Successfully Copied

पुष्पा बस्नेतको जीवन

कुनै दिन ७ हजार रुपैंयाँ कोठाभाडा तिर्न नसक्दा अब अगाडि केही गर्न सकिँदैन भनेर निराश भएकी पुष्पा बस्नेत (३३) सँग आज १५ करोडभन्दा बढीको सम्पत्ति छ प्रारम्भिक बालविकास केन्द्रका नाममा ।

संस्थापक अध्यक्ष, प्रारम्भिक बालविकास केन्द्र, बडेपाखा बूढानीलकण्ठ

कुनै दिन ७ हजार रुपैंयाँ कोठाभाडा तिर्न नसक्दा अब अगाडि केही गर्न सकिँदैन भनेर निराश भएकी पुष्पा बस्नेत (३३) सँग आज १५ करोडभन्दा बढीको सम्पत्ति छ प्रारम्भिक बालविकास केन्द्रका नाममा । एसएलसी फेल भएपछि स्वयं सेवाका लागि बालमन्दिर पुगेकी पुष्पामा त्यही समयमा आफू हुनुको अर्थ र महत्व बोध भयो । मुलुकबाट लाखौं युवा बिदेसिइरहेको अवस्थामा पुष्पाले सन् २००५ मा अन्य ६ जना साथीसँग मिलेर ४ जना बालबालिकाबाट शिशु स्याहार केन्द्रको सुरुवात गरिन् जसमा विशुद्ध सेवाभावका साथ जेलभित्रका बालबालिकालाई आश्रय दिइयो ।

इलिट्स स्कुल लामाटारबाट एसएलसी तथा जेभियर एकेडेमीबाट प्लस टु पुष्पाले सेन्ट जेभियर्सबाट स्नातक र के.युबाट पोष्ट ग्रयाज्युएटसम्मको अध्ययन पुरा गरेकी छिन् । व्यापारिक पृष्ठभूमिका पूर्णबहादुर र सरिता बस्नेतका ३ सन्तानमध्येकी पुष्पाका एक दाइ र एक बहिनी छन् । हालसम्म सयभन्दा बढी सन्तानको पालनपोषण गरी शिक्षादीक्षा दिलाइसकेकी यी कुमारी आमाको बटरफ्लाई होममा हाल ३९ जना बालबालिका छन् । शिक्षा, स्वास्थ्य, लालनपालन, सीप विकासजस्ता सम्पूर्ण कार्य संस्थामार्फत नै हुन्छन् । ४५ दिनदेखि २१ वर्षसम्मका सन्तानलाई न्यानो ममता दिएर तिनको उज्ज्वल भविष्य कोर्न लागिपरेकी बस्नेत गुणस्तरीयतामा विश्वास गर्छिन् । पुष्पाले गृहमा रहेका हरेक बालबालिकालाई गुणस्तरीय जीवन बिताउन सक्षम बनाउने शिक्षा एवं कला हस्तान्तरण गर्छिन् ।

यो गृहका बालबालिकाहरू काठमाडौं विश्वविद्यालयका साथै राम्रा विद्यालयहरूमा अध्ययनरत छन् भने यही भित्रै तेक्वान्दो, चर्या–डान्स, क्लासिकल गितार, योग, आर्ट थेरापी आदि सिकाइन्छ । प्लस टु गरेपछि १ लाख, स्नातक सिध्याएपछि २ लाख तथा स्नातकोत्तर सिध्याएपछि अर्को थप २ लाख गरी जम्मा ५ लाख रुपैंयाँ संस्थाले नै हरेक बालबालिकाको खातामा राखिदिन्छ ।

बस्नेत अब गल्र्स तथा ब्वाइज होस्टेल निर्माण गर्दैछिन् । त्यसमा युवा–युवतीका लागि छुट्टाछुट्टै आवास हुनेछ । यो उमेरमै यति साहसिक र अपत्यारिलो काम गर्ने पुष्पा जेललाई बालमैत्री बनाउने अभियानमा समेत सक्रिय छिन् । त्यसअन्तर्गत उनले जेलभित्र रहेका बालबालिकाहरूलाई जाउलो सामग्री (३ माना गेडागुडी र ३ माना चामल मिसाइएको प्याकेट तथा बटरफ्लाई बक्स (जसभित्र खेलौना, पाठ्यसामग्री हुन्छन्) उपलब्ध गराउँदै आएकी छिन् । यो कार्यक्रम नुवाकोट, गोरखा, धादिङ, इलाम, पाँचथर आदि जिल्लास्थित जेलमा प्रारम्भ भैसकेको छ ।

हरेक बालबालिकाको सपना पूरा गर्न चाहन्छु–पुष्पा भन्छिन्–म धेरै बालबालिका जम्मा गर्ने भन्दा पनि भएकालाई राम्रो जीवन बिताउन सक्ने सक्षम बनाउन चाहन्छु । सन् २०१२ मा सिएनएन हिरो अवार्ड प्राप्त गरेपछि संसारभर उनको कामको प्रशंसा भयो । लगत्तै उनले राष्ट्रपतिको हातबाट गोरखा दक्षिणबाहु समेत प्राप्त गरेकी थिइन् ।

तस्बिर : श्रुति श्रेष्ठ

तस्बिर सौजन्य : पुष्पा बस्नेत तथा सिएनएन

 Image