copied

आर्थिक कुरामा झूट बोल्छन् पुरुष

सबैभन्दा बढी झूट ऋणकै विषयमा बोलिन्छ । खर्च गरिने रकम तथा ऋणका सम्बन्धमा एक–अर्कालाई जानकारी नहुँदा समस्या सिर्जना हुनसक्छ । अझ श्रीमान् केही गरी तलमाथि भए श्रीमतीले असाध्यै दु:ख पाउँछिन् । परिवारमा आर्थिक संकट उत्पन्न हुन्छ ।

आम्दानी लुकाउनु : हरिराज श्रीमतीलाई आफ्नो तलब आफूले पाउनेभन्दा कम बताउँछन् । उनी मासिक ५० हजार रुपैयाँ कमाउँछन् तर श्रीमतीसँग उनले आफ्नो कमाइ मासिक ४२ हजारजति हुने बताएका छन् । यति रकमले महिनावारी खर्च चलाएर केही रकम बचत होस् भन्ने उनको चाहना छ । हरिराज आफ्नो वास्तविक तलब थाहा पाएपछि श्रीमतीले व्यक्तिगत प्रयोगका लागि कुनै महँगो सामानको माग गर्ने हुन् कि भनेर डराउँछन् किनभने श्रीमतीको आफूलाई अरूसँग दाँजेर देखावटी खर्च गर्ने बानी छ । त्यस्तै कविता पनि आफ्नो आम्दानीका विषयमा श्रीमानसँग यसकारण झूटो बोल्छिन् कि आफ्नो कमाइ सुनेर श्रीमानको अहम्मा चोट नपुगोस् ।

के गर्ने : हरिराज र कविताले जसरी

आफ्ना जीवनसाथीका कुनै पूर्वधारणा बनाएर झूट बोलेका छन् वास्तविकता त्यस्तो नहुन सक्छ तसर्थ आफ्नो जीवनसाथीसँग खुलेर कुरा गर्नुपर्छ । यसो गर्दा आपसी विश्वास एवं सद्भाव वृद्धि हुन्छ । आफ्नो भविष्यको योजना यसकारण हितकारी छ, आफ्ना बालबच्चा तथा आफूहरूकै हितका लागि बचत रकम खर्च गर्ने हो भन्ने कुरा राम्रोसँग बुझाउन सके जीवनसाथीले पनि त्यसमा गुनासो गर्दैनन् ।

खर्च लुकाउनु : सुन्दर आफ्नो खर्चको विषयमा श्रीमतीलाई कहिल्यै सत्य बताउँदैनन् किनभने उनलाई लाग्छ श्रीमतीले त्यसमा प्रश्न उठाउनेछिन् वा त्यसलाई गलत ठहर्‍याउनेछिन् । जबकि सुन्दरकी श्रीमती विनीताको गुनासो छ–सुन्दर साथीभाइका लागि खर्च गर्न हिच्किचाउँदैनन् तर घरखर्च दिन भने सदैव कन्जुस्याइँ गर्छन् । आफू गृहिणी भएकाले घरखर्च चलाउनु र त्यसैबाट आफ्नो पर्सनल खर्च पनि गर्नुपर्दा सुन्दरले दिने नगद महिना पूरा नहुँदै सकिन्छ । यही विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच प्राय: ठाकठुक परिरहन्छ ।

के गर्ने : यस्तो अवस्था भए सबैभन्दा पहिले घरको बजेट बनाउनुपर्छ जसमा श्रीमान्–श्रीमती दुवैको पर्सनल खर्च, सन्तानको फिस तथा अन्य खर्च, रासनपानी एवं अन्य भैपरी आउने खर्चका लागि आफ्नो हैसियतअनुसार निश्चित रकम छुट्याउनुपर्छ । यो नियमलाई कडा सँगले पालना गरे घरझगडा हुन पाउँदैन ।

बचत/सम्पत्तिका विषयमा कुरा लुकाउनु गिरीश आफ्नी आमालाई असाध्यै सम्मान गर्छन् । उनकी आमा र श्रीमती रीताबीच त्यति राम्रो सम्बन्ध छैन । गिरीशले आफ्नो बचत रकमबाट काठमाडौंमा आठ आना राम्रो जग्गा किने तर श्रीमतीलाई त्यसको सुइँकोसम्म दिएनन् । बीमा तथा बैंकमा रहेको बचत रकममा समेत उनले आमा तथा भाइबहिनीलाई हकवाला राखे । अचानक एकदिन दुर्घटनामा उनको मृत्यु भयो, श्रीमतीलाई उनको सम्पत्तिका बारेमा सबै जानकारी थिएन । घरका कसैले पनि उनलाई राम्रो व्यवहार नगरेपछि र थोरै मात्र सम्पत्ति दिएर छुट्याइदिएपछि रीताको स्थिति निकै खराब छ ।

के गर्ने : कतिपय श्रीमान्–श्रीमतीहरू एक–अर्कालाई आफ्नो सम्पत्तिको पूर्ण जानकारी दिन आवश्यक मान्दैनन् वा चाहँदैनन् । कतिपय अवस्थामा श्रीमतीलाई यसप्रति चासो पनि हुँदैन । यस्तो गर्नु जीवनसाथीप्रति धोका हो । सम्बन्धको हरेक पाटो सदैव पारदर्शी हुनुपर्छ, कुनै सम्पत्ति खरिद गर्दा, लगानी गर्दा वा बैंक अकाउन्ट खोल्दा वा बीमा गर्दा श्रीमतीलाई नै हकवाला बनाउनु उपयुक्त हुन्छ अन्यथा आफूलाई केही भैहाले श्रीमती तथा छोराछोरीले दु:ख पाउँछन् ।

ऋण लुकाउनु : सबैभन्दा बढी झूट ऋणकै विषयमा बोलिन्छ । खर्च गरिने रकम तथा ऋणका सम्बन्धमा एक–अर्कालाई जानकारी नहुँदा समस्या सिर्जना हुनसक्छ । अझ श्रीमान् केही गरी तलमाथि भए श्रीमतीले असाध्यै दु:ख पाउँछिन् । परिवारमा आर्थिक संकट उत्पन्न हुन्छ ।

के गर्ने : क्रेडिट कार्डबाट लापरबाहीपूर्ण ढंगले खर्च गर्नु वा ऋण लिनुअघि जीवनसाथीलाई नबताउनु जोखिमपूर्ण हुनसक्छ भने आफ्नो हैसियतभन्दा बढी ऋण लिनुअघि निकै विचार पुर्‍याउनुपर्छ ।

श्रीमानले केही लुकाउँदै छन् भन्ने कुरा कसरी थाहा पाउने ?

-    के आफ्नो जीवनसाथीको व्यवहारमा अचानक परिवर्तन आएको छ ? के उनी अचानक चिडचिडे वा रिसाहा भएका छन् ? के उनी आफ्नो खर्चलाई लिएर प्रश्न उठाउँछन् ? यदि त्यस्तो हो भने सावधान हुनु आवश्यक छ । जब कुनै व्यक्ति केही गलत काम गर्छ वा केही कुरा लुकाउँदैछ भने उसले अरूमाथि प्रश्न उठाउँछ वा रिसाउँछ ।

-    यदि जीवनसाथीको पर्सनल खर्च, क्रेडिड कार्ड, फोनको बिल आदि अचानक बढेको छ भने ध्यान दिनु आवश्यक छ ।

-    हिजोआज धेरैले बैंक ट्रान्जेक्सन गर्छन् वा अनलाइन किनमेल गर्छन् । यदि तपाईंको जीवनसाथी तपाईं आउनेबित्तिकै कम्प्युटर वा मोबाइल बन्द गर्छन्, त्यहाँ के गरिएको छ भन्ने देखाउन चाहँदैनन्, ट्रान्जेक्सन देखाउँदैनन् वा पासवर्ड दिँदैनन् भने कुनै कुरा लुकाउन खोज्दैछन् भन्ने बुझ्नुपर्छ ।

नेपालमा यो विषयमा अनुसन्धान भएको छैन । यद्यपि विदेशमा भएका रिसर्च के भन्छन् ?

-    ४२ प्रतिशत पुरुष आफ्नो आम्दानीको विषयमा झूट बोल्छन् ।

-    ५६ प्रतिशत पुरुष श्रीमतीलाई जानकारी नदिई खर्च गर्छन् ।

-    ३९ प्रतिशत महिला दाम्पत्य जीवनमा रकमका विषयमा बोलिने सानातिनो झूटलाई सामान्य मान्छन् । १६ प्रतिशत महिलाको रायमा सानातिना खर्चसम्म त ठीकै छ तर ठूलो रकम खर्च हुँदा भने श्रीमतीलाई जानकारी दिनुपर्छ ।

 Image