Successfully Copied

मेहन्दीको क्रेज, महत्व तथा सावधानी

समय परिवर्तनशील छ र यो प्रगतितर्फ उन्मुख पनि छ । समयसँगै सुन्दरताको माग पनि वृद्धि तथा पृथक् हुँदैछ । कुनै समयमा सीमित समुदायले मात्र मेहन्दी लगाउने चलन थियो भने अहिले महिलाहरूको महान् चाड तीजलगायत, साउन महिना, विवाह वा अन्य समारोहहरूमा मेहन्दीलाई विशेष शुभ

                                         - जुनु चक्रधर, जुम ब्युटिपार्लर, कुपण्डोल

समय परिवर्तनशील छ र यो प्रगतितर्फ उन्मुख पनि छ । समयसँगै सुन्दरताको माग पनि वृद्धि तथा पृथक् हुँदैछ । कुनै समयमा सीमित समुदायले मात्र मेहन्दी लगाउने चलन थियो भने अहिले महिलाहरूको महान् चाड तीजलगायत, साउन महिना, विवाह वा अन्य समारोहहरूमा मेहन्दीलाई विशेष शुभ प्रतीकका रूपमा लगाइन्छ । हिजोआज किशोरीहरूको मात्र होइन सम्पूर्ण महिला दिदीबहिनीहरूको आकर्षण मेहन्दीतर्फ छ । साउन महिनाभरि हरियो तथा रातो पहिरनका साथमा मेहन्दी लगाइने भएकाले साउन महिनालाई ग्रिन मन्थ वा मेहन्दीको महिना पनि भनिन्छ । तीज नजिकिँदै छ, तीजको अवसरमा विशेष शृंगार गर्ने योजना छ भने मेहन्दीले त्यसमा ठूलो सहयोग गर्छ ।

हिजोआज महिलाहरू सौन्दर्यका सम्बन्धमा निकै सजग भैरहेका छन् । आजको युवापुस्ता पर्फेक्ट वर्क चाहन्छ ‘कम्प्रोमाइज’ गर्न जान्दैन । इन्टरनेट तथा ग्याजेटहरू मेहन्दी डिजाइनमा विशेष सहायक बन्दै गएका छन् । कुनै समय थियो मेहन्दीले हात भरेपछि महिलाहरू सन्तुष्ट हुन्थे, मेहन्दीको डिजाइनका सम्बन्धमा त्यति चासो दिइँदैनथ्यो । अहिले समय धेरै अघि बढिसकेको छ तसर्थ तीजमा विशेष मेहन्दी लगाउने सोच पूरा गर्न इन्टरनेटबाट विभिन्न पेज वा साइटबाट आफूलाई मन पर्ने कलात्मक डिजाइन डाउनलोड गरी मोबाइलमा सेभ गरी अनुभवी मेहन्दी डिजाइनरबाट त्यसैअनुरूप मेहन्दी लगाउन सकिन्छ । मेहन्दी लगाएपछि डिजाइन मन नपरे पनि मेहन्दी नगएसम्म त्यसमा थप मेहन्दी लगाउनुहुँदैन ।

मेहन्दी डिजाइन

प्याटर्नअनुसार मेहन्दीलाई विभिन्न क्याटोगोरीमा विभाजन गरिएको छ जस्तै रिसर्व, कोहिनुर, मारवाडी, राजस्थानी आदि कलात्मक इन्डियन डिजाइनमा हुन् । यी सबै भारतीय प्याटर्नका भए पनि एडजस्ट गर्ने तरिकाअनुसार यसलाई विभिन्न नाममा विभाजन गरिएको हो । यसको प्याटर्न फरक तथा सफा हुन्छ । यी सबै प्याटर्नलाई ‘एडजस्ट’ गर्ने विशेष सूत्र हुन्छ । सूत्रबद्ध तरिकाले प्याटर्न मिलाएर बनाइने हुनाले अरेबिक मेहन्दी कलात्मक, सुन्दर तथा सफा देखिन्छ । मेटालिक, फेब्रिक तथा गोल्डेन मेहन्दी फेन्सी डिजाइनका मेहन्दी हुन् । ग्लिटर टार, ब्लाक, ब्राउन मेहन्दी आदि टेम्पररी मेहन्दी हुन् । तीजमा मेहन्दी लगाउनुअघि प्याटर्नसम्बन्धी जानकारी लिने, त्यसपछि डिजाइन छनोट गर्ने र अन्त्यमा मेहन्दी लगाउने हो भने पूर्ण सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

सावधानी

मेहन्दी एउटा नेचुरल हर्व हो जुन निकै गुणकारी हुन्छ । मेहन्दीको कोण बनाउँदा मिसावट नगरी मेहन्दीको पातलाई सुकाएर, पाउडर बनाइएको धूलोलाई पूरै रात वा कम्तीमा ६ घन्टा भिजाउनुपर्छ । यो पेस्टलाई मसिनो जालीमा छानेर मेहन्दीको तेलसँग मिसाउनुपर्छ । तयारी पेस्टलाई कोनमा भरेर मेहन्दी लगाउन सकिन्छ । यसरी बनाइएको मेहन्दी दुई दिनमात्र चलाउनुपर्छ । पुरानो भयो भने कलर गाढा आउँदैन । मिसावटरहित मेहन्दीको कलर बिस्तारै आउनुका साथै यो गाढा कलेजी रंगको हुन्छ । यो मेहन्दी उप्केर नराम्रो एवं कालो देखिने समस्या हुँदैन ।

बजारमा विभिन्न ब्रान्डका मेहन्दीका कोन उपलब्ध छन् । रंग गाढा बनाउने विभिन्न केमिकल मिश्रित मेहन्दी पनि बजारमा उपलब्ध छन् । त्यस्ता मेहन्दी लगाएको एकछिनमै कलर लाग्नुका साथै कालो गाढा रंग बस्छ । यस्तो मेहन्दीले छाला पोल्ने, एलर्जी हुने, विभिन्न रियाक्सन हुने समस्या देखापर्नसक्छ । त्यसैले सकेसम्म बजारको मेहन्दी भन्दा आफैले बनाएको मेहन्दी लगाउनु उपयुक्त हुन्छ । बजारको मेहन्दी लगाउनु छ भने नेचुरल अर्थात् मिश्रणरहित मेहन्दी छनोट गर्ने । गाढा रंग बसाउने चक्करमा मिसावट भएको मेहन्दी लगाउनु हुँदैन । सोही दिन वाक्स गरिएको छ भने बजारको मेहन्दी लगाउनुहुँदैन ।

 Image