Successfully Copied

दसैंमा मासु

महान् पर्व दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यो अवस्था छैन । नियमित रूपमा दिनहुँजसो मासु खाइन्छ । यद्यपि अरु बेलामा भन्दा दसैंमा मासु बढी नै खाइन्छ । घरमै खसी, बोका, राँगा,

महान् पर्व दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यो अवस्था छैन । नियमित रूपमा दिनहुँजसो मासु खाइन्छ । यद्यपि अरु बेलामा भन्दा दसैंमा मासु बढी नै खाइन्छ । घरमै खसी, बोका, राँगा, हाँस, कुखुरा काटिने हुँदा हतारमा जथाभावी पकाएर खाने चलन पनि बढ्दो छ । खसी, बोकाका आन्द्राभुँडी, कलेजो, फियो, मुटु, फोक्सो आदिका विभिन्न परिकार बनाएर खाने–ख्वाउने चलन छ । यस्ता मासुमा प्रोटिनको मात्रा बढी हुन्छ । हेभी प्रोटिनयुक्त खाना खाँदा पाचनप्रणालीमा असर पर्छ ।

दसैंमा लामो बिदा हुने तर श्रम नगरी अधिक चिल्लो, पिरो तथा मसालेदार मासु खाँदा स्वास्थ्यमा असर पर्ने चिकित्सकको भनाइ छ । दसैंमा अस्वस्थकर खाना खाने, अल्कोहलको सेवन पनि नियमित गर्ने, समयमा नसुत्ने, शारीरिक व्यायाम नगर्ने चलन बढ्दो छ । यसले मुटु रोग, ग्यास्ट्रिक आदि समस्या पैदा हुन्छन् । दसैंमा होस् वा अन्य समयमा खानपानमा ध्यान नदिए रोग लाग्ने सम्भावना बढ्छ । त्यसैले हरेक दिन मासु, भात मात्र नखाई रोटी, हरिया तरकारी, दूध, दही एवं फलफूल खानुपर्छ ।

दसैंमा मासु पोलेर एवं सेकुवा बनाएर खाने चलन छ । यस्तो मासु राम्रोसँग नपाक्ने हुँदा झाडापखाला तथा आउँ पर्ने सम्भावना बढ्छ । यसैगरी दसैंमा घरमै मासु काटिने हुँदा धेरै भएर फ्रिजमा राख्ने चलन हुन्छ । मासु तथा बोसो सुकाएर राखिन्छ । यस्तो मासुमा ढुसी लागेर फुड प्वाइजनिङ हुनसक्छ । किटाणुका कारण आउँ पर्ने सम्भावना पनि उत्तिकै रहन्छ । सुकाएको मासु राम्रोसँग पकाएर खानुपर्छ ।

चाडपर्वको मौसममा रमाइलोका लागि रक्सी तथा मासु सँगै खाइन्छ । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पार्ने डा. प्रकाश पौडेल बताउँछन् । कतिपय मानिसले दसैं त हो नि भनी लापरबाही गरेर मासु तथा रक्सी खान्छन् । उच्चरक्तचाप भएका बिरामीले खानामा नियन्त्रण नगर्दा हर्ट एट्याकको सम्भावना बढ्छ । मधुमेह, युरिक एसिड आदि समस्या भएकाहरूले रातो मासु खाँदा स्वास्थ्य बिग्रन्छ । उच्च प्रोटिनले युरिक एसिड बढाउने भएकाले गाउट (गोली गाँठा सुन्निने) हुन्छ । पहिलेदेखि नै बाथका रोगीले रातो मासु धेरै खाँदा जोर्नी सुन्निन्छ ।

रातो मासुमा स्याचुरेटेड फ्याट (स्वास्थ्यका लागि हानिकारक चिल्लो) हुन्छ । यसले शरीरमा बोसोको मात्रा बढाउँछ । रगतको नसा धमनीमा गएर जम्नसक्छ । यसले गर्दा कोलस्ट्रोल, उच्च रक्तचाप तथा मुटुको रोग लाग्नसक्छ ।

दसैंमा मात्र नभएर अन्य समयमा पनि मानिसले पोलेको मासु वा सेकुवा बढी खान्छन् । यस्ता मासुमा कार्सिनोजेनिक तत्व हुन्छ । जसले गर्दा पेट र आन्द्रासम्बन्धी क्यान्सर हुने सम्भावना वृद्धि हुन्छ ।

 

मासुको सञ्चय

 - दसैंमा मासुको खपत बढी हुने भए पनि सबै मासु एकैपटक पकाउनु हुँदैन । आवश्यक मासु मात्र पकाउनुपर्छ ।

- काँचो मासुलाई प्लास्टिकका स–साना पोका बनाएर डिपफ्रिजमा राख्नुपर्छ ।

-फ्रिजमा मासु राख्दा यसमा भएको किटाणु मर्छ ।

 

-मासु धेरै हुनेहरूले सुकुटी बनाएर राख्छन् ।

- स–साना त्यान्द्रा बनाएर घाम, ओभन तथा तावामा मासु सुकाउनु उचित हुन्छ ।

 - गाउँघरतिर अगेनामाथि झुन्ड्यााएर सुकाउने चलन हुन्छ । जसरी सुकाए पनि मासुमा झिंगा लाग्नुहुँदैन ।

 - मासु सुख्खा हुने गरी सुकाउनुपर्छ ।

स्वस्थ रहन

सबैले दसैंमा मात्र नभएर अरू बेलामा पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै खानेकुरा खानु उचित हुन्छ । यसो गर्दा स्वस्थ जीवनयापन गर्न सकिन्छ । दसैंमा अरु कुराको भन्दा मासुको खपत बढी हुने भएकाले यो बेलामा मासुको बेचबिखन गर्नेहरूले पशुपक्षीको स्वास्थ्यको हेरविचार राम्रोसँग गरेका हुँदैनन् । रोगी पशुपक्षीको मासु खानुहँुदैन । मासु किन्न जाँदा रोग लागेको भनेर थाहा नपाए पनि हेर्दा ताजा तथा झिंगा नभन्किएको मासु हेरेर किन्नुपर्छ । काँचो माछामासु खानुहँुदैन । मासु एकैपटक धेरै किनेर ल्याउनुभन्दा आवश्यक मात्रामा पटक–पटक खरिद गर्नुपर्छ । मासु पकाउँदा बढी भएको तेल पुन: प्रयोग गर्नुहुँदैन । एउटै तेललाई पटक–पटक पकाउँदा कार्सिनोजेनिक नामक तत्व निस्कन्छ जसले हाम्रो शरिरलाई हानि पुर्‍याउँछ । चाडपर्वमा धेरै र अस्वस्थ खानेकुरा खाँदा ज्वरो आउने, फुड प्वाइजनिङ हुने, झाडापखाला, आउँ पर्नेजस्ता समस्या हुन्छन् । भोजनमा माछामासुभन्दा पनि सागपातलाई जोड दिनुपर्छ । एकै ठाउँमा बसेर रमाइलो गर्दै तास खेल्नुभन्दा केही समय हिँडडुल गरे खानेकुरा पनि पच्छ । संस्कारको निरन्तरताका लागि महान् चाड विजयादशमी खुसीका साथ मनाउनुपर्छ तर चाडपर्वका नाममा जथाभावी खाएर अस्वस्थ हुनु बुद्धिमानी होइन ।

 

 - डा. वृन्देश्वरी काफ्ले

   शिक्षण अस्पताल

चाडपर्वमा रातो मासु खाने चलन छ । रातो मासु स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । ग्यास्ट्राइटिस, उच्चरक्तचाप, मधुमेह तथा कोलस्ट्रोलका बिरामीले रातो मासु खानुहुँदैन । पर्वका बेला मीठो बनाउन मासुमा विशेषरूपले तेल, मसला, पिरो हालेर पकाइन्छ जुन फाइदाजनक हुँदैन । मासु कम चिल्लो राखेर सादा किसिमले पकाउनु उचित हुन्छ ।  

- डा. सुजीव राजभण्डारी

सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट, सहिद गंगालाल नेसनल हर्ट सेन्टर

दसैंमा एउटै तेलमा पकाएको खाना खानुहुँदैन । धेरैपटक प्रयोग गर्दा ब्रेक डाउन भएर नराम्रो चिल्लोमा परिणत हुन्छ । अण्डा, रातो मासु तथा मिठार्इंको अधिक सेवन गर्नु पनि राम्रो होइन । रक्सी, बियर, वाइन आदि कम खानु वेश हुन्छ । एकदिनमा ह्विस्की ३० देखि ६० मिलिलिटर, वाइन १ सय ५० मिलिलिटर तथा बियर ३ सय मिलिलिटरसम्म सेवन गर्न सकिन्छ । चाडपर्वको समयमा पनि शारीरिक अभ्यास गर्न तथा

- प्रात: भ्रमण गर्न छोड्नुहुँदैन ।

डा. मनीषा मिश्र इन्डोक्राइनोलोजिस्ट, बयोधा हस्पिटल

चाडपर्वको समयमा मधुमेहका बिरामीले मसलादार, चिल्लो, पिरो एवं रातो मासु खाँदा मधुमेहसँगै कोलस्ट्रोल, उच्च रक्तचाप, युरिक एसिडसमेत देखापर्ने भएकाले खानपानमा सचेतता अपनाउनुपर्छ । थाइराइडका कतिपय बिरामीलाई घाँटी दुख्ने समस्या हुनसक्ने भएकाले कोल्ड ड्रिंक्स सेवन गर्नुहुँदैन । चाडपर्वमा गुलियो हालिएका तथा नहालिएका मिठार्इं खाने चलन बढ्दो छ । यस्ता मिठार्इं मधुमेहका बिरामीले धेरै खानुहुँदैन ।

 Image