Successfully Copied

कुनै गुड न्युज छ ?

सन्तान जन्माउने वा नजन्माउने कुरा कुनै पनि दम्पतीको निजी मामिला हो र यससम्बन्धी निर्णयको अधिकार पनि उनीहरूमै हुन्छ ।

सन्तान जन्माउने वा नजन्माउने कुरा कुनै पनि दम्पतीको निजी मामिला हो र यससम्बन्धी निर्णयको अधिकार पनि उनीहरूमै हुन्छ । यद्यपि यस विषयमा हरेकसित चर्चा गर्न नसकिने भएकाले नवदम्पती त्यस्ता कुराबाट अनेकौं दबाब सहन बाध्य हुन्छन् । 

पारिवारिक दबाब 

सासूलाई नातिनातिनाको मुख हेर्ने रहर हुन्छ भने नन्दलाई भदा । त्यस्तै कसैमा अंकल कहलाउन हतार हुन्छ भने कसैमा मामा हुने रहर । परिवारजन आफ्ना त्यस्ता चाहना नवदम्पतीमार्फत पूरा गर्न चाहन्छन् । बाबु, अब त हाम्रो उमेर भैसक्यो, डाँडामाथिको घाम कहिले अस्ताइन्छ थाहा छैन । यसो नातिनातिनाको मुख हेर्न पाए हुन्थ्यो भन्नेहरू पनि कम हुँदैनन् । कतिपय अवस्थामा त सन्तान जन्माउन ढिलो गरेको खण्डमा नवदुलहीमा कुनै कमजोरी छ कि भन्ने आशंकासमेत गरिन्छ । त्यस्तो अवस्थामा नवदम्पती नचाहँदा नचाहँदै सन्तान जन्माउने निर्णय लिन बाध्य हुन्छन् । 

सामाजिक दबाब 

नवविवाहित जोडीलाई प्राय: सोधिने प्रश्न हुन्छ, कुनै गुड न्युज छ ? यस विषयमा परिवारजनभन्दा बाहिरी व्यक्तिको रुचि बढी पाइन्छ । कतिपय मानिस त सल्लाह–सुझाव पनि दिन थाल्छन्, यति धेरै ढिलो किन भैरहेको छ, सही ठाउँमा उपचार गर्नुपर्छ, पूजा गर्नु राम्रो हुन्छ आदि । यस्ता अनेक परिस्थिति हुन्छन् जसको सामना नवदुलहीले गर्नुपर्ने हुन्छ । 

मानसिक दबाब 

जहाँ एकातिर समयभन्दा पहिले आइपर्ने सन्तानको जिम्मेवारीले नवदम्पतीलाई दबाबमा पार्छ भने अर्कातिर प्रथम शिशु छोरी भए अर्को दबाब प्रारम्भ हुन्छ, अनि भनिन्छ–छोरीसित खेल्न छोरा पनि चाहिन्छ । यसले दाम्पत्य जीवनमा प्रभाव पार्छ । कारण श्रीमती एउटी आमाका रूपमा जिम्मेवारी निर्वाह गर्न व्यस्त हुन्छिन् भने श्रीमान् आफ्ना सन्तानको भविष्यको तयारीमा । यो स्थितिमा दम्पतीसित एक–अर्काका लाागि समय हुँदैन र आपसी सम्बन्धमा तनावको स्थिति सिर्जना हुनसक्छ । समयपूर्व नै दम्पतीले आफ्नो इच्छासित सम्झौता गर्नुपर्ने भएकाले समस्या बढी हुन्छन् । 

आमाबुवाको जिम्मेवारी

शिशुलाई कहिले जन्म दिने भन्ने अधिकार आमाबुवामै सीमित हुन्छ । सन्तानको लालन–पालन एवं भविष्यको योजना पनि आमाबुवाकै हातमा हुन्छ । त्यसैले उनीहरू पूर्णरूपमा आश्वस्त भएर भविष्यको तयारी पूरा गरेपछि मात्र शिशुका सम्बन्धमा निर्णय लिन्छन् । यस विषयमा परिवार जति जिम्मेवार हुन्छ समाजको पनि उत्तिकै जिम्मेवारी हुन्छ ।

 

 Image