Successfully Copied

हल्लाले कसिलो बनाएको जोडी

विद्यार्थी आन्दोलनताका उनीहरूबीचको सम्बन्धका बारेमा निक्कै हल्ला चल्यो । वास्तवमा दुई पक्ष त्यति धेरै गम्भीर नभैसकेको अवस्थामा चलेको उक्त हल्लाले नै उनीहरूलाई अझ नजिक ल्यायो ।

एञ्जिला न्यौपाने, श्रीमती प्रदीप पौडेल, युवा नेता ने.का.

विद्यार्थी आन्दोलनताका उनीहरूबीचको सम्बन्धका बारेमा निक्कै हल्ला चल्यो । वास्तवमा दुई पक्ष त्यति धेरै गम्भीर नभैसकेको अवस्थामा चलेको उक्त हल्लाले नै उनीहरूलाई अझ नजिक ल्यायो । वि.सं. २०६० देखि २०६२–०६३ को विद्यार्थी आन्दोलनमा प्रदीप र एञ्जिलाको भेट भएको हो । उनीहरू ५ वर्ष रिलेसनसीपमा रहे । त्यसबीच पनि हाम्रो विवाह हुने–नहुने टुंगो थिएन–एञ्जिला भन्छिन्–पोहोर साल दुवै जनाको परिवारको सहमतिमा हामीले परम्परागत विवाह गर्‍यौं ।’

नेताकी श्रीमती हुन सानो आँट, धैर्य र सहनशीलताले नपुग्ने एञ्जिलाको अनुभव छ । राजनीतिज्ञकी श्रीमतीले व्यक्तिगत इच्छा, चाहना एवं भावनामाथि नियन्त्रण गर्नुपर्ने उनको बुझाइ छ । श्रीमानको व्यस्तताले गर्दा विवाहपछि हनिमुन मनाउन जान नपाएको उनले बताइन् । ‘यस्तो बेला कहिलेकाहीँ रिस उठ्छ तर उहाँलाई मैले नै बुझिन भने कसले बुझ्ने भनेर सम्हालिन्छु ।’ एञ्जिालाले थपिन्–‘म त कमसेकम राजनीतिक परिवारमा जन्मिएर हुर्किएकीले म यस्ता कुरा बुझ्नसक्छु । उहाँ देश र जनताका लागि राम्रो काम गर्दै हुनुहुन्छ भने मैले यसमा सन्तोष मान्नैपर्छ ।’ राजनीतिलाई नीतिनिर्माण गर्ने बलियो संयन्त्रका रूपमा परिभाषित गर्ने एञ्जिलाको बुझाइमा नेताको व्यक्तिगत जीवन हुँदैन । उनीहरू जहाँ, जहिले र जतिबेला पनि सार्वजनिक व्यक्तित्व हुन्, बाहिर हिँड्दा फलानाकी श्रीमती भनेर नोटिस गर्ने हुँदा सबैकुरा मेन्टेन गर्न नसकिएला वा गार्‍हो होला भन्ने लाग्छ, साधारण जीवन बिताउन चाहने एञ्जिलालाई ।

दुवैजना एउटै क्षेत्रमा भएकाले अलि गार्‍हो भयो । विवाहपछि एञ्जिला राजनीतिमा कम देखिन थालिन् । त्यसो त उनी नानु फाउन्डेसन चलाएर बसेकी मात्र होइनन् योग प्रशिक्षकका रूपमा समेत कार्यरत छिन् । जीवनका महत्वपूर्ण क्षण विद्यार्थी आन्दोलनमा बिताएकीले हाल गर्भावस्थामा रहेकी एञ्जिला शिशु हुर्काएपछि सक्रिय राजनीतिमा फर्कने कुरा बताउँदै भन्छिन्–जस्ता पायो त्यस्ता मानिस राजनीतिमा होमिएको देख्दा हामी जत्तिको राजनीति बुझेकाले यो क्षेत्रबाट पछि हट्नु हुँदैन भन्ने लाग्छ । त्यसैले केही वर्षपछि सक्रिय राजनीतिमै आउने विचार छ ।

गर्भावस्थाका कारण एञ्जिलाको दिनचर्या केही सुस्ताएको छ । उनी बिहान उठेदेखि बेलुकासम्म घरायसी काममै व्यस्त हुन्छिन् । राजनीतिक कार्यकर्ता, इष्टमित्र, आफन्त एवं शुभचिन्तकहरूसँग सुमधुर सम्बन्ध कायम राख्ने काम उनकै भागमा पर्छ । आफ्ना श्रीमान्लाई राजनीतिको उपल्लो तहमा पुगेको देख्न चाहने एञ्जिला त्यसका लागि आफ्ना तर्फबाट सक्दो साथ र सहयोग रहने बताउँछिन् ।

एञ्जिलाका सम्बन्धमा प्रदीप

उनी मेरी सहयोगी, साथी, विश्वास सबैथोक हुन् । उनमा समर्पित भएको महसुस गराउन सक्ने क्षमता छ । म र राजनीतिलाई बुझेको व्यक्तिका नाताले उनको साथले मेरो करियर अघि बढ्ने कुरामा शंका छैन । कतिपय कुरा मनमा पनि राख्नुपर्ने हुन्छ तर उनको मनमा केही अडिँदैन, त्यसलाई अलिकति कम गरे राम्रो । उनी भावनात्मक, धैर्यशील एवं सरल छिन् जुन उनका बलिया पक्ष हुन् ।

 Image