Successfully Copied

बजारमा सोर्‍ह शृंगार

अहिले नेपाली समाजमा चाडपर्व भित्रिसकेका छन् । किनमेलको घुइँचो बढ्दैछ बजारमा । यो बेला नै हो राम्रा पहिरन, गरगहना, घरायसी सामग्री लगायत आवश्यकताका अन्य चिजको बढी खरिदबिक्री हुने । वर्षायाम नै भए पनि यो समय बजारमा क्रेताहरूको चहलपहल देखिन्छ ।

अहिले नेपाली समाजमा चाडपर्व भित्रिसकेका छन् । किनमेलको घुइँचो बढ्दैछ बजारमा । यो बेला नै हो राम्रा पहिरन, गरगहना, घरायसी सामग्री लगायत आवश्यकताका अन्य चिजको बढी खरिदबिक्री हुने । वर्षायाम नै भए पनि यो समय बजारमा क्रेताहरूको चहलपहल देखिन्छ । विशेषत:श्रावण महिनामा लत्ताकपडा, एक्सेसरिज, चुरापोते एवं गरगहना खरिद गर्नेहरूको चाप हुन्छ ।

पहिरन

अघिल्ला वर्षझैं यो वर्ष पनि पहिरनमा मुख्यत: साडी, लेहेंगा र कुर्ता नै फेसनमा छन् । यी सदाबहार परिधान कहिल्यै आउटडेटेड नहुने मृगतृष्णा फेसन हाउसकी डिजाइनर तृष्णा गुरुङ बताउँछिन् । फेब्रिक, डिजाइन एवं प्याट्रन परिवर्तन भए पनि साडी, लेहेंगा तथा कुर्ता कहिल्यै आउट अफ फेसन नहुने गुरुङको धारणा छ । यो वर्ष साटन, सिल्क तथा नेटका पहिरनको माग छ । हल्का हुने, सहजै डिजाइन सृजना गर्न सकिने तथा लगाउन सजिलो हुने भएकाले यी फेब्रिक बढी रुचाइएको गुरुङले बताइन् ।

टिपाज क्रियसनका प्रेम देव भन्छन्–श्रावण महिनामा बढी भरिएका, कडाइ गरिएका वा विभिन्न स्टोन जडित पहिरनभन्दा पनि हल्का इम्ब्रोइडरी गरिएका हेर्दा एलिगेन्ट्स लुक्स दिने साडी–लेहेंगा नै बढी रुचाइन्छन् । रंगमा भने अहिले युवतीहरूले लाइट ग्रिन तथा प्रौढ महिलाले डार्क ग्रिन बढी माग गरेको पाइन्छ । कमैले मात्र पहेंलो वा रातो मिसिएका पहिरन बनाउँछन् । जस्तो डिजाइन र फेब्रिक भए पनि ग्रिन फ्लेवर दिन कसैले छुटाउँदैनन् ।

चुरापोते

हिन्दू महिलाहरू श्रावण महिनालाई सौभाग्यको महिनाका रूपमा लिन्छन् । विशेषत: महिलाहरू यो महिनाको सोमबार उपवास बस्छन् । यति बेला उनीहरू सोह्र शृंगारमा सजिएर मन्दिर पुग्छन् । चुरापोते, टीका–धागो एवं सौन्दर्यका अन्य प्रसाधनमा उनीहरू निक्कै खुलेका देखिन्छन् ।

इन्द्रचोकको चुरा बजार यतिबेला नयां शैली र आकार–प्रकारका चुरापोतेले भरिभराउ छन् । चेक रिपब्लिकका पोते विशेष हुने भएकाले नेपालमा पनि त्यहीँबाट आयातीत पोते खोजिन्छ । व्यवसायी नौसवा मन्सुर भन्छन्–अहिले पुन: तिलहरी तर मोटो आकारको फेसनमा आएकाले यसैलाई सुहाउँदो पोते खोज्नेहरूको भीड बढ्दो छ । मुख्यत: रातो तथा कलेजी रंगका पोतेका मोटा झुप्पा बढी बिकिरहेको उनको अनुभव छ । सदावहार मानिने छड्के तिलहरीमा राखिने राता–हरिया पोते पनि निकै खोजिन्छन् । मन्सुर भन्छन्–हिजोआज सुनभन्दा पनि फेन्सी गहना बढी प्रचलित भएकाले सुनकै झैं देखिने पोतेको नौगेडी, चन्द्रमा, शिरफुल तथा तिहलरी खोज्नेहरू पनि उत्तिकै हुन्छन् ।

हिजोआज काँचको तुलनामा मेटलका चुरा बढी चलेका छन् । हेर्दा आकर्षक र नफुट्ने अनि लगाउंदा हल्का र कम जोखिम हुने हुँदा यस्ता चुरा सबैको रोजाइमा परेका हुन् । यस्ता चुरा मोटा र मसिना दुवै आकारमा उपलब्ध छन् । मोटा चुरामा स्टोन, जडी, पट्टी सबै राखिएको हुन्छ भने मसिनामा कलरिङ गरी हल्का भरिएको हुन्छ । सोह्र शृंगार असनकी नमिता मानन्धर भन्छिन्–महिलाहरू पहिरनसँग मिल्दोजुल्दो रंग तथा डिजाइनका चुरा खरिद गर्छन् । कति त चुरा खरिद गर्दा लुगै बोकेर आउँछन् । श्रावणमा भने हरियो तथा राता–पहेंला नै बढी बिक्छन् । अविवाहित युवतीहरूले पनि श्रावण महिनाभर हरियो चुरा लगाउने भएकाले यसको माग उच्च छ ।

गहना

सौभाग्य दर्शाउने गहना देवीदेवताका पालादेखि नै शुभ, समृद्धि एवं वैभवको प्रतीक मानिँदै आएका छन् । पछिल्लो समयमा प्लेटेड तथा फेन्सी एक्सेसरिज प्रचलनमा आए पनि सुन–चांदी एवं हीराको महत्व कम भएको छैन । हेर्दा जति नै सुन्दर र आकर्षक भए पनि अन्य धातुका गहनालाई सुन जत्तिको शुद्ध मान्न सकिदैन तसर्थ यसको आफ्नै महत्व एवं विशेष स्थान छ । अघिल्लो वर्ष फेसनमा रहेको जन्तर र त्यसभन्दा अघि अत्यधिक रुचाइएको चन्द्रमालाई करिब–करिब विस्थापित गर्ने गरी पुन: एकपटक तिलहरी फेसनको शिखरमा छ । उहिले जस्तो सानो–मसिनो होइन कि मोटो आकारमा ठूलो झुप्पा पोते राखेर तिलहरी लगाउने चलन यो वर्ष व्यापक रहेको शिवशक्ति ज्वेलर्सकी निलिमा पाठक बताउँछिन् । अहिले छड्के तिलहरी, चन्द्रमा, जन्तर तथा चुराभन्दा पनि कंगन र मोटो तिलहरी नै बढी बिक्री भैरहेको छ । त्यसका अतिरिक्त परम्परागत नेवारी गहना तायो, हंसुली, कडा पनि क्रमश: फेशनमा आउँदै छन् । यो वर्ष सोह्र शृंगारकै लागि भनेर तिलहरी किन्नेहरू बढिरहेका छन् ।

एसेसरिज

एसेसरिज अर्थात् म्याचिङ फेन्सी गहना पनि कम चलेका छैनन् । त्यसका साथसाथै पहिरन सुहाउँदा जुत्ता–ब्याग, घडी एवं चस्माले पर्सनालिटी उँचो देखाउने हुँदा आजका प्रोफेसनल लगायत व्यवसायी हुन् वा कलेज जाने युवायुवती सबै यसप्रति सचेत हुन थालेका छन् । श्रावण महिनामा जुत्ता–ब्याग प्राय: रातो वा हरियो नै खरिद गरिने द रनवे फेशनकी बसुना कार्कीले बताइन् । श्रावणकै लागि भनेर हरियो ब्याग, क्लच, जुत्ता आदि खोज्न आउँछन् । कार्कीले भनिन्–बरु राता–पहेंला त्यत्ति खोज्दैनन् हरियो मिसिएको भने हुनैपर्छ । यो बेला स्लिपरदेखि लिएर हाई हिल र पेन्सिल हिलसम्म पनि फिक्का तथा गाढा हरियो रंगमा बढी बिक्री हुन्छ । प्रौढ महिलाहरू भने सजिला जुत्ता तथा सबैकुरा अटाउने ठूला आकारका ब्याग रुचाउँछन् ।

मेकअप तथा हेयर

वर्षात्को मौसम भएकाले परमानेन्ट मेकअप नै बढी गरिने र यही नै उपयुक्त हुने शान्ताज हर्बलकी वरिष्ठ सौन्दर्यविद् शान्ता थापा बताउँछिन् । साउनमा वाटरप्रुफ मेकअपको बढी माग हुन्छ । मेकअप शतप्रतिशत रूपमा वाटरपु्रफ भएन भने पनि निश्चित सौन्दर्य प्रसाधन वाटरपु्रफ प्रयोग गरिन्छ । जस्तो कि वाटपु्रफ मस्कारा, लिपस्टिक, फाउण्डेसनद्वारा फिनिसिङ गर्दा पसिनाले बगाउने, पानीले भिजाउने आदि समस्याबाट मुक्ति पाइन्छ । शान्ता भन्छिन्– श्रावणमा व्रत बस्दा सिमर मेकअप बढी सुहाउँदो र उपयुक्त हुन्छ । जसमा कलर कस्मेटिक्सको प्रयोग बढी गरिन्छ भने लिपस्टिकदेखि टीकासम्म रातै लगाइन्छ । गाजल भने गाढा लगाउनुपर्छ अनि मात्र मेकअप खुल्छ जसमा हाई भोल्युम मस्काराले सुनमा सुगन्ध थप्ने काम गर्छ ।

हेयर स्टायलले व्यक्तित्वलाई ओजिलो बनाउँछ तसर्थ केशलाई सदैव सफा राख्नुपर्छ । यस्ता अकेजनल समयमा हेयरको केयर र डिजाइनमा बढी ध्यान दिनुपर्ने हेयर एक्सपर्ट जावेद हबिब बताउँछन् । यस्ता उल्लासमय पर्वहरूमा व्यक्तित्व, अनुहारको आकार–प्रकार तथा पहिरनअनुरूप हेयर डिजाइन गर्नु जरुरी हुन्छ । हबिब भन्छन्–यस्ता अवसरमा चल्ने भनेका ब्याकसाइडेड जुरो अनि अगाडि हल्का पफ उठाइएका डिजाइन नै हुन् । कतिपयले कर्ली हेयर पनि मन पराउँछन् भने धेरैले माथिल्लो पार्ट्स स्ट्ेरट अनि तल्लो भाग कर्ली गरिएको हेयर डिजाइनमा सुन्दर एवं सहज महसुस गर्छन् । यस्ता डिजाइन साडी, लेहेंगा, कुर्ता आदि जुनसुकै परिहनमा सुहाउँछ ।

मेहेन्दी र नेलआर्ट

महिलाहरू शृंगारका पारखी हुन् भन्ने कुरामा दुईमत छैन । उनीहरू पहिरन, आवश्यक एक्सेसरिज, मेकअप, गरगहनाका साथै चुरापोते धागो इत्यादिले सजिसजाउ भएर पनि हातमा मेहेन्दी लगाइएको छैन भने शृंगार अधुरो–अपुरो भएको महसुस गर्छन् । तसर्थ मेहेन्दीको महिनाका रूपमा चिनिने साउनमा मेहेन्दी नलगाउने कमै होलान् । न्यु मुम्बई मेहेन्दीका मेहेन्दी आर्टिस्ट ओमप्रकाश शर्मा भन्छन्– मेहेन्दी शुभ प्रतीक हो । यसले सुन्दर देखाउने मात्र नभै स्वास्थ्य एवं शुभ फल प्रदान गर्छ । साउन महिनामा बालिकादेखि करिब–करिब वृद्धासम्मले मेहेन्दी लगाउँछन् । भारतको राजस्थानबाट सुरु भएको यो प्रचलन नेपालमा पनि व्यापक फैलिएको छ । शर्माका अनुसार साउन महिनामा लगाइने मेहेन्दीमा विभिन्न डिजाइन प्रयोग गरिन्छ । आफ्नो हातमा कसैले देवीदेवताका चित्र, कसैको श्रीमान्को तस्विर वा नाम अनि युवतीहरूले ठम्याउन नसकिने गरी आफ्नो प्रेमीको नाम सहित आकर्षक मात्र होइन अत्यन्त कलात्मक आकृति बनाउँछन् ।

शतप्रतिशत शृंगार अन्तर्गत नेलआर्ट पनि अटाउँछ । नङ प्रत्यक्ष रूपमा स्वास्थ्यसँग पनि जोडिएको छ । जङस्ट्रङ नेल आर्ट स्टुडियो दरबारमार्गका नेल आर्टिस्ट सनिल जङ मल्ल भन्छन्– पछिल्लो समयमा आएर नेल हाइजिन एवं नेल आर्टमा नेपालीहरू निकै सचेत हुन थालेका छन् । हिजोआज त के चाडपर्व के अन्य समय सदावहार नेल आर्ट गर्नेहरूको संख्या बढ्दो छ । चाडपर्वको मौसममा त आम समयभन्दा बढी नै भीडभाड हुन्छ । अघिपछि नेल आर्ट नगर्नेहरू पनि प्रयोग गरेर हेरौं न भन्ने हिसाबले आउँछन् । सुनिलका अनुसार साउन महिनामा सेतो ब्याकग्राउन्डमा हरियो र पहेंलो रंगले आर्ट गर्नेहरू निक्कै हुन्छन् । यो बेला जेल नेलभन्दा एक्रेलिकमा आर्टिस्टिक नेल आर्ट बढी रुचाइन्छ तर आम समयमा भने जेल नेल नै सर्वाधिक प्रिय छ ।  

 Image