Successfully Copied

सामाजिक क्षेत्रमा सेलिब्रेटीहरू

नेपाली सेलिब्रेटीहरूमा पनि आफूले कमाएको केही रकम समाजका लागि खर्च गरौं भन्ने सोच देखिन्छ । व्यस्त समय तालिकामा केही समय निकालेर सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेका कलाकारहरूको संख्या भूकम्पपछि अझ बढेको देखिन्छ ।

नेपाली सेलिब्रेटीहरूमा पनि आफूले कमाएको केही रकम समाजका लागि खर्च गरौं भन्ने सोच देखिन्छ । व्यस्त समय तालिकामा केही समय निकालेर सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेका कलाकारहरूको संख्या भूकम्पपछि अझ बढेको देखिन्छ । यही क्रममा कलाकार सीताराम कट्टेल तथा कुञ्जना (धुर्मुस तथा सुन्तली) ले आफ्नो नाममा फाउन्डेसन स्थापना गरी नमुना बस्तीहरू निर्माण गरिरहेका छन् । उक्त फाउन्डेसनले काभ्रेमा धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती बसायो । अहिले उनीहरू महोत्तरीको बर्दिबासस्थित मुसहर टोलमा पनि नमुना बस्ती बसाउँदैछन् । उनीहरू दुवै आफ्नो सानो नानीलाई घरमै छाडेर समाजका लागि केही गर्न सकिन्छ कि भनेर लागिपरेका छन् ।

कुञ्जना घिमिरे आफूलाई यति धेरै माया एवं प्रशंसा गरेर यो स्थानमा पुर्‍याउने दर्शक–श्रोताहरूका लागि केही गर्नु आफ्नो पनि कर्तव्य भएको बताउँछिन् । घिमिरे भन्छिन्–‘हामीले केही राम्रो सामाजिक अभियान सुरु गर्‍यौं भने हामीलाई साथ, सहयोग दिनेहरू पनि प्रशस्तै हुन्छन् । भूकम्पले हामी सबै नेपालीलाई डर, त्रास दिएर गयो, धेरैका घर भत्किए । त्यस्तो समयमा हामीजस्ता जनताका कलाकारले हात बाँधेर बस्नु ठीक लागेन । त्यसैले हामी बूढाबूढी यो काममा सक्रिय भयौं ।’ 

भूकम्पका बेला अनेकौं कलाकार कपडा, टेन्ट, पाल, नगद आदि राहत सामग्री लिएर विभिन्न ठाउँ पुगे । नायिका करिश्मा मानन्धरदेखि केकी अधिकारी तथा नन्दिता केसीसम्म मिस नेपाल रुवी राणादेखि तत्कालीन मिस नेपाल इभाना मानन्धरसम्म, गायिका कोमल वलीदेखि सरु वनसम्म राहतका लागि आफूसक्दो लागिपरेका थिए । त्यसमध्ये नायिका रेखा थापा भने अलि भिन्नै रूपमा देखिइन् । भर्खरै राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित रेखा थापा राउटे बालबालिकाहरूको अध्ययनमा सहयोग गरिरहेकी छिन् । उनले विराटनगरस्थित अनाथालयलाई पनि सहयोग पुर्‍याएकी छिन् । 

हिपहप गायक निर्णय श्रेष्ठले भूकम्पका बेला भत्किएको बुंगमती क्षेत्रमा घर निर्माण गर्न सहयोग गरे । उनीहरूकै पहलमा २५ वटा घर पनि बनाइए । निर्णय आफूलाई सानो छँदैदेखि पढ्न नपाएका बालबालिकाहरू देख्दा नमज्जा लाग्ने बताउँछन् । त्यसैले विगत १३ वर्षदेखि उनले एउटा अभियान चलाइरहेका छन् । एनएसके एजुकेसन टुर शीर्षकको उक्त कार्यक्रम बेग्लै किसिमको छ । विभिन्न जिल्ला तथा विद्यालयमा गएर उनी कन्सर्ट दिन्छन् र त्यसवापत प्राप्त हुने पारिश्रमिक तथा त्यहाँका विद्यार्थीहरूबाट संकलित कपी, किताब, इरेजर आदि विकट गाउँघरका विद्यालयहरूमा पुर्‍याउँछन् । 

केही समयअघि मोडल नीति शाहले बिल्कुलै अलग किसिमको काम गरिन् । एसिड आक्रमणमा परेका दुई युवतीमध्ये एक संगीतालाई नीतिले केही रकम सहयोग गरेकी छिन् । साथीमार्फत चिनिएकी संगीताको घरमा नीतिको आउजाउ थियो । त्यही बेलादेखि नै उनका लागि केही गर्छु भन्ने सोच शाहमा थियो । नीतिले उनको सहयोगार्थ वुडल्यान्ड कम्प्लेक्समा आफैले सुसी बनाएर त्यसको बिक्रीबाट संकलित रकम उनलाई सहयोगस्वरूप दिएकी हुन् । एकदिनमा ३१ हजार रुपैंयाँ उठ्दा नीति आफै अचम्म परेकी थिइन् । उनका अनुसार यसरी पब्लिक फेस भएका व्यक्तिले कुनै राम्रो काम गर्‍यो भने धेरैको साथ पाइँदो रहेछ । यस्ता स–साना प्रयासले समाजमा धेरै राम्रो काम गर्न सकिने कुरा पनि आफूले सिकेको नीति बताउँछिन् । नीतिले पोखरास्थित वुमन स्किल डेभलपमेन्ट नामक संस्थामा भोलेन्टरका रूपमा पनि काम गरेकी थिइन् ।

नीतिलाई बालबालिका तथा महिलाहरूका विषयमा आफूले सक्ने काम गर्ने इच्छा छ । मौका पाउनासाथ उनी त्यस्तो काममा लागिहाल्छिन् ।  नगमा श्रेष्ठ र शुभेच्छा खड्का पनि महिला तथा बालबालिकाका लागि सक्दो काम गरिरहेका छन् । भूकम्पका बेला यी दुवै जना घरबारविहीन भएर बिचल्लीमा परेका बालबालिकाहरूलाई पढाउने तथा उनीहरूलाई रमाइलो गराई भूकम्पको डरबाट बाहिर ल्याउने काममा सक्रिए थिए । सबै जना डराइरहेको त्यो समयमा उनीहरू हप्तौं गाउँमै बसेका थिए । उनीहरूले ब्रेस्ट क्यान्सरसम्बन्धी अवेरनेस कार्यक्रमको एम्बेसडरका रूपमा समेत काम गरेका छन् । 

गायिका कोमल वली पनि हामी उठ्नेछौं फाउन्डेसनमार्फत समाजसेवामा सक्रिय छिन् । उनका अनुसार हरेक व्यक्तिले समाजसेवाका लागि आफूले कमाएको केही रकम छुट्याउनुपर्छ । वली भन्छिन्–‘हाम्रो शास्त्रमा पनि कमाएको रकमको ३० प्रतिशत दान दिनु भनिएको छ । त्यसमा पनि पब्लिक फिगरहरूले अनिवार्य रूपमा समाज सेवामा हात बढाउनैपर्छ । हामीले केही राम्रो काम गर्दा हाम्रा पछाडि धेरैको हात हुने हुँदा त्यो काम स्वत: सफल हुन्छ र उत्कृष्ट पनि बन्छ ।’ त्यस्तै सविना कार्की पनि समाज सेवामा लागिपरेकी गायिका हुन् । कार्कीले आमाघर, बालगृह जोरपाटी, फ्रेन्डस क्लब आदिलाई आर्थिक सहयोग गरिरहेकी छिन् । उनले बजारमा ल्याएका हरेक एल्बमबाट प्राप्त रकम विभिन्न वृद्धाश्रम तथा बालगृहमा खर्च गर्दै आएकी छिन् ।

 Image