Successfully Copied

फस्ट लेडी मेलानिया

चुनाव प्रचार अभियानका क्रममा श्रीमान् डोनाल्ड ट्रम्पमाथि यौन शोषणको आरोप लागेको थियो । त्यो समयमा मेलानियाले ट्रम्पको बचाउ गरेकी थिइन् ।

डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई हराएर संसारकै सबैभन्दा शक्तिशाली मुलुकको राष्ट्रपति पदमा पुगेका डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया कानुस अहिले चर्चामा छिन् । अमेरिकी राष्ट्रपति पदमा ट्रम्पको विजयसँगै मेलानिया अमेरिकाको फस्ट लेडी भएकी छिन् । साढे चारदशक पूरा गरिसकेकी मेलानियालाई धेरैले ग्ल्यामरस महिलाका रूपमा चिन्छन् । 

को हुन् मेलानिया ?

मेलानिया ट्रम्प अहिले ४६ वर्षकी भइन् । उनको जन्म युगोस्लाभियामा भएको हो । मेलानियाका पिता भिक्टर नाभास युगोस्लाभ कम्युनिस्ट पार्टीका सदस्य थिए भने आमा फेसन व्यवसायमा थिइन् । मेलानियाले १६ वर्षकै उमेरदेखि मोडलिङ थालेकी हुन् । फोटोग्राफर स्टेन जर्कोसँग गराएको एउटा फोटो सुटपछि मेलानिया चर्चामा आइन् । त्यसपछि उनले इटालियन पत्रिकामा आफूलाई स्थापित गराइन् । त्यतिबेला मेलानिया १८ वर्षकी मात्र थिइन् । 

मेलानिया ट्रम्पभन्दा २४ वर्ष कान्छी छिन् । उनले ट्रम्पलाई सन् १९९८ मा भेटेकी थिइन् । ट्रम्पसँग मेलानियाको पहिलो भेट न्यूयोर्कमा भएको थियो । व्यवसायमा निकै अगाडि पुगिसकेका ट्रम्प र मेलानियाले आफ्नो सम्बन्धका विषयमा कडा  गोप्यता अपनाएका थिए । त्यसअघि दुईपटक विवाह तथा सम्बन्धविच्छेद गरिसकेका ट्रम्पसँग सन् २००४ मा मेलानियाको इन्गेजमेन्ट भयो । त्यसपछि मात्र उनीहरूका बारेमा समाचार आउने थाले । मेलानिया डोनाल्डकी तेस्री श्रीमती हुन् । सन् २००५ जनवरी २२ मा विवाह भएका उनीहरूका एक सन्तान ब्यारन ट्रम्प (मार्च २०, २००६) छन् । 

चुनाव प्रचार अभियानका क्रममा श्रीमान् डोनाल्ड ट्रम्पमाथि यौन शोषणको आरोप लागेको थियो । त्यो समयमा मेलानियाले ट्रम्पको बचाउ गरेकी थिइन् । यसैगरी उनले रिपब्लिकन नेसनल कन्भेन्सनमा दिएको भाषण मिसेल ओबामाले सन् २००८ मा दिएको भाषणको नक्कल भएको बताइएको थियो । 

मेलानियाले १५ वर्षअघि बेलायती पत्रिका ‘जिक्यू’ का लागि गराएको फोटो सेसन उनको बोल्ड फोटो सेसन मानिन्छ । उक्त पत्रिकाको प्रथम पृष्ठमा उनको निर्वस्त्र तस्बिर प्रकाशित भएको थियो । मेलानियाले ट्रम्पकै बोइङ ७२७ का अगाडि उभिएर उक्त फोटोसुट गराएकी थिइन् । यसबाट मेलानियाले अमेरिकी इतिहासमा रेकर्ड कायम गरेकी छिन् । मेलानिया अमेरिकी इतिहासमै न्यूड फोटो सार्वजनिक भएकी प्रथम फस्ट लेडी हुन् । यसअघि कुनै पनि फस्ट लेडीको न्यूड फोटो सार्वजनिक भएको छैन । हाल श्रीमान् डोनाल्ड ट्रम्पको विश्वव्यापी व्यवसाय सम्हाल्न थालेकी मेलानिया आफ्नो छुट्टै गहना व्यवसाय पनि गर्छिन् । 

मेलानियाका सम्बन्धमा रोचक जानकारी 

मेलानियाले प्रथम महिला भएलगत्तै इन्टरनेटमार्फत महिलाविरुद्ध हुने दुव्र्यवहार अन्त्य गर्ने प्रयासमा लाग्ने कुरा बताएकी थिइन् । लेडी गागाले त्यो समयमा मेलानियालाई तिम्रै श्रीमान् ट्रम्प महिलाहरूप्रति सबैभन्दा बढी दुव्र्यवहार गर्ने मानिस हुन् भनेकी थिइन् । मेलानियाले त्यतिबेला आफूले गरेको वाचा पूरा गर्न ४ वर्षको समय भएको बताएकी थिइन् । 

ट्रम्प र मेलानियाको विवाह समारोहमा ३ सय ५० जना पाहुना बोलाइएका थिए जसमा हिलारी क्लिन्टन तथा बिल क्लिन्टन पनि थिए । बोल्म बीचमा सम्पन्न उक्त वैवाहिक समारोहमा मेलानियाले १ लाख डलर पर्ने पहिरन लगाएकी थिइन् जसलाई तयार पार्न ५ सय ५० घन्टा लागेको थियो । ट्रम्पले मेलानियालाई लगाइदिएको १२ क्यारेटको एमराल्ड जडित औंठीको मूल्य १५ लाख पाउन्ड थियो । मेलानिया आफैंमा आप्रवासी हुन् तर उनले श्रीमान् ट्रम्पले लिएको कडा आप्रवासी नीतिको समर्थन गरेकी छिन् । मेलानिया आफ्नो छोरालाई जुनियर डोनाल्ड भनेर सम्बोधन गर्छिन् । 

(एजेन्सीको सहयोगमा) /तस्बिर : एजेन्सी

 Image