Successfully Copied

साउन महिनामा महादेवको दर्शन

साउन महिनालाई देवाधिदेव महादेवको प्रिय महिना मानिन्छ तसर्थ हिन्दू धर्मावलम्बीहरूले साउन महिनाभर संयमित आहारविहार गरी महादेवलाई खुसी राख्ने प्रयास गर्छन् । महादेवलाई खुसी पार्नाले मनोवाञ्छित सफलता प्राप्त हुने जनविश्वास छ ।

साउन महिनालाई देवाधिदेव महादेवको प्रिय महिना मानिन्छ तसर्थ हिन्दू धर्मावलम्बीहरूले साउन महिनाभर संयमित आहारविहार गरी महादेवलाई खुसी राख्ने प्रयास गर्छन् । महादेवलाई खुसी पार्नाले मनोवाञ्छित सफलता प्राप्त हुने जनविश्वास छ । भगवान् महादेव वा शंकरलाई आशुतोष, शिवजी, भोलेनाथ, भूतेश्वर, महाकाल, सोमेश्वर, महेश आदि नामले चिनिन्छ । सबैभन्दा पहिले शिवजीलाई नाम दिने ब्रह्मा हुन् भन्ने मान्यता छ । त्यतिबेला उनले शिवलाई रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान एवं महादेव गरी ८ नामले सम्बोधन गरेका थिए । वेद–पुराणहरूमा शिवलाई कल्याणणकारी ईश्वरको स्थान दिइएको छ । आइन्स्टाइनभन्दा अघि शिवले नै भनेका थिए–कल्पना ज्ञानभन्दा बढी महत्वपूर्ण कुरा हो । हामी जस्तो कल्पना र विचार गर्छौं आफू पनि त्यस्तै हुन्छौं ।

शिवले यही आधारमा ध्यानका थुप्रै विधि विकास गरेका थिए । यो धर्तीमा सर्वप्रथम शिवले नै जीवनको प्रचार–प्रसार गरेका हुनाले उनलाई आदिदेव, आदिनाथ वा आदीश पनि भनिन्छ । शिवको प्रमुख अस्त्र त्रिशूल हो जसले आध्यात्मिक, आधिदैविक एवं आधिभौतिकजस्ता तीन प्रकारका दु:खको विनाश गर्छ । यसमा सत्व, रज र तम अर्थात् इलेक्ट्रोन, प्रोटोन र न्यूट्रनजस्ता तीन शक्ति भएको विश्वास गरिन्छ । शिवलाई आदिगुरु एवं योगका प्रवर्तक मानिन्छ । शिवका प्रमुख शिक्षा सूत्रात्मक रूपमा विज्ञान भैरव तन्त्र नामक ग्रन्थमा पाइन्छ । यसबाहेक उनको शिव संहिता नामक महत्वपूर्ण ग्रन्थ पनि छ भने तन्त्रका अनेकौं ग्रन्थमा उनको शिक्षा विस्तार भएको छ । शिव वा महादेवको आराधना ज्योतिर्लिङ्गका रूपमा गरिन्छ । नेपाललाई शक्तिभूमि भनिन्छ र नेपालका हरेक शक्तिपीठमा शक्तिसँगै शिवको पनि पूजा हुन्छ । शक्ति सदैव शिवसँगै रहने भएकाले शिवपूजाबिना शक्तिपूजा पूर्ण हुँदैन । त्यसैले नेपालमा असंख्य शिवमन्दिर छन् । ती हरेक मन्दिरका छुट्टाछुट्टै विशेषता छन् र हरेक मन्दिरसँग रोचक किंवदन्तीहरू पनि गाँसिएका छन् । नेपालमा

भएका महादेवका अनेकौं मन्दिरमध्ये केही मन्दिर :

पशुपतिनाथ मन्दिर

पशुपतिनाथ नेपालका आराध्यदेव हुन् । पशुपतिनाथ नेपाल मात्र नभै विश्वभरका हिन्दूहरूबाट उत्तिकै श्रद्धा एवं आस्थाका साथ पुजिन्छन् । साउन महिनाभर विशेष गरी साउने सोमबारका दिन  यहाँ श्रद्धालुहरूको ठूलो भीड लाग्छ । यहाँ बर्सेनि विश्वभरका लाखौं श्रद्धालु आउँछन् । पशुपतिनाथ मन्दिर क्षेत्र युनेस्कोको विश्वसम्पदा सूचीमा पनि सूचीकृत छ । साउने सोमबारका साथै बाला चतुर्दशी, शिवरात्रि, तीजजस्ता पर्वमा श्रद्धालुहरू ओइरने यो मन्दिरमा शिवजीको बार मानिने हरेक सोमबारका दिन बढी घुइँचो हुन्छ । काठमाडौंको चाबहिल–गौशालाबाट नजिक बाग्मती नदी किनारमा अवस्थित यो मन्दिर पुग्ने अनेकौं मार्ग छन् । यो मन्दिरसँग अनेकौं किंवदन्ती पनि जोडिएका छन् । यहाँको पञ्चमुखी शिवलिङ्ग विश्वमै दुर्लभ मानिन्छ । द्वादश ज्योतिर्लिङ्गमध्ये एक यो मन्दिर भारतका प्रसिद्ध मन्दिर सोमनाथ एवं विश्वनाथजत्तिकै विश्वचर्चित छ । दक्षिण भारतीय भट्टहरू मूलपुजारीका रूपमा रहने यो मन्दिरमा दैनिक शास्त्रोक्त विधिले पूजा एवं रुद्राभिषेक हुन्छ । पशुपतिनाथलाई प्रत्येक हिन्दूले जीवनमा एकपटक दर्शन गर्नैपर्ने मन्दिर मानिन्छ । साउन महिनामा बोलबम यात्रीहरूले सुन्दरीजलबाट बाग्मतीको जल बोकेर यहाँ ल्याई चढाउने चलन केही वर्षयता निकै फस्टाएको छ ।

डोलेश्वर महादेव मन्दिर

डोलेश्र महादेव मन्दिरलाई भारतको प्रसिद्ध मन्दिर केदारनाथको शिर मानिन्छ । महाभारतको कथासँग जोडिएको किंवदन्तीलाई आधार मानेर हेर्दा करिब चार हजार वर्षअघिदेखि हिन्दूहरूले केदारनाथको शिर कहाँ छ भनेर खोजी गरिरहेका थिए । केही वर्षअघि मात्र केदारनाथको शिर भक्तपुरको सिपाडोल गाविसस्थित डोलेश्वर महादेव भएको कुरा विभिन्न प्रमाणका आधारमा पुष्टि भयो । त्यो कुरा पुष्टि नहुँदा पनि प्रसिद्ध नै रहेको डोलेश्वर महादेवको मन्दिरले त्यसपछि अन्तर्राष्ट्रिय स्तरमै विशेष चर्चा पायो ।

आशापुरी महादेव

भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा साउन महिनामा भक्तहरू ओइरिन्छन् । साउन महिनामा यहाँ एक महिने मेला नै लाग्छ । आशापुरी महादेव मन्दिरमा साउन महिनाभरि पूजा पाठ गर्ने, रुद्री होम गर्ने तथा व्रत बस्ने भक्तजनको भीड लाग्ने गरेको छ । आशापुरी महादेवले मानिसका जुनसुकै आशा पूरा गर्ने विश्वास गरिन्छ ।

गोकर्णेश्वर महादेव मन्दिर

बाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम एवं गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान् गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि प्रसिद्ध एवं महत्वपूर्ण गन्तव्य हो । गोकर्णेश्वर मन्दिर सत्य युगदेखि नै एक महत्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ । शक्तिसङ्गमतन्त्र एवं वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको माहात्म्यको वर्णन गरिएकाले गोकर्ण प्राचीन तीर्थ भएको पुष्टि हुन्छ । गोकर्णेश्वर महादेवको प्रस्तर कालो प्राकृतिक प्रस्तर हो र यसबाट पनि यो प्रागऐतिहासिक कालको हो भन्न सकिन्छ । स्वस्थानी व्रतकथामा समेत वर्णित गोकर्णेश्वर महादेव निकै प्रसिद्ध छ । हरेक दिनजसो भक्तजन खाली नहुने यो मन्दिरमा विशेष अवसरहरूमा दर्शनार्थीको भीड हुन्छ । यो मन्दिरसँगैको विष्णुपादुकामा गोकर्णे औंसीका दिन श्राद्ध गर्नेहरूको ओइरो लाग्छ । साउन महिनामा दर्शनार्थीहरू यहाँ जल चढाउन आउँछन् ।

कुम्भेश्वर महादेव मन्दिर

पाटनस्थित कुम्भेश्वर मन्दिर उपत्यकाको प्राचीन एवं प्रसिद्ध मन्दिर हो । जनैपूर्णिमाका दिन यहाँ गोसाइँकुण्डको पानी आउने जनविश्वास छ । यो मन्दिरमा साउन महिनामा जल चढाउने र शिवजीको आराधना गर्ने भक्तहरू ओइरिन्छन् ।

यसबाहेक काठमाडौं उपत्यकामा सन्तानेश्वर, कोटेश्वर, वरुणेश्वर, किराँतेश्वर, त्रिपुरेश्वर, कुलेश्वर, दत्तात्रेय, यक्षेश्वर, ज्ञानेश्वर, तारकेश्वर, भस्मेश्वर, भृंगारेश्वर, ६४ लिंगेश्वर, कागेश्वरी महादेव आदि अनेकौं प्रसिद्ध महादेव मन्दिर छन् जहाँ साउन महिनाभरि भक्तजनको ठेलमठेल चल्छ ।

उपत्यकाबाहिरका महादेव :

हलेसी महादेव, खोटाङ

नेपालका प्राचीन एवं पवित्र तीर्थस्थलमध्ये हलेसी महादेव पनि एक हो जसलाई पूर्वको पशुपतिसमेत भनिन्छ । यो मन्दिर खोटाङ जिल्लामा दूधकोशी र सुनकोशी नदीको बीचमा पर्छ । पहाडी भेगमा पर्ने यो मन्दिर प्राकृतिक गुफाभित्र छ । यो मन्दिर करिब ६ हजार वर्ष पुरानो भएको विश्वास गरिन्छ । हलेसी महादेवप्रति हिन्दू एवं बौद्ध धर्मावलम्बीहरूको उत्तिकै विश्वास एवं आस्था छ । यो स्थान प्राकृतिक रहस्यले भरिपूर्ण छ । यहाँ तीनवटा रहस्यमय गुफा छन् जसलाई शिवका तीन नेत्र मानिन्छ । यहाँ सर्वप्रथम सत्ययुगमा भगवान् विष्णुले तथा द्वापर युगमा बलराम आएर शिवजीको आराधना गरेको बताइन्छ । सदैव भक्तजनको घुइँचो रहने यो मन्दिरमा विशेष गरी साउन महिना, तीज, बालाचतुर्दशी, शिवरात्रि एवं रामनवमीमा भीड लाग्छ । हलेसी महादेव प्राकृतिक सौन्दर्य रसपान गर्दै पुण्य प्राप्तिको कामना गर्नेहरूका लागि अद्वितीय स्थान हो ।

जलेश्वर महादेव, महोत्तरी

महोत्तरी जिल्लाको जलेश्वरस्थित जलेश्वर महादेवकै नामबाट यो स्थानको नाम जलेश्वर रहन गएको हो । जलभित्र रहेका यी महादेवको दर्शन गर्नाले हरेक मनोकांक्षा पूरा हुने जनविश्वास छ । महादेवको पूजा हुने शिवरात्रि, तीज, साउने सोमबारजस्ता विशेष दिनहरूमा यहाँ भक्तजनको ठूलो घुइँचो हुन्छ । चर्चित स्थान भएकाले त्यहाँ पुग्न पनि निकै सजिलो छ ।

गोसाइँकुण्ड, रसुवा

रसुवा जिल्लामा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड हिन्दू, बौद्ध एवं बोन्पो धर्मावलम्बीहरूको आस्था एवं श्रद्धाको केन्द्र हो । गोसाइँकुण्डभित्र नीलकण्ठ महादेवको निवास भएको जनविश्वास छ । यहाँका महादेवसँग पौराणिक कालको समुद्र मन्थनको प्रसङ्ग जोडिएको छ । त्यस्तै अर्को प्रसङ्गमा गोसाइँकुण्डको उत्पत्ति सतीदेवीको मृत्युसँग जोडिएको छ । समुद्री सतहभन्दा ४ हजार ३ सय ५० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड सबै मौसममा जान सकिँदैन । गोसाइँकुण्डमा जनैपूर्णिमा एवं दशहरामा विशेष मेला लाग्छ । साउन महिनामा गरिने श्रावणी स्नानका लागि प्रसिद्ध गोसाइँकुण्ड त्रिशूली नदीको उद्गमस्थल हो । शिवले त्रिशूल गाड्दा निस्किएको पानी भएकै कारण उक्त नदीको नाम त्रिशूली राखिएको बताइन्छ ।

दुप्चेश्वर महादेव, नुवाकोट

दुप्चेश्वर महादेव नुवाकोट जिल्लाको सदरमुकाम विदुरबाट पूर्वतर्फ करिब २५ किलोमिटरको दूरीमा राउतवेसी गाविसमा अवस्थित छ । भक्तजनको जुनसुकै शुभ मनोकांक्षा पूरा गरिदिने महादेवका रूपमा परिचित दुप्चेश्वर महादेवस्थानमा धान्यपूर्णिमा, तीज, शिवरात्रि, बालाचतुर्दशीजस्ता पर्वहरूमा निकै ठूलो भीड लाग्छ । तादी नामले चिनिने सूर्यमती नदीको किनारमा प्राकृतिक रूपमा निर्मित यो महादेव मन्दिर पहराको बीचमा अवस्थित छ । यो मन्दिरसम्बन्धी अनेकौं किंवदन्ती एवं प्रसङ्ग चर्चित छन् । कुशेश्वर

महादेव, दुम्जा

कुशेश्वर महादेव सिन्धुली जिल्लास्थित निकै प्रसिद्ध मन्दिर हो । केही पौराणिक ग्रन्थहरूमा ब्रह्माले यहीँबाट संसार सृष्टि गरेको कुरा उल्लेख छ तसर्थ यसलाई आदिलिङ्ग कुशेश्वर महादेव भनिन्छ । कुशेश्वर महादेवका विषयमा हिमवत्खण्डमा विस्तृत व्याख्या पाइन्छ । हिमवत्खण्डमा वर्णित आधारअनुसार कुशेश्वर महादेव क्षेत्रलाई एउटा महान् तीर्थस्थल धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक धरोहरका रूपमा लिन सकिन्छ । भोटेकोशी, इन्द्रावती, सुनकोशी, चौंरीखोलालगायत असंख्य हिमाली–पहाडी खोला, छाँगा–छहरा समेटेर पूर्व बगेकी पवित्र सुवर्णकौशिकी अर्थात् सुनकोशीमा मिसिन पुगेकी रोशीखोला लीलावती रोहमतीको दोभानमा पवित्र कुशेश्वर मन्दिर अवस्थित छ । हिमवत्खण्डअनुसार दुम्जा बेसीस्थित सुनकोशी र रोसीको सङ्गमलाई दुर्गातीर्थ भनिन्छ । आदिलिङ्ग कुशेश्वरनाथको पूजा, दर्शन, हवन गरे वा पितृहरूको श्राद्ध गरे २१ पुस्तादेखिको सबै पापबाट मुक्त भइन्छ भन्ने कुरा हिमवत्खण्डमा उल्लेख छ । महादेव मन्दिरनजिकै विश्वामित्र गुफा छ जहाँ प्राचीन समयमा विश्वामित्र ऋषिले तपस्या गरेको विश्वास गरिन्छ । नेपाल सम्वत् ८९१ मा भक्तपुरे राजा जगज्जय मल्लले कुशेश्वरनाथप्रतिकै भक्तिभावका कारण राजसिंहासन पाएको कथन पनि छ । यो महादेव मन्दिरमा बार्‍है महिना भक्तजनको घुइँचो रहन्छ ।

पिण्डेश्वर मन्दिर, धरान

धरानको विजयपुरमा अवस्थित छ पिण्डेश्वर मन्दिर । देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यही स्थानमा ल्याएर शिवलिङ्गका रूपमा स्थापना गरिएको कथा पुराण एवं धर्मशास्त्रहरूमा पढ्न पाइन्छ । यो मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान् शिवको अर्चना गरिन्छ । यो मन्दिरमा श्रावण महिनाभरि चतराको कोशी नदीबाट जल ल्याई चढाउन देशविदेशका लाखौं भक्तको भीड लाग्छ । पिण्डेश्वर बाबाको चर्चा गर्ने प्रमुख ग्रन्थ स्कन्दपुराणको हिमवत्खण्डअन्तर्गत पर्ने रुद्राक्षारण्य माहात्म्य हो । यसमा पिण्डेश्वरलाई रुद्राक्षको वनका रूपमा रुद्राक्षारण्य भनिएको उल्लेख छ । पिण्डेश्वरको ख्याति मध्यकालदेखि नै बढेको पाइन्छ ।

यहाँ मध्यकालदेखिका कलाकृतिका नमुनासमेत उपलब्ध छन् । पिण्डेश्वरको उत्पत्तिका सम्बन्धमा रुद्राक्षारण्य माहात्म्यमा वर्णन भएअनुसार समुद्र मन्थनबाट प्राप्त विभिन्न प्रकारका वस्तुहरूमध्ये अमृतलाई भने छानेर त्यसका छोक्रा यही भागमा फालिए । तिनै छोक्राबाट देवताहरूले पिण्ड बनाए । उक्त पिण्डको आकार बढेर संसार ढाकिने डर भयो । देवताहरुले स्तुति गरेपछि महादेव आफंै पिण्डमा आएर बसिदिए । यसरी पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको हो । यहाँ साउन महिनाका अतिरिक्त बालाचतुर्दशी, शिवरात्रि तथा तीजमा विशेष मेला लाग्छन् । साउनको सोमवार पिण्डेश्वर मन्दिरमा भक्तजनको थामिनसक्नु घुइँचो हुन्छ । पिण्डेश्वर बाबाधाम समितिले बोलबम मेला नै लगाउँछ । भक्तजन आइतबार प्राचीन हरिद्वार (चतरा धाम) जान्छन् । त्यहाँबाट कोशीको पवित्र जल बोकेर खाली खुट्टा पैदल यात्रा गरी राती बाह्र बजेपछि धरान आउँछन् र पिण्डेश्वरमा चढाउँछन् ।

वक्रकुण्ड महादेव, धनकुटा

धनकुटाको हिले बजारस्थित उत्तरपानी प्रस्थान गर्ने खेलमैदान नजिकै झ्यालढुंगामा अवस्थित वक्रकुण्ड पञ्चेश्वर महादेवको महत्व धार्मिक एवं पर्यटकीय दृष्टिकोणले निकै उच्च छ । उक्त स्थानमा रहेका ढुंगाहरूमा गाईका दाँत, गाईका खुट्टाको छाप, सर्पको आकार, विष्णुलगायत एक सयभन्दा बढी आकृति फेला पार्न सकिन्छ । त्यहाँ ढुंगामा भएका आकृतिका आधारमा विभिन्न प्रकारका देवी–देवता एवं धार्मिक क्षेत्रको नामकरण गरिएको पाइन्छ ।

यसबाहेक नेपालमा गौखुरेश्वर महादेव धुलिखेल, धनेश्वर महादेव पनौती, ब्रम्ब्रुही महादेव धादिङ, ऋषेश्वर महादेव दामन आदि अनेकौं चर्चित शिव मन्दिर छन् । ती सबैमा भक्तजन आफ्नो श्रद्धा अर्पण गरी पुण्य आर्जन गर्ने अभिलाषाका साथ पुग्छन् ।

 Image