Successfully Copied

परिवारकै हिरो

मेरी ममी एकदमै मेहनती हुनुहुन्छ । सानैदेखि अहिलेसम्म पनि आराम गरेको कहिल्यै देखेको छैन । उहाँले म, दिदी र भाइ तीनै जनालाई समान रूपमा भेदभाव नगरी हुर्काउनुभयो । मेरो दिमागमा उहाँले आफ्नो खुट्टामा आफै उभिनुपर्छ र आफैले मेहनत गरी कमाउनुपर्छ भन्ने सोच भरिदिनुभएको

डा. रिना श्रेष्ठ वैद्य, प्याथलोजिस्ट तथा एच आर हेड, बी एन्ड बी हस्पिटल

आमा : रीता कमल श्रेष्ठ, विजनेस वुमन

मेरी ममी एकदमै मेहनती हुनुहुन्छ । सानैदेखि अहिलेसम्म पनि आराम गरेको कहिल्यै देखेको छैन । उहाँले म, दिदी र भाइ तीनै जनालाई समान रूपमा भेदभाव नगरी हुर्काउनुभयो । मेरो दिमागमा उहाँले आफ्नो खुट्टामा आफै उभिनुपर्छ र आफैले मेहनत गरी कमाउनुपर्छ भन्ने सोच भरिदिनुभएको थियो । उहाँको क्युरियो पसल तथा गेस्ट हाउस थियो । त्यतिबेला उहाँ ठमेलमा केटाहरूको हूलमा क्युरियो सप चलाउनुहुन्थ्यो । त्यतिबेलै उहाँ स्कुटर चलाएर हिँड्नुहुन्थ्यो, धेरैले उहाँलाई स्कुटर चलाउने दिदीका रूपमा चिन्थे ।

ममी योग गुरु पनि हुनुहुन्छ । त्यसैले मलाई र दिदीलाई सानैदेखि योग गराउनुहुन्थ्यो । म ममीसँग योग डेमोस्ट्रेसनका क्रममा नेपाल बाहिर पनि पुगेकी छु । ममीले मलाई एसएलसी सकेको भोलिपल्टै बिहान जापानी ल्यांग्वेज, एक्सरसाइज सिक्ने अनि त्यसपछि बिहान ८ बजेदेखि ५ बजेसम्म आन्टीको अफिसमा काम गर्ने व्यवस्था मिलाइदिनुभयो । ५ बजेपछि ७ बजेसम्म दिदी र म दुवैलाई विदेशमा पढ्न पठाउने भनेर टोफेल पनि ज्वाइन गरिदिनुभयो । दिदी साइकलमा कलेज जानुहुन्थ्यो र मलाई टोफल जानका लागि साइकिलमै लिन आउनुहुन्थ्यो । ममीले मेहनत गरी कमाएर नै तीनै जना सन्तानलाई विदेशमा उच्च शिक्षा लिन पठाउनुभयो । सबैले छोरीहरूलाई किन बाहिर पढ्न पठाउनुपर्‍यो, विवाह गरिदिए भैहाल्यो नि भन्थे तर ममीले कसैको कुरा सुन्नुभएन । ममी भएपछि हामीलाई अरू साथीहरू पनि चाहिँदैनथे, फिल्म हेर्न, बाहिर खाना, खाजा खान तथा त्यो समयमै उहाँले मलाई पुल्चोकको नारायणी कम्प्लेक्समा उहाँको साथीसँग स्वीमिङ सिक्न लानुहुन्थ्यो ।

अहिलेको पुस्ताले जे–जस्तो स्वतन्त्रता र सिक्ने अवसर पाएको छ, ती सबै कुरा ममीका कारण हामीले २५–२६ वर्षअघि नै पायौं । २ वर्षअघि मलाई ब्रेस्ट क्यान्सर देखियो, ममीले टेन्सन लिनुहुन्छ भनेर भनिन । ससुरा र श्रीमान् आफंै डाक्टर भएकाले उहाँहरूसँग कुराकानी गरेर उपचार गरेँ । ममीले थाहा पाएपछि, मलाई हौसला दिनुभयो र कपीभरि हरेक दिन मेरी छोरीलाई केही भएको छैन, केही हुँदैन भनेर लेखिरहनुभयो । मैले उहाँमा जस्तो सकारात्मक गुण अहिलेसम्म कसैमा देखेकी छैन । मेरी ममी मेरी मात्र होइन, हाम्रो परिवारकै हिरो हुनुहुन्छ । 

 Image