Successfully Copied

भ्रूणको लिंग पहिचान गरी गर्भपतन

भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेपछि नेपालमा बालिकाको जन्मदर घट्दै गएको पाइएको छ ।

भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेपछि नेपालमा बालिकाको जन्मदर घट्दै गएको पाइएको छ । मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले लिंग पहिचान गरेको पाइए ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ । कारबाहीको व्यवस्था भए पनि लिंग पहिचान गरी भ्रूण हत्या गर्ने क्रम बढ्दै गएको बताइन्छ । ‘गर्भपतन गर्ने र गराउनेको मिलेमतोमा गोप्य ढंगले यस्तो गैरकानुनी काम बढ्दै गएको छ, उजुरी नपर्ने भएकाले अपराधी कानुनको दायरामा बिरलै आएका छन् ।

केन्द्रीय बालकल्याण समितिले गरेको सर्वेक्षणअनुसार भ्रूणको पहिचान गरी गर्भपतन गराउनेमा पढे–लेखेकादेखि निरक्षरसम्म, आर्थिक रूपमा सम्पन्नदेखि विपन्नसम्म र समाजमा प्रतिष्ठितदेखि सर्वसाधारणसम्म सबै संलग्न छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चार वर्षसम्मका बालकको संख्या १३ लाख १४ हजार ९ सय ५७ छ भने बालिकाको संख्या १२ लाख ५३ हजार ६ छ । यसबाट बालिकाको जन्मदर घट्ने क्रम सुरु भैसकेको प्रस्ट देखिन्छ ।

आर्थिक वर्ष २०७२/७३ मा उपत्यकाका अस्पतालहरूमा जन्मिएका शिशुको तथ्यांक अध्ययन गर्दा प्रसूति गृह थापाथलीमा ८ हजार ७ सय ७२ बालकको जन्म भएको थियो भने बालिका ७ हजार ५ सय ५३ जना मात्र जन्मिएका थिए । पाटन अस्पताल ललितपुरमा जन्मिएका शिशुमध्ये बालक ३ हजार २ सय ७७ तथा बालिका २ हजार ९ सय ३ जना छन् । भक्तपुर अस्पतालमा जन्मिएका शिशुमध्ये ६ सय ४० बालक तथा ५ सय ६१ बालिका थिए । ओम अस्पताल चाबहिलमा जन्मिएका शिशुमा बालक ६ सय ३७ तथा बालिका ५ सय २७ जना छन् ।

 Image