Successfully Copied

नयाँ तरिकाले मनाऔं दसैं

नेपालीहरूले अन्य चाडपर्वको तुलनामा दसैं विशेष रूपमा मनाउने गरेका छन् । दसैंमा लामो बिदा हुने हुँदा विभिन्न व्यवसाय तथा जागिरका सिलसिलामा घरबाहिर रहेका सबै नेपालीमा सकेसम्म घर पुग्ने चाहना हुन्छ । त्यसैले पनि दसैं सबैका लागि खुसीको चाड रहँदै आएको छ । दसैं

नेपालीहरूले अन्य चाडपर्वको तुलनामा दसैं विशेष रूपमा मनाउने गरेका छन् । दसैंमा लामो बिदा हुने हुँदा विभिन्न व्यवसाय तथा जागिरका सिलसिलामा घरबाहिर रहेका सबै नेपालीमा सकेसम्म घर पुग्ने चाहना हुन्छ । त्यसैले पनि दसैं सबैका लागि खुसीको चाड रहँदै आएको छ । दसैं आफन्तसँग मिलन गराउने पर्व हो । त्यसमाथि पनि दसैंकै बेला गरौंला भनेर धेरैले धेरै थरीका योजना बनाएका हुन्छन् ।

सरस्वती प्रतीक्षा, कवयित्री

पोखराकी कवयित्री सरस्वती प्रतीक्षा भने यो दसैंपछि आख्यानकारका रूपमा बजारमा आउने तयारीमा छिन् । सरस्वती यो दसैं त्यही उपन्यास सम्पादन गरेर बिताउने बताउँछिन् । उपन्यासको सम्पादन सकेर मात्र दसैंको टीकाटालोमा जोडिने योजनामा रहेकी सरस्वती एउटा महत्वपूर्ण काम सकेर दसैं मनाउनुको मज्जा बेग्लै हुने तर्क गर्छिन् । त्यसो त सरस्वती यो दसैंमा पोखरा आसपासका क्षेत्रमा ट्रेकिङ जाने योजना पनि बनाइरहेकी छिन् ।

अञ्जु पन्त, गायिका

गायिका अञ्जु पन्त यो वर्षको दसैंमा मनाङ र मुस्ताङको यात्रा गर्ने योजनामा छिन् । दसैंलगत्तै यूके र हङकङ यात्राको तयारीमा रहेकी अञ्जु दसैंमा भने देशकै सुन्दर ठाउँको भ्रमण गर्ने बताउँछिन् । मनाङ र मुस्ताङसँगै रोल्पा पनि यो वर्ष उनले घुम्ने स्थानको सूचीमा परेका छन् ।

हेमन्त शर्मा, गायक

गायक हेमन्त शर्माले यो दसैंको टीका लगाउने छैनन् । यसै वर्ष काकी गुमाएका हेमन्त जन्मपछि मृत्युको सत्यतालाई बुझेको हुँदा आफू शोकमै डुबेर पुरै दसैं खल्लो बनाउने पक्षमा भने नभएको बताउँछन् । सधैंका वर्षझैं यो वर्ष पनि आफन्तहरूसँगको भेटघाट र रमाइलो त छँदैछ । त्यसका अतिरिक्त उनका लागि यो दसैं विदेश यात्राका हिसाबले पनि महत्वपूर्ण रहनेछ । शर्मा यो दसैंंको छेको पारेर पहिलोपटक एक महिने अमेरिका यात्रामा निस्कदैछन् । विश्वका धेरै देशको यात्रा गरेका हेमन्त यो दसैंको सेरोफेरोमा भने आफ्नी श्रीमती ऋतुलाई लिएर हङकङ जाने योजनामा छन् । पहिलो पटक श्रीमतीसँगै देशबाहिर जान लागेका हेमन्तका लागि यस अर्थमा पनि यो दसैं अलिक विशेष हुनेछ ।

मनोजकुमार केसी, गायक

१९७४ एडीका भोकलिस्ट मनोजकुमार केसी यो दसैंमा आफ्नो सानो छोरालाई भेट्न अमेरिकापुगेका छन् । केही समयअघि हजुरआमासँग अमेरिका गएको दुई वर्षको छोरासँग भेट हुने भएकाले उनका लागि यो दसैं विशेष छ । आफ्नो सन्तानभन्दा विशेष अरू केही नहुने मनोजको अनुभव छ । त्यसो त यो दसैंमा टीका–जमराको रौनकमा भने त्यति रमाउन नपाउने उनी बताउँछन्, जसलाई उनले निकै मिस गर्नेछन् ।

अमर न्यौपाने, आख्यानकार

हरेक चाडपर्व सामान्य रूपमा मनाउने आख्यानकार अमर न्यौपानेले यो वर्षको दसैं बेलायतमा मनाउने छन् । उनको पछिल्लो कृति ‘करोडौं कस्तूरी’ ‘अनेवा पुरस्कार’ द्वारा पुरस्कृत हुँदैछ । अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतले प्रदान गर्ने उक्त पुरस्कार ग्रहणका लागि दसैंको मुखैमा बेलायत पुगेका अमर आफ्नो आधा दसैं उतै बित्ने बताउँछन् । बेलायत यात्रामा केही साहित्यिक भेटघाट तथा कार्यक्रममा उपस्थित भएर रमाउने अमरको योजना छ ।

दीपाश्री निरौला, कलाकार

निर्देशक तथा कलाकार दीपाश्री निरौलाका लागि यो दसैं यसै पनि विशेष छ । उनले निर्देशन गरेको दोस्रो चलचित्र ‘छक्का पञ्जा–२’ यही दसैंको फूलपातीमा रिलिज हुँदैछ । त्यसैले पनि यो वर्षको दीपाको दसैं यही चलचित्रको प्रचार–प्रसारकै क्रममा बित्नेछ । आफूले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ दर्शकको मायाकै कारण अत्यधिक चलेको बताउने दीपाले यो दसैं दर्शकसँगै मनाउने योजना बनाएकी छिन् । हलमा दर्शकसँग टीका लगाउने बताउँदै हरेक हलमा टीकाको थाली लिएर पुग्ने सुरमा छिन् उनी ।

शान्तिप्रिय वन्दना, कवयित्री

हेटौंडाकी कवि शान्तिप्रिय वन्दनालाई सबैभन्दा मनपर्ने चाड नै दसंै हो । अरु बेला कार्य व्यस्तताले मन परेका धेरै पुस्तक पढ्न नपाएकी शान्तिले दसैंमा मन परेका केही पुस्तक पढ्ने योजना बनाएकी छिन् । फूलपातीसम्म घर–माइती गरेर बिताउने शान्ति फूलपातीपछि भने छोरासँग घुम्न जाने योजनामा छिन् । यो दसैंमा तास खेलेर जित्ने योजना पनि छ उनको ।

सनम कठायत, मोडल

मोडल सनम कठायतले कार्यव्यस्तताका कारण विगत केही वर्षयता परिवारसँग दसैं मनाउन पाएका छैनन् । यो दसैंमा भने उनी सबै काम छाडेर जन्मस्थान डोटी जाने तयारीमा छन् । पश्चिमका केही स्थानमा केही म्युजिक भिडियोको छायांकन पनि सनमको यो दसैंको योजनामा छ । स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि डोटी र डोटी आसपासका क्षेत्रमा संचालन गर्ने सनम बताउँछन् ।

एकनारायण भण्डारी, सर्जक

सर्जक एकनारायण भण्डारीलाई भने हरेक दसैं आफ्ना दौंतरीहरूका कारण खल्लो लाग्छ । आफ्ना उमेरका, आफूसँगै पढेका, मन मिल्ने सबै साथी विदेशमा भएका कारण उनलाई गाउँ त्यति रसिलो लाग्दैन । यद्यपि यो दसैंमा उनी गाउँ गएर बाख्रा चराउने सुरमा छन् । साथीभाइसँग तास खेल्ने योजना त छँदैछ, कालीगण्डकीमा पौडी खेली दसैंमा रमाइलो गर्ने पनि उनको कार्यसूचीभित्रै छ ।

नरेश भट्टराई, सञ्चारकर्मी

सञ्चारकर्मी नरेश भट्टराई दसैंलगत्तै आफ्नी श्रीमतीसँग दुबईको भ्रमणमा जाने योजना छन् । यो दसैंदेखि नै नरेश र गायक अनिल सिंह जोडीका रूपमा टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा देखा पर्दैछन् । दसैंमा निर्देशक मिलन चाम्ससँग मिलेर केही रमाइलो तथा नयाँ काम गर्ने योजनामा रहेका नरेशले उक्त काम चाहिँ आफ्ना प्रशंसकका लागि सरप्राइज हुने बताएका छन् । हरेक दसैं भेटघाट र मासुका कारण विशेष लाग्ने बताउँदै नरेश यो दसैंमा पनि धित मरुन्जेल खसीको मासु खाने विचारमा छन् । दसैंलगत्तै विदेशमा स्टेज कार्यक्रम चलाउनुपर्ने भएकाले, फिट देखिन पनि यो सालको दसैंमा खानामा कन्ट्रोल गर्नुपर्ने बाध्यता भएको पनि उनी बताउँछन् ।

 Image