Successfully Copied

असम्भव केही छैन

नेपालकी भारोत्तोलन खेलाडी टीका पुनले विभिन्न प्रतियोगिताहरूमा आफूलाई अब्बल साबित गर्दै विभिन्न पदक जितेकी छिन् । त्यसैगरी सोनी राणा, प्रिया थापा, यशोधरा थापाजस्ता महिलाहरू बोइङ उडाइरहेका छन् ।

नेपालकी भारोत्तोलन खेलाडी टीका पुनले विभिन्न प्रतियोगिताहरूमा आफूलाई अब्बल साबित गर्दै विभिन्न पदक जितेकी छिन् । त्यसैगरी सोनी राणा, प्रिया थापा, यशोधरा थापाजस्ता महिलाहरू बोइङ उडाइरहेका छन् । कर्नेल इभिता राणा आर्मीमा आफ्नो वर्चस्व कायम गरिरहेकी छिन् भने विमला थापा, गीता उप्रेती, पार्वती थापाहरू प्रहरीभित्रका बलिया महिलामा दरिएका छन् । पुरुषका लागि मात्र भनिने कार्यक्षेत्रमा अहिले महिलाहरूको सहभागिता उल्लेख्य हुँदै गएको छ । यी महिलाहरू चाहने हो भने असम्भव केही छैन भन्ने उदाहरण हुन् । महिलालाई कठिन कार्यक्षेत्रमा सफल हुन के–कस्ता कुराको आवश्यकता पर्छ वा समाजले मान्ने बाधक मिथहरू के–के हुन् ? सफलतामा उत्प्रेरणा थप्ने कुराहरू के हुनसक्छन् ?

रोल मोडल

यस्ता महिलाहरूका अनुसार आफ्नो सफलतामा अन्य रोड मोडलको जीवनी, उनीहरूको क्रियाकलाप, दैनिक गतिविधि आदिले निक्कै सघाउ पुर्‍याउँछ । उनीहरू समाजले भन्ने गरेको पुरुषले मात्र गर्ने कामलाई चुनौती दिन ती रोल मोडलहरूबाट प्रेरणा लिन्छन् । त्यति मात्र नभई साहित्य, दर्शन, कथा आदिले पनि असम्भवलाई सम्भवमा बदल्ने साहस बढाउँछन् ।

बालबच्चा बाधक होइनन्

महिलाका लागि चुनौतीपूर्ण क्षेत्रमा काम गर्न सन्तान बाधक हुन्छन् भन्ने सामाजिक मान्यता छ । चाहना हुनुपर्छ हरेक कुरा सम्भव छ भनेझैं समय र कामको व्यवस्थापन मिलाउन जान्यो भने अप्ठ्यारा क्षेत्रमा पनि महिलाहरू सफल भएका उदाहरण छन् । दैनिक क्रियाकलाप, बालबच्चाको स्कुल, प्यारेन्ट्स डे, पारिवारिक तथा सामाजिक पर्व आदिमा सहभागी भएर पनि महिलाहरूले कार्यक्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएका छन् । त्यसका लागि अतिरिक्त मेहनत भने आवश्यक हुन्छ किनभने बालबालिकाका लागि समय त निकाल्नैपर्छ ।

सम्मान तथा पदकले हौसला बढाउँछ

यस्ता चुनौतीपूर्ण क्षेत्रमा कार्यरत महिलालाई सम्मान, पदक तथा पदोन्नतिले थप प्रेरणा जगाउँछ । कतिपय स्थान र क्षेत्रमा महिला भएकै कारण सम्मान, पदक एवं पदोन्नतिबाट वञ्चित गराइए पनि सबैका हकमा यही एउटै कुरा लागू हँुदैन । महिलाका लागि असम्भव मानिएका क्षेत्रमा उनीहरूको सम्मान, पदक एवं पदोन्नतिले काम गर्ने ऊर्जा प्राप्त हुन्छ ।

सोच्नुहोस् सम्भव छ

फूलको आँखामा फूलै संसार भनेझैं यदि सकारात्मक सोच राखियो भने सबै कुरा राम्रो भएर जान्छ । व्यवसायिक महिलाको हकमा पनि आफ्नो कार्यक्षेत्रमा अब्बल ठहरिन यो कुरा लागू हुन्छ । म महिला मात्र होइन सर्वप्रथम म पनि मानव हुँ भन्ने सोचेर काम गरियो भने मानव जातिभित्र हुने हरेक शक्ति आफूभित्र सञ्चार भएको अनुभूति हुन्छ र काममा अझ जुझारूपन आउँछ । त्यसैले कहिल्यै कुनै पनि कुरालाई असम्भव मान्नुहुँदैन । सोच्ने मात्र होइन कार्यान्वयन पनि गर्नुपर्छ कि संसारमा हरेक कुरा सम्भव छ ।

 Image