Successfully Copied

कुकुरलाई माया गरेर सिकाउनुपर्छ

काठमाडौं मरुकी कुकुर प्रशिक्षक सुस्मिता रञ्जितलाई सानैदेखि कुकुरप्रति रुचि थियो । त्यसैले उनलाई विदेशमा रहेका दाइहरूले उपहारका रूपमा कुकुर नै ल्याइदिन्थे । एक्लै भएकाले मनमा धेरै कुरा खेल्ने, आफू के बन्ने भन्नेमा धेरै दोधारमा परेकी सुस्मिताले टाटु, डिजे एवं फेसन डिजाइनिङ आदिको प्रशिक्षणसमेत

 

काठमाडौं मरुकी कुकुर प्रशिक्षक सुस्मिता रञ्जितलाई सानैदेखि कुकुरप्रति रुचि थियो । त्यसैले उनलाई विदेशमा रहेका दाइहरूले उपहारका रूपमा कुकुर नै ल्याइदिन्थे । एक्लै भएकाले मनमा धेरै कुरा खेल्ने, आफू के बन्ने भन्नेमा धेरै दोधारमा परेकी सुस्मिताले टाटु, डिजे एवं फेसन डिजाइनिङ आदिको प्रशिक्षणसमेत लिइन् यद्यपि उनले आफ्नो रुचिअनुसार कुकुरसम्बन्धी प्रशिक्षक बन्ने निधो गरिन् । प्रशिक्षक प्रवीण श्रेष्ठसँग तालिम लिई थाइल्यान्डमा डग ग्रुमिङ तथा डग ब्युटिपार्लरको कोर्स पूरा गरेर अहिले उनी नेपालमै कुकुर प्रशिक्षकका रूपमा कुकुरलाई तालिम दिइरहेकी छिन् । अहिले सुस्मिताको घरमा ८ वटा कुकुर छन् ।

कुकुरलाई प्रशिक्षणको आवश्यकता कत्तिको छ ?

कुकुर भनेको बच्चाजस्तै हो । उसलाई हामीले जे–जस्तो व्यवहार गर्‍यौं, सिकायौं उसले त्यसकै कपी गर्छ । कुकुरलाई साथीजस्तै व्यवहार गरेर पाल्नुपर्छ । कुकुरलाई पनि आफ्नो बच्चालाई पढाएजस्तै पढाउनुपर्छ । प्रशिक्षणपछि कुकुरको जनावर स्वरूप हटेर मानिसको साथीको रूप विकसित हुन्छ ।

कुकुरलाई प्रशिक्षण दिँदा पूरै प्रशिक्षककै जिम्मामा छोड्न मिल्छ ?

यो कुरा हरेक कुकुर पाल्ने व्यक्तिले थाहा पाउनुपर्छ कि कुकुरलाई तालिम दिन प्रशिक्षकको मात्र जिम्मामा छोड्नु हुँदैन । समय मिलाएर आफू पनि तालिममा सहभागी हुनुपर्छ । प्रशिक्षकले के–कस्ता कुरा सिकाए, उसले के–के भाषा सिक्यो र कसरी बुझ्छ भन्ने कुरा पाल्ने व्यक्तिलाई थाहा हुनुपर्छ । मुख्य कुरा कुकुरसँगै मालिकले पनि सिक्नुपर्छ ।

मान्छेले कुकुरबाट के–के सिक्न सक्छ ?

कुकुर एउटा इमान्दार जनावर हो । आफ्नो मालिक रिसाउँदा वा गाली गर्दा ऊ पनि पुच्छर हल्लाउँदै अघि–पछि डुलिरहन्छ । कुकुरबाट संघर्षको पाठ पनि सिक्न सकिन्छ । बाँच्न गार्‍हो भयो भन्ने व्यक्तिहरूले बाटोमै जन्मने, संघर्ष गर्ने र बाटोमै मर्ने कुकुरको जीवन हेरेर धेरै कुरा सिक्न सक्छन् ।

कुकुर पाल्नेहरूलाई के भन्न चाहनुहुन्छ ?

नेपालमा कुकुर मन परे पनि–नपरे पनि पाल्ने चलन छ । कुकुरलाई राम्रोसँग पाल्न सकिँदैन, घरमा पर्याप्त स्पेस छैन र कुकुरलाई छुन, हेर्न मन लाग्दैन भने बरु पाल्दै नपाल्नु ठीक हुन्छ । कतिपयले घरको सुरक्षा हुन्छ भनेर दिनभरि अँध्यारो ठाउँमा राखेर कुकुर पालेको देखिन्छ । त्यो बिल्कुलै राम्रो होइन । कुकुर पालेपछि परिवारको सदस्यजस्तो गरेर पाल्नुपर्छ । माया दिन सकिँदैन वा समय र पैसा छैन भने कुकुर पाल्नु हुँदैन ।

तालिमको अवधि कतिको हुन्छ ?

कुकुरको जात, सिक्न सक्ने क्षमता र के–कति सिकाउने हो त्यसमा भर पर्छ । दुई हप्तादेखि महिना दिनसम्ममा कुकुरले बेसिक कुरा सिकिसक्छ । घरधनी पनि सँगसँगै लागिपरे हप्ता दिनमै सिक्न पनि सक्छ । प्रहरी अनुसन्धान वा जासुसी कार्यमा लगाउने हो भने चाहिँ एड्भान्स कोर्स गराउनुपर्छ ।

कुकुरलाई कसरी सिकाउने ?

कुकुरलाई माया, प्रोत्साहन तथा उपहारहरू दिएर सिकाउनुपर्छ । कुकुरलाई डर देखाएर, धम्क्याएर होइन, रेस्पेक्ट गरेर सिकाउनुपर्छ । कुकुर स्वभावैले आफू लिडर बन्न खोज्छ तर घरमालिकले तिम्रो लिडर म हुँ भनेर चिनाउने विहेवियर तालिम दिनुपर्छ ।

कुकुर पाल्दाका फाइदा के–के छन् ?

मुड राम्रो बनाउन साथ दिन्छ । सदैव स्वस्थ दैनिकीतर्फ प्रोत्साहित गर्छ । सक्रिय बनाउँछ । ह्दयाघात हुनबाट जोगाउँछ । कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् । घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् । घरमा दिक्कलाग्दो वातावरण सिर्जना हुँदैन । कुकुरले विभिन्न जोखिममा समेत साथ दिन्छ ।

 Image