Successfully Copied

छैनन् कलाका नेपाली ग्राहक

कलामा गीत–संगीत तथा चलचित्रको जस्तै कलाको प्रचार–प्रसार हुन नसक्दा आर्टका बारेमा थोरैले मात्र चासो राख्ने सुदेशा बताउँछिन् । विभिन्न पर्यटकीय स्थलका ग्यालरीबाट केही थान चित्र विदेशी पर्यटकले किने पनि आर्टका विशुद्ध नेपाली ग्राहक भने लगभग नभएको दुखेसो छ ।

काठमाडौं बूढानीलकण्ठकी उमा खड्काले चित्रहरूमा आफ्नो भावना क्यानभासमा उतार्न थालेको १० वर्ष भयो । बितेका १० वर्षमा खड्काले आफ्ना केही थान चित्र विदेशी पर्यटकलाई बेचे पनि आजसम्म कुनै पेन्टिङका नेपाली ग्राहक फेला पारेकी छैनन् । कमर्सियल आर्टअन्तर्गतका आर्ट विदेशी पर्यटकको रोजाइमा पर्ने गरेका छन् । देशका हिमाल, पहाडमा मात्रनठोक्किने उमाको मनले अन्य सेक्टरका चित्र पनि कोर्ने गरेको छ ।

त्यस्ता चित्रको एक त बिक्री छैन, अर्को छोरी मान्छेलाई चित्र कोर्न निकै कठिन हुने उनको अनुभव छ । विवाहितहरूका हकमा स्थिति अझ जटिल हुने उमा बताउँछिन् । आर्ट गरिरहेका बेला विभिन्न किसिमका स–साना कामले मुड बारम्बार भङ्ग भएर कयौं सिर्जना त्यसै मरेको उमा बताउँछिन् । सानै उमेरदेखि आर्ट मन पराउने उमाले आर्टमै स्नातकोत्तर गरेकी छिन् । नेपाली कलालाई फराकिलो बनाउने सपनासहित पेन्टिङ गर्दै आएकी उमाले गत महिना आर्ट काउन्सिलमा आयोजित चित्रकला प्रदर्शनीमा ३ वटा पेन्टिङ प्रदर्शनमा राखेकी थिइन् ।

यता गोर्खाकी रितु थापाले उक्त चित्रकला प्रदर्शनीमा आफ्ना ३ वटा पेन्टिङ प्रदर्शनमा राखिन् । ५ दिनसम्म चलेको उक्त प्रदर्शनीमा उनका कुनै कला बिक्री भएनन् । थापाका पेन्टिङ मात्र होइन नेपालमा यस्ता चित्रका ग्राहक निकै कम रहेको उनको भनाइ छ । कमै नेपाली मात्र पेन्टिङप्रेमी भएको बताउने थापाले आर्टमै मास्टर डिग्री गरेकी छिन् तर उनलाई पेन्टिङ नै गरेरसहजताका साथ जीवन चलाउन सकिन्छ भन्ने लाग्दैन । विदेशी पर्यटकले नेपालका नदी, हिमाल तथा मन्दिरका तस्बिर किने पनि नेपालीहरूले भने नकिन्ने थापा बताउँछिन् ।

उक्त प्रदर्शनीमा पाटनकी सुदेशा श्रेष्ठका पनि ७ वटा पेन्टिङ प्रदर्शित थिए । ५ दिनसम्म आर्ट काउन्सिलका भित्तामा टाँगिएका उनका चित्र पनि ७ दिनपछि निकालिए । महिनौं लगाएर कोरिएका उनका चित्रले पनि बजार पाउन सकेनन् । आर्टमै मास्टर्स सकेकी श्रेष्ठले पनि चित्र कोरेरै समृद्ध जीवन हासिल गर्ने सपना देखेकी छैनन् । आर्टकै विविध पाटोमा आफूलाई समर्पित गर्दै फरक पहिचान बनाउने उनको सपना छ । कलामा गीत–संगीत तथा चलचित्रको जस्तै कलाको प्रचार–प्रसार हुन नसक्दा आर्टका बारेमा थोरैले मात्र चासो राख्ने सुदेशा बताउँछिन् । विभिन्न पर्यटकीय स्थलका ग्यालरीबाट केही थान चित्र विदेशी पर्यटकले किने पनि आर्टका विशुद्ध नेपाली ग्राहक भने लगभग नभएको उनको दुखेसो छ ।

फाइन आर्टको चौथो सेमेस्टरका विद्यार्थीको आर्थिक संकलनसँगै आर्ट काउन्सिलको सहयोगमा ५ दिन चलेकोउक्त प्रदर्शनीमा १९ जना चित्रकारका चित्र प्रदर्शित थिए जसमा जेनी घलेको एउटा र अर्को एउटा गरी २ वटा चित्र मात्र बिक्री भए । १९ जना चित्रकार सहभागी भएको उक्त प्रदर्शनीमा जया शर्मा, उमा खड्का, जेनी घले, सुदेशा खड्का, प्रमिला लामा, रितु थापा आदि ८ जना महिलाको सहभागिता थियो ।

 Image