Successfully Copied

विवाहपछिको दसैं

दसैंको रौनकले सबैलाई छोएको छ । सांस्कृतिक, धार्मिक एवं सामाजिक एकताको प्रतीक यो चाडलाई सबैले खुलेर मनाउँछन् । व्यस्त जीवनबाट विश्राम लिने अवसर पनि हो दसैं । त्यसैले अल्का अस्पतालकी डा. शक्ति शर्मालाई दसैं असाध्यै रमाइलो लाग्छ । दसैंलाई महत्वपूर्ण चाड मान्ने अलका

दसैंको रौनकले सबैलाई छोएको छ । सांस्कृतिक, धार्मिक एवं सामाजिक एकताको प्रतीक यो चाडलाई सबैले खुलेर मनाउँछन् । व्यस्त जीवनबाट विश्राम लिने अवसर पनि हो दसैं । त्यसैले अल्का अस्पतालकी डा. शक्ति शर्मालाई दसैं असाध्यै रमाइलो लाग्छ । दसैंलाई महत्वपूर्ण चाड मान्ने अलका यसलाई पारिवारिक जमघट, दुर्गा भवानीको पूजा–आराधना आदि कुराका लागि स्मरण गर्छिन् ।

डा. शक्ति शर्मा

बाल्यकालको दसैं कुपन्डोलमा बिताएकी डा. शर्मा त्यतिबेला चाडपर्वको रौनक नै बेग्लै हुने बताउँछिन् । ठूलो भएपछि, अझ विवाहपछि चाडपर्वसँगै जिम्मेवारी पनि थपिने उनले बताइन् । विवाहअघिका दसैंमा माइतीमा टीका लगाएर दक्षिणा प्राप्त गरे पनि पछि आफूले दक्षिणा दिनुपर्ने भयो भने पूजापाठ, सरसफाइ तथा अन्य कुराको जिम्मेवारीबोध पनि विवाहपछि नै भयो । विवाहपछिको पहिलो दसैं अनौठो तर रमाइलो भएको डा. शर्मा बताउँछिन् । दसैंमा डा. शक्तिको घर तथा माइतीमा खसी काट्ने चलन छैन । घरमा धेरैजना शाकाहारी भएकाले दसैंमा मासुका भन्दा अन्य मीठा तरकारी नै बढी पाक्छन् । आफू शाकाहारी भए पनि श्रीमान्का लागि मासु पकाइदिने उनले बताइन् । माइतीमा हुँदा दसैंका लागि नयाँ पहिरन किन्ने डा. शर्मा विवाहपछिका दसैंमा पनि नयाँ पहिरन नै लगाउँछिन् । दसैंमा टीकाको दुई दिनपछिसम्म टीका लगाउने डा. शर्मा कोजाग्रत पूर्णिमाका दिन दियो बालेर, लक्ष्मीको पूजा गरी दसैं समापन गर्छिन् ।

रूपा श्रेष्ठ/ कर्मचारी

विश्व बैंकमा कार्यरत रूपा श्रेष्ठलाई विवाहपछिको पहिलो दसैंको सम्झना अहिले पनि छ । रूपा भन्छिन्–‘इंगेजमेन्टको ७–८ महिनापछि मात्र विवाह भएकाले परिवारका सबैजसो सदस्यसँग परिचय भैसकेकाले त्यति अप्ठ्यारो महसुस त भएन तर ४ जना ससुराको संयुक्त परिवार भएकाले लगभग ४०–४५ जना जमघट हुँदा बेग्लै रमाइलो लागेको थियो ।’ विवाहपछिको पहिलो दसैंमा उनले कति बेला उठ्ने, के लगाउने आदि कुरामा दबाब महसुस गरेकी थिइन् । माइतीमा सानो परिवार र फुपूहरू कोही नभएकाले ५ जना दिदीबहिनीबीच नै एक–अर्काको घरमा बोलाई खाने–ख्वाउने चलन थियो तर रूपालाई घरमै टीका लगाउनमै व्यस्त रहने बाध्यता भने थियो । रूपाले

आफ्नो विवाहपछिको पहिलो दसैंमा माइतीका सबैलाई घरमा बोलाई सम्धी भेट पनि गराइन् । उनको त्यो दसैं नै ससुरासँगको पहिलो र अन्तिम दसैं पनि भयो । भक्तपुरमा विवाह गरेकी नख्खुकी रूपाले घरमा कुल देवतालाई बोका बलि दिने प्रथा सुरुमा आफूलाई अचम्म लागेको बताइन् । उनको माइतीमा मन्दिरमा लगेर बलि दिने चलन थियो । विवाहपछिको पहिलो दसैंमा छोरा–बुहारीलाई बोकाको टाउको सगुन दिएको क्षण उनको मानसपटलमा अहिलेसम्म ताजै छ । रूपाको घरमा टीकाका दिन बाहिर कतै टीका लगाउन जान पाइँदैनथ्यो तर उनले आफ्नो आमाको हातबाट दशमीकै दिन टीका लगाउने ढिपी गरेपछि त्यो चलन रूपाका लागि लागू भएन । उनले विवाहपछि पनि घटस्थापनादेखि नै दैनिक ३–४ वटा मन्दिर दर्शन गर्दै आएकी छिन् ।

सौरगंगा दर्शनधारी/ कलाकार

फाइन आर्टकी कलाकार सौरगंगा दर्शनधारी विवाहपछिको दसैं निकै बेग्लै र रमाइलो भएको बताउँछिन् । दर्शनधारी भन्छिन्–माइतीमा जेठी छोरी भएकीले टीका लगाउने पालो पहिले आउने भए पनि घरमा कान्छी बुहारी भएकीले निकै पछि मात्र पालो आयो । घरमा २० जनाको संयुक्त परिवार भएकाले बेग्लै रमाइलो अनुभव भएको उनले बताइन् । पहिलो दसैंमा रातो साडी, हल्का मेकअप र गहना लगाएर बस्नुपरेकाले पनि उनी आफैंलाई कलरफुल महसुस भएको र आफ्नो रूपमा निखार आएको अनुभूति भयो । विवाहपछि आफ्नै जन्मघरमा पनि पाहुनाजस्तै जानुपरेको अनि जीवनसाथीसँगै बसेर टीका लगाएको क्षण तथा फरक खालको आशीर्वाद आदिले गर्दा एकदमै नौलो महसुस भएको सौरगंगा बताउँछिन् । घरमा धेरैजना हुने भएकाले काममा सहयोग हुने, सँगै बसेर खाँदा, पकाउँदा, मन्दिर जाँदा, चंगा उडाउँदा, तास खेल्दा फेस्टिबलको पूरै मज्जा लिन पाएको उनले बताइन् ।

कृपा लोहनी/ पब्लिक रिलेसन म्यानेजर

पब्लिक रिलेसन म्यानेजर कृपा लोहनी दसैंलाई नितान्त पारिवारिक चाड भन्न रुचाउँछिन् । कृपालाई दसैंमा बाहिर घुमफिरमा जानुभन्दा पनि परिवारसँगै बसेर रमाइलो गर्न मन लाग्छ । दसैंलाई राम्रो लगाउने मीठो खाने चाडका रूपमा पनि लिइन्छ । संयुक्त परिवारमा हुर्किएकी कृपाको बाल्यकालको दसैं काठमाडौंको घट्टेकुलोमा बितेको थियो । घटस्थापनाको दिनदेखि नै उनी परिवारका साथ बिहान ४ बजे उठेर देवीको मन्दिर पुग्थिन् । विवाहअघिको दसैंभन्दा पछिको दसैं पूर्णरूपमा भिन्न भएको लोहनी बताउँछिन् । माइती तथा घरमा ठूलाले सानालाई टीका लगाइदिएर दक्षिणा दिने समान चलन छ । दसैंका बेला तास खेल्दा प्राय:जसो हार्ने कृपा माइतीमा बुवासँग जितेको पैसा फिर्ता मागे पनि विवाहपछि घरमा त्यसो गर्न नमिलेको बताउँछिन् । चाडपर्वको आगमनसँगै जिम्मेवारी तथा कामको चाप बढी हुन्छ । आफन्तलाई खान बोलाउने तथा आफन्तकहाँ खान जाने क्रम पनि चाडपर्वसँगै सुरु हुन्छ । दसैंका दिन उनको घरमा सबैजना एकै ठाउँमा भेला भएर टीका लगाउने चलन छ । उनको घरतिर नातेदार कम भएकाले टीकाकै दिन सबै घर भ्याइए पनि उनको माइतीका नातेदारहरूकहाँ भने पूर्णिमासम्म पनि टीका लगाएर सकिँदैन । कृपाकी छोरीको जन्म यसै वर्ष भएकाले यो दसैं उनका लागि विशेष हुनेछ ।  

 Image