Successfully Copied

ठमेल बजारपछि व्यस्त मीना

भारतको मणिपुरमा जन्मिएर सानै उमेरदेखि संगीतमा सक्रिय मीना निरौला भारतमै शास्त्रीय संगीतमा स्नातक गरेर नेपाल आएकी हुन् ।

भारतको मणिपुरमा जन्मिएर सानै उमेरदेखि संगीतमा सक्रिय मीना निरौला भारतमै शास्त्रीय संगीतमा स्नातक गरेर नेपाल आएकी हुन् । मीनाले नेपाली सांगीतिक क्षेत्रमा विगत केही वर्षदेखि थुप्रै काम गरिन् तर चलचित्र लुट–२ को ठमेल बजार... गीत लोकप्रिय भएपछि मात्र उनलाई धेरैले चिने । आधा दशकअघि नै संगीतकार कालीप्रसादको एकल संगीतमा एकल एल्बम तयार पारिसकेकी मीनालाई कालीप्रसादले नै ठमेल बजार... गाउने प्रस्ताव राखेका थिए । 

कालीप्रसाद तथा भानुभक्तको पुरुष स्वर सुनिने उक्त गीतमा मीनाको महिला स्वर छ । मीनालाई उक्त गीत गाउने क्रममै श्रोताहरूले रुचाउँछन् जस्तो लागेको थियो तर यसरी भाइरल होला भन्ने उनले सोचेकी थिइनन् । यो गीत लोकप्रिय भएपछि मीनाको व्यस्तता पनि ह्वात्तै बढेको छ । मीनाले नेपाल आउनुअघि मणिपुरमा निर्माण भएका स्थानीय भाषाका एक दर्जन चलचित्रमा गीत गाइसकेकी थिइन् । नेपाल आउनुअघि नेपाली गीत कम सुनेकी मीनाले हिन्दी तथा मणिपुरी भाषाका थुप्रै गीत गाएकी थिइन् । सितार पनि बजाउने मीना मणिपुरमै हुँदा सांगीतिक समूहमा समेत आबद्ध भइन् । झन्डै एक दशकअघि सम्पन्न नेपाल तारा–२ मा सहभागिता जनाउँदा उनी उत्कृष्ट १० सम्म पुगेकी थिइन् । स्वास्थ्यका कारण उत्कृष्ट १० पछि उनले त्यसलाई निरन्तरता दिन सकेकी थिइनन् । 

 Image