Successfully Copied

फूलको व्यापारमा ‘रजस्वला’

बंगलामुखीमा दैनिक फूल तथा पुजाको सामग्री बेचेर जीवन चलाउाने करिव एक दर्जन महिला छन् । आम्दानी र गुजाराका हिसावले यो व्यापार सहज भए पनि फूलका ग्राहकले हरेक पटक महिनावारीका बारेमा सोध्छन् ।

ललितपुरकी नानीमैया महर्जनले (५४) बंगलामुखी मन्दिर अगाडी पूजाका सामाग्री बेच्न थालेको २० वर्ष भयो । २० वर्षदेखिनै हरेक दिनजासो पूजा सामाग्री किन्न आउने प्राय भक्तजनले उनलाई एउटै प्रश्न सोधिरहे ‘तपाई महिनावारी हुनुभएको छ ?’

यो प्रश्नले उनलाई धेरै पटक आफ्नै पेशाप्रति बितृष्णा जगायो । कयौं पटक फूलको व्यापार छाडेर अन्यत्रै केहि गरौं । तर, सानो लगानीमा विहान र साँझ फूल तथा दियोको व्यापार गरेर घर खर्चलाई सहज बनाएकी नानीमैयाले अन्त गैहाल्ने बाटो पनि पहिल्याउँन सकिनन् । त्यसैले हरेक विहान र साँझ यस्तै प्रश्न खेपेरै भएपनि निरन्तर फूल बेच्दै आईरहेकी छिन् । ‘भगवानलाई चढाउने फूल शुद्ध हुनुपर्छ  । फूल बेच्ने हामी पनि त हिन्दु धर्मावलम्बी नै हौं । हामी महिनावारी हुँदा फूल बेच्न आउँदैनौ,’ नानीमैयाले सुस्केरा हाल्दै पीडा पोखिन ।

यो समस्या नानीमैयाको मात्र नभएर प्राय मन्दिर अगाडि फूलको व्यापार गर्ने अधिकाशं महिलाको पीडा हो । सोही ठाउँमा १० वर्षदेखि मिना श्रेष्ठ (५०) पनि दियो बेच्दै आएकी छिन् । उनले पनि १० वर्षदेखि यहि प्रश्नको सामना गर्दै आएकी छिन् । उनको महिनावारी सुकेको नै ४ वर्ष लाग्यो । तर, पनि उनलाई सोही प्रश्न पटक–पटक सोधिन्छ । ‘पहिला म महिनावारी हुादा दियो बेच्न आउदिनथे घरका अन्य व्याक्ति आउने गर्थे ।  मेरो महिनावारी सुकेको पनि ४ वर्ष  भइस्क्यो । तर पनि दियो किन्न आउने भक्तजनले महिनावारी भएको छैन भनेपछि मात्रै दियो किन्नुहुन्छ ।’ मिनाले सुनाईन । महिनावारी भइरहने महिला पनि सो समयमा पूजा समाग्री बेच्न नआउने अन्य महिला व्यापारी बताउान् ।

घरखर्च चलाउने आधार :

रमिता श्रेष्ठ (३०) लाई पनि मिना र नानीमैयालाई जस्तै प्रश्न गरिन्छ । भक्तजनको प्रश्नले दिक्क भएपनि उनीहरुको यो पेशा घरखर्च चलाउने आधार हो । तिनैजनाले आफ्नो सानो सानो खर्चदेखि बालबच्चा स्कूल पढाउन समेत यही व्यापारबाट खर्च जुटाउने गरेका छन् ।

‘पाँच सयदेखि कहिले  २५ सयसम्म दैनिक कमाइ हुन्छ । यही कमाईले घरखर्च चलाउन सहयोग भैरहेको छ,’ रमिताले भनिन् ।

सबै प्रकारका भक्तजन आउने हुनाले उनीहरुको प्रश्नले के असर गर्छ भन्दा नी आफुले घरखर्च चलाउन काम गर्नुछ भन्ने कुरा आफुले बुझेको रमिता बताउँछिन् । ‘भक्तजनहरुको प्रश्नले दिक्दार लागेपनि हाम्रो लागि यो घरखर्च चलाउने आधार हो त्यसैले धेरै वर्षदेखि यही पेशालाई निरन्तरता दिदै आएका छौ’ रमिताले भनिन् ।

महिनावारी एक प्राकृतिक नियम

आज पनि हिन्दू समाजमा महिनावारीलाई निषेधका रूपमा लिइन्छ । किशोरावस्था सुरु भएदेखि चालीस पौतालीस वर्ष नपुगेका सबै महिलाहरूको महिनैपिच्छे परिपक्व भएका तर निषेचन नभएका दुइटा डिम्ब फुट्छन् र गर्भाशयबाट त्यही फुटेको डिम्व रक्तस्रावको रूपमा शरीर बाहिर तीन दिन निस्कन्छ । तिनै तीन दिनलाई महिनावारी भएको भनिन्छ । अझ हाम्रो समाजमा त पाँच दिनसम्म पर बसेर बार्ने चलन छ ।

सबै धर्महरू आधारभूत रूपमा सामाजिक न्याय वा अनुशासनका रूप हुन् । हिन्दु धर्मशास्त्रमा महिनावारी भएका तीन दिन सहवास निषेध गरिएको छ । यो अवधिमा निषेध गरिएको सहवास मात्र रहेछ । तर, समय र समाजसँगै महिनावारीका बारे भ्रम, लोकाचार र निषेधको संस्कृति र दायरा फराकिलो बन्दै गएको छ । रजस्वला अर्थात महिनावारी भएकै कारण महिलालाई विभेद गर्नु, महिलाको शारीरिक स्वास्थ्यलाई ध्यान नदिनु, होच्याउनु र अन्य मानसिक असर पर्ने कुरा या प्रश्न गरेर यातना दिनु भन्ने कुनै शास्त्रमा उल्लेख छैन् । यो सोचाइ राखेर जो व्यक्तिले महिलालाई विभेद गर्छन भने यो जघन्य अपराध हो भनिन्छ ।

 Image