Successfully Copied

भान्साका उपयोगी सामग्री

जीवनका परिदृश्यहरूसँगै भान्साको स्वरूपमा पनि परिवर्तन देखा परेको छ । अहिले पहिले–पहिलेजस्तो भान्सालाई घरको उपेक्षित भागका रूपमा लिइँदैन ।

जीवनका परिदृश्यहरूसँगै भान्साको स्वरूपमा पनि परिवर्तन देखा परेको छ । अहिले पहिले–पहिलेजस्तो भान्सालाई घरको उपेक्षित भागका रूपमा लिइँदैन । भान्सालाई पनि अहिले महत्वका साथ तयार गरिन्छ । अहिले यसको निर्माण तथा आन्तरिक सज्जामा पनि राम्रै रकम छुट्याइन्छ ।

सकारात्मक सोच तथा सुखी जीवनको सुरुवात भान्सामा तयार गरिएको मीठो परिकारबाटै हुन्छ । यद्यपि समयसँगै मानिसको व्यस्तता पनि बढिरहेको छ । घन्टौं भान्सामा बिताउने समय कसैसँग छैन । भान्साको काम सकेसम्म चाँडो सक्ने चाहना सबैमा हुन्छ । यसैलाई मध्यनजर गरी अहिले बजारमा भान्सामा उपयोगी हुने विभिन्न किसिमका औजार भित्रिएका छन् जसले भान्सामा गरिने कामको समय बचत गर्छन् । यस्ता औजार प्रयोग गर्दा कम मेहनत लाग्छ भने तिनले छालाको सौन्दर्य पनि जगेर्ना गर्छन्् । यस्ता औजारको स्वरूप आकर्षक हुने भएकाले यसले भान्साको आन्तरिक सज्जामा सुन्दरता थप्ने काम गर्छन् । अब लसुन केलाउन घन्टौं खर्चनु पर्दैन न त भुइँकटर खान कुनै समस्या नै मान्नुपर्छ । यस्ता सबै कामलाई मिनेटभरमै सक्ने विभिन्न औजार बजारमा उपलब्ध छन् । 

एप्पल स्लाइसर 

स्याउलाई राम्रोसँग काटिएन भने त्यो खान लायक हुँदैन । स्याउको बियाँ तथा अरू भागलाई काटेर खानका लागि तयार गर्नु कठिन कार्य मानिन्छ । यो समस्या समाधानका लागि एप्पल स्लाइसर खरिद गर्न सकिन्छ । यो उपकरण प्रयोग गर्दा स्याउलाई आकर्षक तथा समान आकारमा काट्न सकिन्छ । यसरी काटिएको स्याउलाई विविध प्रकारले प्रयोग गर्न सक्छ । यसबाट समय बचत हुनुका साथै स्याउका टुक्रा निकै आकर्षक देखिन्छन् । 

एग स्लाइसर 

उसिनेको अण्डालाई काटेर विविध रूपमा प्रयोग गर्न सकिन्छ । उसिनेको अण्डा स्लाइस गर्न निकै कठिन हुन्छ । स्टेनलेस स्टिलले बनेको एग स्लाइसरले उसिनेको अण्डालाई मिनेटभरमै आकर्षक तरिकाले टुक्रा बनाइदिन्छ । अहिले विभिन्न ब्रान्डले एग स्लाइसर बजारमा उपलब्ध गराउन थालेका छन् । एग स्लाइसर विभिन्न रंगमा पाइन्छ । यो आधुनिक भान्साका लागि उपयोगी पनि छ । यसलाई प्रयोग गरेपछि सजिलै सफा गर्न सकिन्छ । यसको ह्यान्डलले यसलाई चलाउन निकै सजिलो बनाउँछ । 

चप विजार्ड 

भान्सामा खाना पकाउँदा सबैभन्दा झन्झटिलो काम भनेको तरकारी काटकुट गर्नु हो । यस्तो काम सजिलो र छोटो समयमा गर्न सके समयमै खाना पकाउन सकिन्छ । पोर्टेबल चप विजार्डले भान्सामा खासै ठाउँ लिँदैन । यसलाई चलाउन पनि सजिलो छ । चाहिएको तरकारी तथा फलफूललाई यसको विभिन्न प्रकारका ब्लेडको सहायताले विविध आकारमा काट्न सकिन्छ । तरकारी काटेपछि त्यसलाई सफा गर्न पनि सजिलो हुन्छ । 

विस्क 

कुनै पनि कुरा तार्न वा फिट्न विस्क प्रयोग गरिन्छ । फिट्ने काम राम्रोसँग भएन भने खाद्यपदार्थ भनेजस्तो बन्दैन । यो राम्रो देखिँदैन र त्यति स्वादिलो पनि हुँदैन । कुनै पनि खाद्यपदार्थलाई एकसार बनाउन विस्क आवश्यक हुन्छ । बजारमा फरक–फरक आकारका विस्क खरिद गर्न सकिन्छ । पकाउने सामानको आकार हेरी यसको चयन गर्नुपर्छ । अण्डा फेट्न सानो आकारको विस्क प्रयोग गर्नुपर्छ भने पकौडाको व्याटर तयार गर्दा ठूलो आकारको विस्क प्रयोग गरिन्छ । स्टेनलेस स्टिलले बनेको विस्क प्रयोग गर्न निकै सजिलो हुन्छ । यसलाई सफा गर्न खासै मेहनत गर्नुपर्दैन । 

वाइसेप्ट पिलर 

आलु, मेवा, काँक्रा तथा घिरौंलाको बोक्रा नफाली त्यसलाई प्रयोग गर्न सकिँदैन । यसको बोक्रालाई पिलरले निकाल्नुपर्छ । बजारमा विभिन्न प्रकारका पिलर उपलब्ध छन् । यद्यपि वाइसेप्ट पिलरले कुनै पनि तरकारी तथा फलफूलको बोक्रा निकाल्न निकै सजिलो हुन्छ । सजिलो ह्यान्डल भएकाले यसलाई चलाउन पनि सरल छ । यसले बोक्रालाई पातलो गरेर निकाल्छ । 

कोलान्डर 

खाना पकाउने कार्य जटिल भए पनि भान्सामा प्रयोग गरिने विविध सामग्रीले त्यसलाई सहज बनाउँछन् । तरकारी काटेपछि तथा साग केलाएपछि त्यसलाई राम्रोसँग नधोई पकाउनु हुँदैन । विशेषगरी सागमा माटो मिसिने भएकाले यसलाई राम्रोसँग पखाल्नुपर्छ । कोलान्डरमा तरकारी, फलफूल, चाउचाउ तथा पास्ता आदि पखाल्न सकिन्छ । 

पेपर ग्राइन्डर 

पिज्जा तथा पास्तालाई मरिचको प्रयोगले अझ स्वादिलो बनाउँछ । यसलाई धूलो बनाएर प्रयोग गर्नुपर्छ । पेपर ग्राइन्डरले मरिचलाई राम्रोसँग धूलो बनाएर प्रयोग गर्न सहज तुल्याउँछ । यसलाई कुनै पनि खाद्यपदार्थमा छर्कन सकिन्छ । 

गार्लिक प्रेस 

लसुनबिना कुनै पनि तरकारी तयार गर्न सकिँदैन । खाना बनाउँदा लसुन छोडाउनुलाई निकै झन्झटिलो काम मानिन्छ । यसले बोक्रा छिलेर लसुनलाई चप पनि गर्छ । यसमा रहेको ह्यान्डीले बोक्रा निकाल्ने तथा चपिङ गर्ने दुवै काम गर्छ । यसबाट लसुनको पेस्टसमेत तयार गर्न सकिन्छ ।

 Image