Successfully Copied

चाडपर्व लक्षित नेपाली चलचित्र

नेपालीहरूको जीवनमा चाडपर्वले ठूलो अर्थ राख्छन् । अझ दसैं–तिहारजस्ता ठूला चाडपर्वले त नेपालीहरूको दैनिकीमै परिवर्तन ल्याउँछन् । देशका सम्पूर्ण क्षेत्र र सबै मनलाई छुने चाडपर्वले कला क्षेत्रलाई नछुने कुरै हुँदैन । त्यसमध्ये कतिपयले आफूले सोचेजस्तै रिलिज डेट पाए भने कतिपयले पाएको डेट पनि

नेपालीहरूको जीवनमा चाडपर्वले ठूलो अर्थ राख्छन् । अझ दसैं–तिहारजस्ता ठूला चाडपर्वले त नेपालीहरूको दैनिकीमै परिवर्तन ल्याउँछन् । देशका सम्पूर्ण क्षेत्र र सबै मनलाई छुने चाडपर्वले कला क्षेत्रलाई नछुने कुरै हुँदैन । नेपाल चलचित्र निर्माता तथा निर्देशकहरूले चलचित्र बनाउनभन्दा चलाउन अर्थात् हल पाउन मुस्किल भएको बताउँदै आएका छन् ।

चलचित्र धेरै भएकै कारण सबै चलचित्रले हल पाउन मुस्किल परेको तथ्य एकातिर छ भने चाडपर्वमा चलचित्र चलाउनेको होड अझ ठूलो हुन्छ । चलचित्रका अधिकांश दर्शक फुर्सदमा हुने र मनोरञ्जनका लागि उनीहरूले चलचित्र रोज्ने हुनाले राम्रो व्यापारका लागि दसैं–तिहारमा चलचित्र चलाउन चाहने निर्माता–निर्देशकको भीड ठूलै हुने गरेको छ ।

यो वर्ष पनि दसैं–तिहारको छेकोमा रिलिज गर्ने लक्ष्यका साथ केही चलचित्र निर्माण भएका छन् । त्यसमध्ये कतिपयले आफूले सोचेजस्तै रिलिज डेट पाए भने कतिपयले पाएको डेट पनि अन्य चलचित्रसँगको प्रतिस्पर्धालाई मध्यनजर गर्दै अन्य मितिमा सारे ।

लीला

चलचित्र लीला भदौ ३० गते रिलिज भएको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देवीराम पराजुली, सीपी पौडेल आदि कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन् । लीलामा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता छन् भने सीपी पौडेल कार्यकारी निर्माता । लीलाको निर्माण लक्ष्मण बस्नेत तथा विमला घिमिरेले गरेका हुन् । लक्ष्मण बस्नेतको लेखनको चलचित्र लीलामा वसन्त सापकोटा एवं रमेश खड्काको संगीत, शिव ढकालको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा अष्ट महर्जनको एक्सन हेर्न पाइन्छ ।

जोनी जेन्टलम्यान

स्टार बन्ने दौडमा रहेका नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ पनि भदौ ३० गते नै रिलिज भएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रमा एड्रिउ पौडेलले लगानी गरेका छन् । जोनी कसरी जेन्टल बन्छ भन्ने कथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र पल र आँचलको जोडीका कारण पनि निर्माण कालदेखि नै चर्चामा थियो । यो चलचित्रमा नवीन निरौलाको सम्पादन, पारस विक्रम शाह र देव महर्जनको एक्सन, रूपेश थापा र रामशरण उप्रेतीको छायांकन छ ।

 

टिनएज

युवाहरूको कथा उठान गरिएको चलचित्र ‘टिनएज’ असोज २७ गते प्रदर्शनमा आउँदैछ । दिनेश पाख्रिनको निर्देशनमा तयार भएको चलचित्र टिनएजमा अञ्जली खड्गी, नरेशवीर सिंह, सरोज शाह, प्रतीक्षा खड्का, कृष्णा शिवाकोटी, अजय खड्का आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले युवापुस्ताको प्रेम, रोमान्स तथा वियोगको कथा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ । बिरु मगर र चिनिमाया वाइवाको लगानीको यो चलचित्रमा विकास चौधरी तथा वसन्त सापकोटाको संगीत एवं वासु न्यौपानेको छायांकन हेर्न पाइन्छ ।

ऐश्वर्य

चलचित्र ‘ऐश्वर्य’ कात्तिक ९ गतेदेखि प्रदर्शन हुँदैछ । नायक रमेश उप्रेतीले निर्माण गरेको यो चलचित्र यसअघि कात्तिक २ गते रिलिज हुने कुरा थियो तर सोही मितिमा नेपाली र हिन्दी गरी ४ वटा चलचित्र रिलिज हुने भएपछि ‘ऐश्वर्य’ को प्रदर्शन एकसातापछि सारिएको हो । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसार्इं, केकी अधिकारी तथा प्रशान्त ताम्राकारको मुख्य भूमिका छ ।

फाटेको जुत्ता

निर्माता अर्जुनकुमारले निर्माण गरेको चलचित्र फाटेको जुत्ता कात्तिक १७ गते सार्वजनिक हुँदैछ । निकेश खड्काले निर्देशन गरेको यो चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया, बुद्धि तामाङ आदि कलाकारको अभिनय हेर्न पाइने छ । पूर्णत: हास्य कथामा निर्माण भएको यो चलचित्र मनोरञ्जक बनेको निर्माण पक्षको भनाइ छ ।

रुद्रप्रिया

लामो समय बिग्रिएको सम्बन्ध सुधार्दै नायक आर्य सिग्देल र नायिका रेखा थापा तथा कसाथ पर्दामा देखिने चलचित्र रुद्रप्रिया कात्तिक २ गते प्रदर्शनमा आउँदैछ । रेखा फिल्मसको व्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता सरस्वती थापा तथा आर्यन फ्ल्मि्स हुन् । चलचित्र रुद्रप्रियालाई सञ्जय लामाले खिचेका हुन् भने यसमा सुरेश अधिकारी, अर्जुन अधिकारी, अर्जुन पोखरेल तथा राजनराज शिवाकोटीले संगीत दिएका छन् ।

रानी

दुई नवनायक जन्माउने चलचित्र ‘रानी’ कात्तिक २ गते रिलिज हुने भएको छ । दयाराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्र भानु महर्जनको प्रस्तुतिमा तयार भएको हो । चलचित्रको शीर्ष भूमिकामा नायिका मलिना जोशीले काम गरेकी छिन् । मलिनाको वरिपरि चलचित्रका अन्य ३ नायक घुम्छन् । चलचित्र ‘रानी’ मार्फत सारुक ताम्राकार तथा मनीष सुन्दर श्रेष्ठ चलचित्रको रंगीन संसारमा प्रवेश गर्दैछन् । यो चलचित्रमा अनुप विक्रम शाही तथा सुशन खड्काको पनि महत्वपूर्ण भूमिका छ । अनुप यो चलचित्रमा प्रहरीको भूमिकामा देखिनेछन् । बब्बु थापा र शिशिर खातीको कोरियोग्राफी, यम थापाको लेखन तथा पुरुषोत्तम प्रधान, मानकृष्ण महर्जन र सिसन बाानियाँको छायांकनको यो चलचित्रका निर्माता विमलमान गुवाजु हुन् ।

छक्का पञ्जा–२

दीपाश्री निरौलाले निर्देशन गरेको दोस्रो चलचित्र ‘छक्का पञ्जा–२’ असोज ११ गते देशभरका हलमा पुग्दैछ । घोषणादेखि नै दसैं लक्षित यो चलचित्र गीत–संगीतकै कारण निकै चर्चा र विवादमा रहँदै आएको छ । यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउत, निश्चल बस्नेत आदिले अभिनय गरेका छन् । ‘छक्का पञ्जा–२’ को पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल तथा अभिमन्यु निरवीले लेखेका हुन् । गीत–संगीतलाई प्राथमिकता दिने दीपक–दीपा यो चलचित्रका गीत सार्वजनिक हुँदा भने हरेक पटक विवादमा परे ।  

 Image