Successfully Copied

मुन क्याक्टस

काठमाडौंको जस्तो हावापानी हुने ठाउँको घरभित्रको तापक्रममा यो क्याक्टस सजिलै सप्रन सक्छ भने गर्मीमा अलि गार्‍हो हुनसक्छ । मुन क्याक्टसको राम्रो वृद्धि–विकासका लागि चिसो मौसम नै उपयुक्त मानिन्छ । यद्यपि यसलाई अति चिसोबाट पनि जोगाउनुपर्छ ।

नेपालमा भर्खर–भर्खर भित्रिएको क्याक्टस हो–मुन क्याक्टस । यो सानु खालको ग्राफ्टिङ क्याक्टस हो । काटिएको ठाउँमा म्युटेसन प्रक्रियाबाट कोलोरोफिलको तह हटेर रातो, हल्का नीलो, पहेंलो अनि सुन्तला रंगको पिगमेन्ट तयार हुन्छ जसलाई हामीले फूलका रूपमा देख्छौं । यो क्याक्टसको उद्गमस्थल अमेरिका हो । अर्जेन्टिना, पराग्वे, ब्राजिल तथा बोलिभियामा मात्र यसका ८० भन्दा बढी प्रजाति छन् । यसका दुई प्रकारका जात हुन्छन् ।

१. माथिपट्टि रंग पैदा हुने मुन क्याक्टसको वैज्ञानिक नाम ग्याम्नोक्याल्सियम मिहानोभिची हो भने यो कतै–कतै हिबोटन क्याक्टसका नामले पनि चिनिन्छ ।

२. अर्को प्रजाति हरियो रंगकै हुन्छ जसको वैज्ञानिक नाम ह्यालोसेरुस हो ।

३.    मुन क्याक्टसका मसिना काँडा, हरियो बोट तथा बोटमाथिको भागमा फुल्ने रंगीचंगी फूलले सबैलाई मोहित तुल्याउँछ । यो क्याक्टस रोप्नुपूर्व केही कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

सूर्यको प्रकाश

मुन क्याक्टस सीधा घाममा भन्दा इन्डोरमा राम्रोसँग विकास हुन्छ । कडा घामभन्दा हल्का घाम मन पराउने यो क्याक्टस पूर्णरूपमा घाममा राख्दा राम्रोसँग सप्रन सक्दैन । सजिलै स्याहारसुसार एवं व्यवस्थापन गर्न सकिने यो क्याक्टसलाई घरभित्रको सौन्दर्य बढाउन प्रयोग गरिन्छ ।

तापक्रम

काठमाडौंको जस्तो हावापानी हुने ठाउँको घरभित्रको तापक्रममा यो क्याक्टस सजिलै सप्रन सक्छ भने गर्मीमा अलि गार्‍हो हुनसक्छ । मुन क्याक्टसको राम्रो वृद्धि–विकासका लागि चिसो मौसम नै उपयुक्त मानिन्छ । यद्यपि यसलाई अति चिसोबाट पनि जोगाउनुपर्छ ।

पानी र सिंचाइ

क्याक्टस पानी कम हुने ठाउँमै राम्रोसँग सप्रन्छ । यसलाई त्यति धेरै पानीको आवश्यकता पर्दैन ।

मलखाद

यसलाई मल पनि धेरै चाहिँदैन । यसको बढ्ने समय अप्रिलदेखि सेप्टेम्बरसम्म हो र त्यतिबेला महिनाको एकपटक मलखादको व्यवस्थापन गर्न सके राम्रो हुन्छ ।

रोग तथा कीराको प्रकोप

यो क्याक्टसमा खासै रोग तथा कीरा लाग्दैन । स्पाइडर माइट्स तथा मेलीबग्सजस्ता कीराले संक्रमण गर्न सक्छ । पानी बढी हुँदा यो क्याक्टसको फेद कुहिन्छ जसलाई रुट रट भनिन्छ ।

कसरी तयार गर्ने मुन क्याक्टस ?

मुन क्याक्टसलाई ग्राफ्टिङ गरी रंगीन क्याक्टस बनाइन्छ । यसका लागि रंगीन क्याक्टस ग्याम्नोक्याल्सियम मिहानोभिची तथा तल हरियो हुने ह्यालोसेरुस दुवै हुनुपर्छ । हरियो हुने ह्यालोसेरुसको टुप्पोलाई धारिलो चक्कुले होरिजेन्टल्ली काट्ने र त्यस्तै साइजका ग्याम्नोक्याल्सियम मिहानोभिचीको तल पट्टि काट्ने । त्यसपछि ह्यालोसेरुसको काटेको ठाउँमा रगट्ने । अब ह्यालोसेरुसको टुप्पो र ग्याम्नोक्याल्सियमको फेदमै काट्ने । यसलाई दुवै भाग टम्म मिल्ने गरी काट्नुपर्छ । दुवै काटिएको भाग जोडिसकेपछि रबरले ठिक्क सँग बाँध्ने । बाँधेको ३ हप्तासँगै बढ्न दिए ग्याम्नोक्याल्सियमको भागबाट रंगीन क्याक्टस फुल्छ । मुन क्याक्टसलाई ९ डिग्रीभन्दा माथिको तापक्रममा राख्नुपर्छ भने सिजनमा यसलाई मल–जल गरे ३–४ वर्ष बाँच्नसक्छ ।

नेपालमा मुन क्याक्टस

यस प्रकारको क्याक्टस काठमाडौं पकनाजोलस्थित कुमारी नर्सरीमा उपलब्ध छ्र । प्लास्टिकको पटमा उमारिएको मुन क्याक्टसको मूल्य प्रतिगोटा ३ सय ५० रुपैयाँ पर्छ । यो क्याक्टस कोरियाबाट आयात गरिन्छ ।

 Image