Successfully Copied

विवाह र करियर

उनले विवाहपछि आफ्ना थुप्रै संगिनीको करियर बिग्रिएको देखेकी थिइन् । उनी विवाहका कारण आफ्नो करियरमा आँच नआओस् भन्ने चाहन्थिन् तर जब सुमनले विवाहपछि पनि उनले आफ्ना सपना पूरा गर्न सक्छिन् भन्ने कुरामा विश्वास दिलाए तब रुविना विवाहका लागि तयार भइन् ।

कामकाजी महिलाको घर वा अफिस दुवै ठाउँप्रति समान जिम्मेवारी हुन्छ । उनीहरूबाट श्रीमान्, बालबच्चा एवं सहकर्मी सबैले सहयोगको अपेक्षा गर्छन् तसर्थ हरेकलाई आफ्नो उपयोगिताको विश्वास पनि दिलाउनुपर्ने हुन्छ । यसबाट केही ग्लानि पनि हुनसक्छ । सुपरवुमेन बन्ने प्रयासमा वा सबैको अपेक्षामा खरो उत्रने प्रयास गर्ने क्रममा आफ्नो सफलताको मार्गमा विवाह नै बाधक बन्न थालेको अनुभव पनि हुन्छ ।

यस्ता कुरामा जति नै सन्तुलन कायम गर्ने प्रयत्न गरे पनि कुनै न कुनै कमी भैहाल्छ । कामकाजी होइन भने पनि गृहिणी भएका नाताले काम गर्ने क्रममा प्रशस्त कमी–कमजोरी देखापर्न सक्छन् । यस्तोमा सन्तुलन र तालमेल मिलाउन सकियो भने मात्र विवाह एउटा सुन्दर अनुभूति साबित हुन्छ अन्यथा विवाह सफलताको बाधकका रूपमा देखा पर्नसक्छ ।

रुविना एउटा निजी कम्पनीमा मार्केटिङ म्यानेजरको पदमा कार्यरत छिन् । आफ्नो कार्यदक्षताका कारण उनी कम्पनीमा राम्रो स्थान बनाउन सफल भइन् । जब विवाहको कुरा उठ्थ्यो, उनको मनमा डर उत्पन्न हुन्थ्यो किनभने उनले विवाहपछि आफ्ना थुप्रै संगिनीको करियर बिग्रिएको देखेकी थिइन् । उनी विवाहका कारण आफ्नो करियरमा आँच नआओस् भन्ने चाहन्थिन् तर जब सुमनले विवाहपछि पनि उनले आफ्ना सपना पूरा गर्न सक्छिन् भन्ने कुरामा विश्वास दिलाए तब रुविना विवाहका लागि तयार भइन् । रुविना भन्छिन्–‘सुमनले पाइला–पाइलामा मेरो साथ दियो र हामीले आफ्नो जिम्मेवारीलाई आपसमा बाँड्यौं, त्यसैले म विवाह सफलताको मार्गमा बाधक हुन्छ भन्ने कुरा मान्दिन ।’

एउटा फाइनान्स कम्पनीमा कार्यरत अञ्जना भन्छिन्–मेरो संयुक्त परिवार छ र सबैको सहयोग पनि पूर्णरूपमा प्राप्त हुन्छ तर मेरी छोरी आठ वर्षकी भएपछि मात्र मैले काम गर्न थालेंं । मेरो प्रोफेसनमा हरेक दिन मैले आफूलाई साबित गर्नुपर्छ । सफलता प्राप्त गर्न लगातार तीन महिना परिश्रम गरिन्छ भने हप्ता दिन परिवारलाई समय दिनुपर्छ । यसो गर्नाले विवाह सफलताको बाटोमा बाधक बन्दैन । न त करियरले नै वैवाहिक सम्बन्धलाई खतरामा पार्छ ।

विवाह र त्यसपछिको दायित्व निर्वाह गर्दै आफ्नो करियरमा ध्यान दिए कार्यक्षेत्रमा पनि त्यसको प्रभाव पर्छ र त्यसको सकारात्मक प्रभाव प्रगति र व्यक्तित्व दुवैमा हुन्छ । सफलताका साथमा परिवारको सुखलाई जोडियो भने त्यसको रमाइलो र आनन्द दुई गुना हुनपुग्छ । हरेक कामकाजी महिलाले खुसीको वातावरण कायम राख्नुपर्छ अनि मात्र कुनै पनि स्तरमा सामञ्जस्यता सम्भव हुन्छ । वस्तु र परिस्थितिप्रति बढी अपेक्षा राखे दु:ख सिवाय केही हात लाग्दैन । आफ्ना प्राथमिकता र सीमालाई पहिचान गरेपछि कुन रूपले समायोजन गर्नु छ, तय गर्न सहज हुन्छ । सन्तुलन आफूमै निर्भर रहने कुरा हो ।

पारिवारिक सम्बन्ध र करियर सन्तुलनमा राख्न स्वयंले प्राथमिकता तय गर्नुपर्छ । करियरमा धेरै उचाइसम्म पुगियो तर आफूसँग खुसी बाँड्ने कोही छैनन् वा रहेनन् भने उक्त सफतलाको केही अर्थ हुँदैन । शिखरमा पुग्नुको अर्थ परिवारको उपेक्षा गर्नु होइन । सफलताले त त्यो विस्तृत दायरा र खुल्ला सोच प्रदान गर्छ, जसले विवाहलाई सफल बनाउँछ । विवाह र सफलता एउटै सिक्काका दुई पाटा हुन्, त्यसलाई कुन रूपमा सम्हालिन्छ त्यो आफैमा निर्भर हुन्छ ।

आजभोलि एकल परिवारको चलनका कारण महिलाहरूलाई आफ्नो करियर सम्हाल्न समस्या उत्पन्न हुन थालेको छ । पारिवारिक दायित्वका कारण, कतिपय अवस्थामा महिलाहरूले आफ्नो करियरलाई नै दाउमा राख्नुपर्ने स्थिति छ । त्यसैले उनीहरू विवाहलाई आफू केही बन्ने सपनाको बाधक मान्छन् जब कि वास्तविकता त्यो होइन । विवाहको अर्थ समझदारी हो । आफ्नो प्राथमिकता तय गरी पार्टनरसित राम्रोसँग कुराकानी गरे तथा दुवैबीच समझदारी, तालमेल एवं विश्वास भए विवाह र करियर दुवैलाई सम्हाल्दै सुन्दर ढंगबाट अघि बढ्न सकिन्छ । एक हातले ताली बज्दैन भनेझैं यो मामिलामा महिला–पुरुष दुवैको समान योगदान एवं पारस्परिक सहयोग भने आवश्यक छ ।

*   म्यारिज काउन्सिलरहरूका अनुसार करियर र विवाह दुवैको आ–आफ्नै महत्व छ, त्यसैले यो विषयमा बहस गर्नुको औचित्य छैन ।

*   धेरैजसो महिलाहरू विवाहपछि आफ्नो करियर तथा परिवारका बीच सन्तुलन कायम गर्ने दोहोरो भूमिका निर्वाह गर्ने प्रयासमा लाग्छन् र यहीँबाट यो बहसले जन्म लिन्छ ।

* उनीहरू दुवै मोर्चामा अग्रणी रहने चाहना राख्छन् तर सपोर्ट सिस्टमको अभावमा वा उनीहरूले आफ्नो सफलतालाई छोड्नुपर्छ वा वैवाहिक सम्बन्धलाई एक छेउमा राखेर अघि बढ्नुपर्ने हुन्छ ।

 Image