Successfully Copied

एउटै पेसाका जीवनसाथी

अलग–अलग शिक्षण संस्थामा एउटै पदमा रहेका थापा दम्पती आफ्नो दाम्पत्य जीवन एवं करिअरको सफलताको रहस्य यही एउटै पेसालाई मान्छन् । रञ्जित भन्छन्, ‘हामी एकैपटक प्रिन्सिपल भएका होइनौं, क्रमिक रूपमा परिश्रम गर्दै जाँदा यहाँसम्म आउन सफल भएका हौं ।’

नेपाली समाजमा पनि एउटै क्षेत्रमा कार्यरत पुरुष तथा महिला सहकर्मीबीच माया–प्रेम बसी विवाह गर्नेहरू धेरै छन् । एउटै क्षेत्रका दम्पतीहरूबीच काम गर्न सजिलो त हुन्छ नै एउटै क्षेत्र हुँदा कतिपय दम्पतीमा इगोसमेत उत्पन्न हुनसक्छ । हिन्दी चलचित्र अभिमानमा जस्तै श्रीमती आफूभन्दा माथि पुग्दा वा सफल हुँदा पुरुष मानसिकताले त्यसलाई पचाउन गार्‍हो मान्छ । यस्ता धेरै पुरुष नेपाली समाजमा पनि छन् । फलस्वरूप महिलाहरूले कि

 

आफ्नो काम छोडेर घर बस्न बाध्य हुनुपर्छ कि त अर्काे सजिलो काममा लाग्नुपर्छ ।

यद्यपि सबैमा यस्तो समस्या हुँदैन र धेरै आधुनिक पुरुषले आफ्ना जीवनसाथीप्रतिको दृष्टिकोणमा पर्याप्त परिवर्तन ल्याइसकेका छन् । एउटै पेसामा लाग्दा धेरै सजिलो हुने तथा सफलता पनि हात पर्ने धारणा एकै पेशामा रहेका धेरैले अभिव्यक्त गरेका छन् ।

प्रिन्सिपल जोडी रञ्जित र सुनीता

सुनीताको नजरमा रञ्जित

कुलको चौतर्फी विकासका लागि दत्तचित्त । कसरी आफ्ना विद्यार्थीलाई अब्बल बनाउने भन्ने कुरामा चिन्तित । घरमा बच्चाहरूको आवश्यकता पूरा गर्न सधैं तत्पर ।

रञ्जितको नजरमा सुनीता

परिवारका सदस्यहरूप्रति राम्रो व्यवहार, सबैलाई खुसी राख्न हरदम तत्पर, शान्त, छुच्चो नहुने । मन नपरे पनि राम्रो व्यवहार गर्ने ।

शिक्षण पेसामा लागेको पनि २० वर्ष नाघिसकेको छ–कान्जिरोवाका प्रिन्सिपल रञ्जित थापा र प्रज्ञाकुञ्जकी प्रिन्सिपल सुनीता पौडेलको । कलेज पढ्दादेखि नै शिक्षण पेसामा लागेका रञ्जित र सुनीताको पहिलो भेट सातदोबाटोस्थित युनाइटेड स्कुलमा भएको थियो । सुनीताभन्दा पछि उक्त स्कुल ज्वाइन गरेका रञ्जितलाई त्यहाँको पढाउने शैली तथा वातावरणका बारेमा सुनीताले नै जानकारी दिएर सहज बनाइदिएकी थिइन् ।

४ वर्ष सँगै स्कुलमा काम गरेको यो जोडी मिल्ने साथीका रूपमा सबैका आँखा परेका थिए । केही समयपछि रञ्जित कोअर्डिनेटरका रूपमा जेम्स स्कुल गए अनि त्यसैताका उनीहरूले विवाह गरे । विवाह गर्दा उनीहरू दुवै २५ वर्षका थिए । सुनीतालाई रञ्जितको व्यक्तित्व, कामप्रतिको जागरुकता तथा उत्सुकताले प्रभाव पारेको थियो भने रञ्जितलाई सुनीताको सबैलाई सहयोग गर्ने व्यवहार मीठो बोली तथा शिक्षाप्रतिको उत्सुकताले । उनीहरूको जोडी शिक्षा क्षेत्रमै व्यस्त भै क्रमश: सफलता हात पार्दै अघि बढेको जोडी हो । एक–अर्काको साथ पाएर आजको स्थानसम्म पुग्न सकेका हौं भन्छन् उनीहरू ।

उनीहरूमा एउटा समानता छ–रञ्जित कोअर्डिनेटर हुँदा सुनीता पनि कोअर्डिनेटर, भाइस प्रिन्सिपल हुँदा भाइस प्रिन्सिपल तथा प्रिन्सिपल हुँदा प्रिन्सिपल भइन् । अलग–अलग शिक्षण संस्थामा एउटै पदमा रहेका थापा दम्पती आफ्नो दाम्पत्य जीवन एवं करिअरको सफलताको रहस्य यही एउटै पेसालाई मान्छन् । रञ्जित भन्छन्, ‘हामी एकैपटक प्रिन्सिपल भएका होइनौं, क्रमिक रूपमा परिश्रम गर्दै जाँदा यहाँसम्म आउन सफल भएका हौं ।’ घरमा पनि उनीहरूबीच स्कुलका साथै नयाँ–नयाँ प्रविधिका बारेमा छलफल भैरहन्छ ।

सुनीता क्लास रुम टिचिङ, ट्रेनिङ आदि विषयमा पोख्त छिन् भने रञ्जित क्लास रुमबाहिरको म्यानेजमेन्ट, अतिरिक्त क्रियाकलाप आदिमा पोख्त छन् । यसरी दुवैको ज्ञान र क्षमता बाँड्दा कम्प्लीट प्रिन्सिपलमा हुनुपर्ने गुण पाइन्छ । घरमा रञ्जितको भन्दा सुनीताको जिम्मेवारी अलि बढी छ । यद्यपि आवश्यक पर्दा रञ्जितले पनि घरको काममा सहयोग गर्छन् । एउटै क्षेत्रका जीवनसाथी भएकाले उनीहरूलाई काममा सहयोग मिलेको छ ।

बेफाइदा : फरक क्षेत्र भएको भए नयाँ कुरा पनि जानिन्थ्यो ।

फाइदा : दुवैको क्षमतालाई मिलाएर कम्प्लीट र सफल हुन सजिलो ।

 Image