Successfully Copied

आफूलाई सुन्दर बनाऔं

अहिले जे पनि पैसाले किन्न तथा त्यसलाई परिवर्तन गर्न सकिन्छ भनिन्छ । त्यसैले व्यक्तित्व परिवर्तनका लागि अहिले थुपै्र संस्था पनि खुलेका छन् । ती संस्थामा महिलाहरूको व्यक्तित्व विकास गरिन्छ ।

अहिले जे पनि पैसाले किन्न तथा त्यसलाई परिवर्तन गर्न सकिन्छ भनिन्छ । त्यसैले व्यक्तित्व परिवर्तनका लागि अहिले थुपै्र संस्था पनि खुलेका छन् । ती संस्थामा महिलाहरूको व्यक्तित्व विकास गरिन्छ । यद्यपि पैसाले व्यक्तित्व परिवर्तन गर्न सकिन्छ भन्नु भ्रम मात्र हो । व्यक्तित्व सुन्दर बनाउन निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

भाषा तथा कुराकानी गर्ने शैली

आकर्षक व्यक्तित्वका लागि राम्रो श्रोता तथा वक्ता हुनुपर्छ । भाषा तथा कुराकानी गर्ने शैलीका कारण कतिपय मानिस आफूप्रति आकर्षित हुन्छन् । कुराकानी गर्दा श्रोताहरू समूहमा छन् कि एक्लै छन् ध्यान पुर्‍याउनुपर्छ । कुराकानी गर्दा सरल भाषा छनोट गर्नुपर्छ । आफ्नो कुरालाई शान्तिपूर्ण तथा आरामसँग प्रस्तुत गर्नुपर्छ । अरूको वास्ता नगरी छिटो बोल्नुहुँदैन । एकजनासँग मात्र कुराकानी गर्ने हो भने आँखामा आँखा जुधाएर कुराकानी गर्नुपर्छ । यसले गर्दा आफूसँग कुरा गर्ने व्यक्तिमाथि आफ्नो प्रभाव जमाउन सकिन्छ ।

पहिरन

पहिरन मानिसको व्यक्तित्वको प्रमुख भाग हो । पहिरनले मानिसको सोच तथा उसको भावनाको प्रतिनिधित्व गर्छ । पहिरन छनोट गर्दा आफू कुन ठाउँमा जान लागिएको हो पहिल्याउनुपर्छ । अफिस, पार्टी वा कुनै सामाजिक काममन फरक–फरक प्रकारका पहिरन लगाउनुपर्छ । सदैव आइरन गरिएका तथा आफ्नो व्यक्तित्वलाई सुहाउने खालका पहिरन लगाउनुपर्छ । पहिरनले जोकोहीलाई आकर्षक व्यक्तित्वको धनी बनाउँछ ।

शारीरिक भाषाको ज्ञान

भाषा दुई प्रकारका हुन्छन् । पहिलो शब्दको माध्यमले अभिव्यक्त हुन्छ जुन सजिलै बुझ्न सकिन्छ भने शारीरिक हाउभाउले वार्तामा राम्रो प्रभाव जमाउँछ । अभिवादन गर्ने शैली, बस्ने–हिँड्ने तरिका आदि धेरै यस्ता हाउभाउ हुन् जसले व्यक्तित्वलाई दर्शाउँछन् । खुट्टा हल्लाउने, टाउको कन्याउने, अढेस लगाएर उभिने आदि बानीले व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछन् । हाउभाउले पनि मानिसको व्यक्तित्व सपार्न तथा बिगार्न महत्वपूर्ण भूमिका खेल्छ । आफ्नो हाउभाउले नकारात्मक असर पुर्‍याउँछ भने त्यसलाई परिवर्तन गर्नुपर्छ ।

खानपानको शैली

आफ्नो व्यक्तित्वको पहिचान खानपानको शैलीमा पनि निर्भर गर्छ । जब बाहिर खान गइन्छ भने चम्चा तथा काँटाको सही प्रयोग गर्नुपर्छ । हतार–हतार खाना खानु हुँदैन । खाना खाँदा कम बोल्नुपर्छ । सफा खाना खानुपर्छ । खाना खाने उपयुक्त व्यवहारलाई आफ्नो व्यक्तित्वमा सामेल गर्दा आफूलाई पूर्ण बनाउन सकिन्छ ।

सहयोगी

आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन दृढनिश्चयी हुनु आवश्यक छ । यो बानीले घरमा मात्र होइन बाहिरी वातावरणमा समेत सहयोगीको भूमिका खेल्छ । आफ्नो काम तथा संकल्पमा आफ्ना सहकर्मी तथा परिवार आफ्नो व्यक्तित्वको महत्वपूर्ण भाग हुन् भन्ने कुरा बिर्सनु हुँदैन । अरूको प्रशंसा गर्ने बानीको विकास गर्नुपर्छ । अरूलाई सहयोग गर्नुपर्छ । यसले व्यक्तित्वमा निखार ल्याउँछ ।

अनुभवी

आफ्नो व्यक्तित्वमा निखार ल्याउन आफ्ना राम्रा तथा नराम्रा दुवै अनुभवको प्रयोग आफ्नो जीवनशैलीमा गर्नुपर्छ । अनुभवले कुनै पनि कार्य सही तरिकाले पूरा गर्न सहयोग गर्छ । कुनै गल्ती भएको छ भने त्यसबाट शिक्षा लिनुपर्छ । गल्तीबाट डराएर भाग्नु हँुदैन । आफ्नो काम आत्मविश्वास तथा अनुभवका आधारमा पूरा गर्नुपर्छ ।

रचनात्मक हुनुपर्छ

आफ्नो काम तथा सोच रचनात्मक हुनुपर्छ । काम गर्ने शैलीमा नयाँपन ल्याउनुपर्छ । एकै प्रकारको कामबाट मानिसलाई दिक्क लाग्छ । यसले कार्यकुशलतामा असर पुर्‍याउँछ । पर्याप्त ज्ञान हासिल गर्नुपर्छ । आफ्नो कामलाई रचनात्मक बनाउन प्रयत्नशील रहनुपर्छ । यसले आफ्नो प्रतिष्ठामा पनि

परिवर्तन ल्याउँछ ।

 Image