Successfully Copied

दसैंका रमाइला सम्झनाहरू

वर्षासँग बाल्यकालमा भाइहरूसँग मिलेर चंगा उडाएको अनुभव छ । चंगा चेट हुँदा उनी भाइसँगै चंगा लिन दगुर्थिन् । वर्षा दसैंमा मीठा–मीठा परिकार खान पाउँदा अनि टीका थापेर पाएको दक्षिणामा रमाउँथिन् । दसैंको अन्तिम दिन दिदीभाइ जम्मा भएर दक्षिणा गन्थे र आइसक्रिम खान जान्थे

चंगामा रमाउँथें

मिस नेपाल अर्थ २०१६ वर्षा लेखीले दसैंमा नयाँ पहिरन किन्न तथा १० दिनको बिदा पाइने भएकाले खुसी हुन्छिन् । उनी चंगा उडाउन खप्पिस थिइन् । त्यसैले दसैंका सबैजसो दिन उनी चंगामै रमाउँथिन् ।

वर्षासँग बाल्यकालमा भाइहरूसँग मिलेर चंगा उडाएको अनुभव छ । चंगा चेट हुँदा उनी भाइसँगै चंगा लिन दगुर्थिन् । वर्षा दसैंमा मीठा–मीठा परिकार खान पाउँदा अनि टीका थापेर पाएको दक्षिणामा रमाउँथिन् । दसैंको अन्तिम दिन दिदीभाइ जम्मा भएर दक्षिणा गन्थे र आइसक्रिम खान जान्थे । वर्षा आफ्नी मामुसँग दक्षिणाको पैसा बोकेर चाँदीका गहना किन्न बजार जान्थिन् । उनी अहिले पनि दसैंमा विभिन्न आकार, रंग तथा डिजाइनका चंगा किनी साथीभाइसँग चंगा उडाउँछिन् । वर्षालाई अहिलेको व्यस्त समयमा दसैं रिल्याक्सको पर्व जस्तो लाग्छ ।

घुमघाम पनि

हरेक दिन व्यस्त जीवनका कारण सपरिवार कतै जान नसकिने बाध्यता डा.रिना शाक्यको छ । श्रीमान् व्यवसायी, आफ्नो डेन्टल क्लिनिक र छोरीको स्कुलका कारण उनीहरू चाहेर पनि सँगै घुम्ने मौका कमै निकाल्न सक्छन् । दसैंमा लामो बिदा हुने भएकाले केही वर्षयतादेखि उनीहरू टीका सकेर घुम्न निस्कन्छन् ।

उनीहरू २०७२ सालको भूकम्पपछि नेपालका विभिन्न ऐतिहासिक क्षेत्र घुम्न थालेका छन् । पहिले राम्रो लुगा, मीठो खाना र दक्षिणाको पर्व जस्तो लागे पनि अहिलेको पुस्ताका लागि न त राम्रा लुगा किन्न दसैं कुर्नुपर्छ, न त मीठो खान नै । डा. शाक्य लगाउने–खानेभन्दा दसैंको महत्वलाई बढी प्राथमिकता दिएर छोरीलाई दसैंका बारेमा बुझाउँछिन् । भूकम्प गएको वर्षको दसैंमा उनीहरू बारपाकलगायत लुम्बिनी, बुटवल तथा पाल्पा गएका थिए । अरु बेला घुम्न विदेश गए पनि डा.रिना दसैंमा घुम्न नेपालकै विभिन्न ठाउँ रोज्छिन् ।

मठमन्दिर र व्रतको पर्व

सौन्दर्यकर्मी लक्ष्मी महत कोलकातामा जन्मिएकी हुन् । त्यसैले पनि उनलाई दसैं भन्नासाथ दुर्गापूजा तथा व्रतको सम्झना आउँछ । कोलकातामा नवरथाका नौ दिन नै व्रत बस्ने चलन थियो । लक्ष्मी पनि सानैदेखि नौ दिन नै व्रत बस्थिन् । कोलकातामा पण्डाललाई डेकोरेसन गरेर दुर्गाको मूर्ति स्थापना गर्ने चलन छ । त्यहाँ सबैजसो परिवारसँगै रातभरि पण्डाल घुम्छन् अनि मठ–मन्दिर पुग्छन् । पण्डालमा दुर्गाका साथै लक्ष्मी, सरस्वती, गणेश तथा कार्तिकेयका मूर्तिहरू राखिएका हुन्थे ।

उता चंगा धेरै खेलिन्छ, त्यसैले लक्ष्मी पनि लट्टाई बोकेर चंगा खेल्न साथीहरूकहाँ पुग्थिन् । नेपाल आएपछि दसैं मनाउने चलन अलि फरक महसुस गरेकी छिन् उनले । उता व्रत बसेर मानिने दसैं नेपालमा भने माछा, मासु खाएर, तास खेलेर मनाइँदो रहेछ लक्ष्मी भन्छिन् । शाकाहारी र तास पनि नखेल्ने लक्ष्मीले दसैंमा एकपटक परिवारसँग बसेर कौडा भने खेलेकी छिन् । लक्ष्मी दसैंका ९ दिन नै आमासँग काठमाडौंका देवी मन्दिरलगायत पलाञ्चोक भगवती, दक्षिकाली, चण्डेश्वरी आदि मन्दिर दर्शन गर्न पुग्छिन् । दसैंमा उनी व्रत बस्न रुचाउँछिन् । महतलाई सानैदेखि दसैंमा शुद्ध भएर पूजाआजा गरी देवीको आराधना गर्न रमाइलो लाग्छ ।

लंगरबुर्जा खेल्ने–खेलाउने

कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठको बाल्यकाल स्याङ्जाको वालिङमा बितेको हो । दसैं आउन लागेपछि उनमा बेग्लै ऊर्जा आउँथ्यो । पढ्नभन्दा खेल र गायनमा रुचि भएका विवेक दसैंको बिदा हुनासाथ लंगरबुर्जा बोकेर चोकमा पुग्थे । उनले लंगरबुर्जा खेलाउँदा प्राय: सधै खेल्नेहरू नै जित्थे । त्यसैले पनि उनीसँग खेल्न लाइनै लाग्थ्यो । लंगरबुर्जा खेल्न–खेलाउन मन परे पनि खेलाउने ट्रिक भने उनलाई थाहा थिएन । घरबाट ल्याएको सबै पैसा सिद्धिएर भागेको क्षण उनलाई अझै सम्झना छ । कहिलेकाहीँ खेलिसकेकाहरूले पुलिस आयो भनेर कराउँदा भागेको क्षण पनि उनको मानसपटलमा ताजै छ । विवेकमा तास र चंगाभन्दा लंगरबुर्जाप्रति मोह छ ।

टीका लगाउन स्याङ्जादेखि मामाघर नवलपरासीसम्मको यात्रा पनि उनलाई सारै रमाइलो लाग्थ्यो । मामाघरमा १७–१८ जना एउटै उमेरका दाजुभाइ–दिदीबहिनी जम्मा भएर मन्दिर गएको, पिङ खेलेको आदि पनि उनी सारै सम्झन्छन् । ठूलो भएपछि धेरै दसैंमा कार्यक्रमका लागि बाहिर हुने अनि लामो समय विदेशमा भएकाले विवेकले राम्रोसँग दसैं मनाउन पाएका छैनन् । तैपनि उनी दसंैलाई टीका लगाउने, दक्षिणा प्राप्त गर्ने अनि मीठो खाने अवसरका रूपमा लिन्छन् ।     

चंगा र ताससँग दसैं

विद्यालय प्रशासनमा कार्यरत सविना दाहाल पौडेललाई सबैभन्दा मनपर्ने चाड नै दसैं हो । सानैदेखि दसैंको लामो बिदामा परिवारसँगै बसेर चंगा र तास खेल्न रुचाउने सविना अहिले पनि चंगा र तासमा उत्तिकै रमाउँछिन् । दसैंमा लामो बिदा हुने हुँदा उनी समयमै सपिङ गर्छिन् । घरमा परिवार जम्मा भएर विभिन्न मीठा–मीठा परिकार पकाई दिउँसो चंगा उडाउँछिन् । अहिलेको पुस्ता इलेक्ट्रिक ग्याजेटमा भुल्न थालेकाले उनी आफ्नो छोरालाई रंगीबिरंगी चंगा उडाउन लान्छिन् । चंगा कसरी उडाउने, कसरी चेट गर्नेदेखि यो मौसम चंगाका लागि उपयुक्त हुने जानकारी दिँदै सविना आफ्नो छोरालाई हाम्रो संस्कृति–संस्कारसँग परिचित गराउँछिन् । साँझको समयमा परिवारका सदस्यहरू जम्मा भएर तास खेल्ने चलन छ । तासमा अहिलेसम्म सविनाले हारेको रेकर्ड छैन । घरमा, माइतीमा मात्र होइन जहाँ टीका लगाउन पुग्दा पनि तास खेल्ने चलन छ । सविना घटस्थापनादेखि फूलपातीको दिनसम्म तास र चंगामै रमाउँछिन् । सप्तमीपछि पूजापाठमै बढी बित्ने र टीकापछि पुन: तास जम्ने उनले बताइन् । सविनाको घर मूलघर भएकाले सबै जना दाजुभाइ त्यहीँ जम्मा हुने भएकाले पनि निकै रमाइलो हुने उनी बताउँछिन् ।

 Image