Successfully Copied

बढ्दैछन् घुमन्ते नेपाली

विश्वव्यापीकरणको वर्तमान अवस्थामा कुनै पनि मानिस कुवाको भ्यागुतो बनेर बस्न चाहँदैन । यद्यपि चाहना राख्नु र त्यसलाई कार्यरूपमा परिणत गर्नु फरक कुरा हुन् । विकासोन्मुख देश भएकाले आमनेपालीको आयस्रोत पनि त्यति बलियो छैन र आयस्रोत दर्‍हो हुनेहरू पनि जानकारी तथा भ्रमण संस्कृतिको अभावका

विश्वव्यापीकरणको वर्तमान अवस्थामा कुनै पनि मानिस कुवाको भ्यागुतो बनेर बस्न चाहँदैन । यद्यपि चाहना राख्नु र त्यसलाई कार्यरूपमा परिणत गर्नु फरक कुरा हुन् । विकासोन्मुख देश भएकाले आमनेपालीको आयस्रोत पनि त्यति बलियो छैन र आयस्रोत दर्‍हो हुनेहरू पनि जानकारी तथा भ्रमण संस्कृतिको अभावका कारण देश–विदेश चहार्न अघि बढ्दैनन् । यद्यपि केही समययता नेपालीहरू भ्रमणका लागि जुर्मुराउन थालेका हुन् कि भन्ने आभास हुन थालेको छ । देश शान्ति र स्थिरतातर्फ लम्कने क्रममा तथा विदेशी पर्यटक बढ्दै जाँदा नेपालीहरूमा समेत पर्यटनप्रति उत्सुकता जाग्न थालेको पाइन्छ ।

नेपालीहरूमा पर्यटकका रूपमा देश–विदेश भ्रमण गर्ने प्रवृत्ति कत्तिको छ प्रवृत्ति त छ तर पर्याप्त छैन । घुम्न जान चाहनेहरू नभएका होइनन् तर प्राय: नेपालीमा भ्रमणलाई नै पहिलो प्राथमिकतामा राख्ने, अन्य कतिपय मुलुकका नागरिकमा जस्तो गाँस कटाएर भए पनि देश–विदेश भ्रमण गर्ने प्रवृत्ति छैन । नयाँ पुस्तामा भने धेरै हदसम्म उत्सुकता वृद्धि भएको पाएकी छु ।

चाहना र क्षमता हुँदाहुँदै पनि भ्रमण गर्न नजानेहरू पनि त होलान् नि ?

किन नहुनु ? हामीकहाँ भ्रमणका प्याकेज संचालन गर्ने एजेन्सीहरू राजधानी तथा मुख्य सहर केन्द्रित छन् तसर्थ मोफसलका धेरै मानिस भ्रमणमा जाने चाहना र क्षमता भएर पनि जान सकेका छैनन् । फेरि हाम्रो मार्केटिङ पनि राम्रोसँग हुन सकेको छैन । छिमेकी र आफन्तहरूको कुरा सुनेर भ्रमणमा जाने हुटहुटी जाग्ने हो, हामीकहाँ त्यस्तो वातावरण पनि छैन । यस्ता कुरामा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटनमा जाने नेपालीहरूको संख्यामा उल्लेख्य वृद्धि हुनसक्छ ।

नेपालीहरू भ्रमणमा जाने कारण के–कस्ता छन् ?

हामीकहाँ भ्रमणमा जाने कारण यी–यी हुन् भनेर भन्न सकिने गरी अध्ययन भएको छैन । यद्यपि सोखकै कारण विशुद्ध पर्यटकका रूपमा भ्रमण गर्ने नेपालीहरू बढी छन् । हिजोआज बालबालिकाका कारण पर्यटनमा जाने अभिभावकहरू पनि बढेका छन् । कामको तनाव कम गर्न अर्थात् तरोताजा हुन भ्रमणमा जाने नेपालीहरूको संख्यासमेत बढ्दो छ । यसैगरी अहिले कतिपय कर्पोरेट अफिसले उपभोक्ता तथा आफ्ना कर्मचारीहरूका लागि विविध प्रकारका भ्रमण प्याकेज प्रस्ताव गर्न थालेका छन् ।

नेपाली पर्यटकहरू कुन समयमा बढी घुम्छन् ?

विश्वभरका पर्यटकहरू भ्रमणका लागि अनुकूल मौसम नै रोज्छन् जसमा नेपालीहरू नपर्ने कुरै भएन । यद्यपि नेपालीहरू वर्षा सकिनेबित्तिकै अर्थात् असोजदेखि फागुन–चैतसम्म घुम्न रुचाउँछन् । असोज–कात्तिकमा दसैं–तिहारजस्ता चाडपर्व पर्ने हुँदा हरेक संस्थामा काम गर्ने कर्मचारीहरूले बोनस रकम तथा बिदासमेत पाउने भएकाले भ्रमणमा निस्कने नेपाली पर्यटकको संख्या वृद्धि हुन्छ ।

भ्रमणमा जानुअघि ध्यान दिनुपर्ने कुराहरू के–के हुन् ?

देश–विदेश जहाँ भए पनि भ्रमणमा जानुअघि उक्त स्थानका बारेमा सकेसम्म बढी जानकारी लिनु उपयुक्त हुन्छ । विशेष गरी विदेश जाँदा उक्त स्थानको कानुन, भूगोल तथा संस्कृतिका बारेमा पूर्वज्ञान बटुल्न सके राम्रो हुन्छ । भ्रमणको योजनाभित्र आफ्नो बजेट, गन्तव्य स्थान, साथीसंगी, आवश्यक सरसामानजस्ता कुरालाई प्राथमिकतामा राखेर तयारी गर्नुपर्छ ।

                                   -म्यानेजिङ डाइरेक्टर, गो होलिडेज नेपाल

 Image