Successfully Copied

फर्निचर घरको शोभा

अहिले फर्निचरबिनाको घर कल्पना पनि गर्न सकिँदैन। फर्निचर आधुनिक जीवनका लागि नभै नहुने सामग्री हो भने यो घर सजावट सामग्रीको अभिन्न अंग पनि हो।

अहिले फर्निचरबिनाको घर कल्पना पनि गर्न सकिँदैन। फर्निचर आधुनिक जीवनका लागि नभै नहुने सामग्री हो भने यो घर सजावट सामग्रीको अभिन्न अंग पनि हो। घरमा राखिएका फर्निचरले घरमा बस्ने मानिसको जीवनलाई पनि उजागर गर्छन्। एकसरो सामान्य फर्निचर आवश्यकता हो भने महँगा फर्निचरहरू रहर तथा रुचिभित्र पर्छन्। अहिले नेपालमा विविध शैलीका फर्निचर भित्रिएका छन्। 

उपभोक्ताहरूले घर सुहाउँदा फर्निचरबाट घर सजाउने गरेका छन्। राजधानीका कुपन्डोल, महाराजगंज, चारखाल, डिल्लीबजार तथा बागबजार आदि क्षेत्रमा फर्निचरका अनेकौं शोरुम देख्न सकिन्छ। त्यहाँ आफ्नो चाहनाअनुसार सस्तादेखि राजसी शैलीका फर्निचर खरिद गर्न सकिन्छ। त्यतिमात्र होइन अहिले प्रेस वुडका फर्निचरको पनि राम्रो बजार छ। फिटिङ गरेर सबैतिर लिएर जान सकिने भएकाले यसको माग बढेको हो। फर्निचर भन्नेबित्तिकै सामान्यतया काठका फर्निचर बुझिन्छ। काठका फर्निचर वर्षौंसम्म टिक्छन्। काठको फर्निचर जति पुरानो भयो त्यसको चमक उति बढ्दै जान्छ। फर्निचरको बजार विशेषगरी विवाहको मौसममा फस्टाउने गरेको छ। 

एसबी फर्निचरकी रमा श्रेष्ठ नेपाली फर्निचरको बजार सन्तोषजनक रहेको बताउँछिन्। अहिले मानिसहरूमा आएको जागरुकता तथा हाउजिङको बढ्दो चलनले पनि फर्निचरको माग बढाएको छ। विवाह मात्र होइन अरू सिजनमा पनि फर्निचरको माग राम्रो हुने श्रेष्ठको भनाइ छ। फर्निचर खरिद गर्दा दीर्घकालीन सोच राख्नुपर्ने श्रेष्ठको बुझाइ छ। उनको विचारमा फर्निचरले घरको भ्यालु बढाउँछ। 

नेपालमा परम्परागत रूपमा सिसौ, साल, सल्लो, बकाइनोजस्ता काठबाट फर्निचर बनाइन्थे भने अहिले जीवनशैलीको परिवर्तनले गर्दा प्लास्टिक, फलाम, बेत तथा बाँसका फर्निचर पनि प्रयोग गरिन्छन्। अहिले नेपालमा यस्ता सबै खालका फर्निचरका शोरुम छन्। नेपालमा बिस्तारै रंगीचंगी फर्निचरको अवधारणा पनि विकसित हुँदैछ। भर्खरै नयाँ घर बनाएकी रेखा शाहलाई आफ्नो घरमा कस्तो फर्निचर प्रयोग गरौं भन्ने द्विविधा छ। उनी काठ, आइरन तथा बेतका फर्निचरका विषयमा जानकारी लिँदैछिन्। उनले घरको भित्री भागमा काठका तथा बाहिरी भागमा आइरनका फर्निचर प्रयोग गर्ने निष्कर्ष निकालेकी छिन्। 

अहिले घरमा कसरी फर्निचर सजाउने भनेर इन्टेरियर डिजाइनरहरूले सल्लाह दिने गरेका छन्। कुन भागमा कस्तो शैली तथा मटेरियलका फर्निचर प्रयोग गर्ने उनीहरूले नै सल्लाह दिन थालेका छन्। वर्तमान परिस्थितिमा फर्निचर वैभवताको प्रतीकसमेत भएको छ। अहिले विभिन्न मटेरियल मिश्रण गरी फर्निचर बनाउने चलन पनि बढेको छ। 

काठका फर्निचर 

परापूर्वकालदेखि नै फर्निचर बनाउन काठ नै प्रयोग गरिन्थ्यो। पहिले आवश्यकता सीमित थिए। त्यसैले घरमा काठका खाट, फलैंचा, टाँड तथा धनसार बनाइन्थ्यो। समयको गतिसँगै काठको प्रयोग तथा फर्निचरको संसारमा निकै परिवर्तन आएको छ। अहिले कोठामा मात्र होइन घरका हरेक कुनामा फर्निचर सजाइन्छ। अहिले फर्निचर इन्टेरियरको अभिन्न अंग बनेको छ। अहिले मानिसहरू चित्ताकर्षक फर्निचरका लागि लाखौं रकम खर्च गर्छन्। फर्निचरले मानिसलाई विभिन्न क्रियाकलापमा सहयोग गर्छ। काठका फर्निचर पनि हार्ड तथा सफ्ट गरी दुई प्रकारका हुन्छन्। आफ्नो बजेटअनुसार छानी–छानी काठका फर्निचर खरिद गर्न सकिन्छ। पछिल्ला केही समययता प्रेस उडका फर्निचरले पनि बजार लिएका छन्। यद्यपि प्रेस उडका फर्निचरको हेरचाह बढी गर्नुपर्छ। नेपालमा प्रेस उडका फर्निचर मलेसिया, चीन, ताइवान तथा टर्कीबाट आयात गरिन्छ। 

  • काठका फर्निचर खरिद गर्नुभन्दा पहिले आफ्नो बजेटको ख्याल राख्नुपर्छ। 
  • आफ्नो घरको आकार तथा आवश्यकता आँकलन गर्नुपर्छ। 
  • काठको कस्तो शैलीले घर सजाउने हो आफै निर्णय गर्नुपर्छ। 
  • कस्तो प्रकारको काठको फर्निचर खरिद गर्ने हो ध्यान पुर्‍याउनुपर्छ। 
  • आफूलाई कस्तो खालको फिनिसिङ चाहिएको हो छनोट गर्नुपर्छ। 
  • फर्निचर खरिद गर्दा यसको हेरचाहसम्बन्धी जानकारी लिनुपर्छ। 
  • फर्निचरमा प्रयोग गरिएको फेब्रिक तथा रंगमा ध्यान दिनुपर्छ। 
  • फर्निचरको गुणस्तर तथा सहजतामा पनि ध्यान पुर्‍याउनुपर्छ। 
  • फर्निचर खरिद गर्ने निर्णय गर्दा विभिन्न शोरुमको भ्रमण गरेर मटेरियल तथा मूल्यको तुलना गरी निर्णय लिनुपर्छ। 

काठका फर्निचरको शोरुम 

  फर्निचर ल्यान्ड 

  इन्डेक्स फर्निचर 

 बेस्ट इन्टेरियर 

 करुणा फर्निचर 

 अल्टरनेटिभ फर्निचर 

होम मेकर 

  एसबी फर्निचर 

 लाइफ स्टाइल 

रिच इन्टेरियर्स 

काठका फर्निचरको हेरचाह 

  •    काठका फर्निचरलाई हल्का तातोपानी तथा साबुनले धुन सकिन्छ तर पानी फर्निचरमा सोसिन दिनुहुँदैन। 
  •    फर्निचर सफा गरिसकेपछि वाक्स दल्नुपर्छ। 
  •    काठका फर्निचरलाई लामो समयसम्म घाममा राख्नु हुँदैन। घाममा राख्दा रंग जाने तथा काठ चिरिने–टुक्रिने आदि सम्भावना हुन्छ। 
  •    काठका फर्निचरलाई आगो एवं तातो ठाउँमा राख्नु हुँदैन। 
  •    धूलोलाई सावधानीपूर्वक नरम कपडाले पुछ्नुपर्छ। 

बेतका फर्निचर 

नेपालमा बेतका फर्निचरको आफ्नै लोकप्रियता छ। आकर्षक, हलुका तथा कम ठाउँ खाने भएकाले पनि बेतका फर्निचर निकै लोकप्रिय छन्। काठका फर्निचरको तुलनामा बेतका फर्निचरको मूल्य केही कम हुन्छ। यो नेपाली संस्कृतिको मौलिक फर्निचर पनि हो। यसलाई अहिले विभिन्न मटेरियलसँग संमिश्रण गरी निर्माण गरिन्छ। बेतका फर्निचरको अवधारणा चीनबाट प्रारम्भ भएको हो। यसको प्रयोग आउटडोरमा बढी राम्रो देखिन्छ। यसलाई वातावरणमैत्री फर्निचर पनि भनिन्छ। यसलाई आफूलाई चाहिएको रंगमा रंगाउन सकिन्छ। हेर्दा आकर्षक देखिए पनि कमजोर हुने भएकाले यसको प्रयोग गर्दा भने निकै ध्यान पुर्‍याउनुपर्छ। 

बेतका फर्निचरलाई घर, अफिस तथा होटलमा प्रयोग गर्न सकिन्छ। बेतका फर्निचरको डिजाइन निकै राम्रो हुन्छ। नेपाली बजारमा बेतका मेच, सोफा, खाट, पुस्तक राख्ने सेल्फ तथा दराजको माग बढी छ। हिजोआज बेतलाई आइरन तथा विभिन्न फेब्रिकसँग पनि संयोजन गरिन्छ।

बेतका फर्निचरको शोरुम   

  • श्याम ब्याम्बु प्रोडक्ट 
  • दिव्य इन्टेरियर्स 
  • सिग्मा फर्निचर  

आइरन फर्निचर 

बदिलिँदो जीवनशैलीसँगै आइरन फर्निचरको माग पनि निरन्तर बढिरहेको छ। आइरन फर्निचरमा फलाम, स्टेनलेस स्टिल, एल्मुनियम आदि प्रयोग गरिन्छ। आइरन फर्निचर विशेष गरी आउटडोर तथा अफिसका लागि उपयुक्त हुन्छ। काठका फर्निचरको खुट्टाका रूपमा पनि आइरन प्रयोग गरिन्छ। पानी, कीरा तथा अरू प्राकृतिक विपत्तिले कुनै असर नपार्ने भएकाले आइरनका फर्निचर ग्राहकहरूले बढी रुचाएका हुन्। खिया लाग्नु तथा गर्‍हौं हुनु भने यसको कमजोर पक्ष हो। 

स्टेनलेस स्टिल अहिले निकै चलनमा छ। यसलाई राम्रा तथा महँगा फर्निचरमा प्रयोग गरिन्छ। यसको चमकले फर्निचर निकै शोभायमान देखिन्छ। एल्मुनियमलाई विशेषगरी अफिसमा प्रयोग गरिन्छ। यो निकै बलियो हुन्छ। कीरा तथा खियाले एल्मुनियमलाई छुँदैन। आउट डोरमा लोकप्रिय भए पनि यसलाई इनडोर पनि प्रयोग गरिन्छ। आइरनका खाट, सोफा तथा डाइनिङलाई घरभित्र प्रयोग गरिन्छ। २० आंै शताब्दीदेखि आइरन फर्निचरको चलन आएको हो। आइरन फर्निचरको विशेषता भनेको यो निकै बलियो हुनु हो। यसलाई धेरै वर्षसम्म प्रयोग गर्न सकिन्छ। अहिले आइरनलाई बेत तथा आकर्षक फेब्रिकमा संयोजन गरी तयार गरिन्छ। अहिले आइरन फर्निचर बगैंचामा बढी

प्रयोग गरिन्छ। 

रडआइरन फर्निचर खरिद गर्दा 

 रडआइरनमा प्रयोग गरिएको मटेरियलमा ध्यान पुर्‍याउनुपर्छ। 

 कहिलेसम्म प्रयोग गर्ने यकिन गर्नुपर्छ। 

 खरिद गर्न लागेको फर्निचर आफ्ना लागि उपयोगी छ कि छैन विचार गर्नुपर्छ। 

 इनडोरभन्दा आउटडोरमा प्राथमिकता दिनुपर्छ। 

 विभिन्न शोरुम घुमेर फर्निचर खरिद गर्नुपर्छ। 

रडआइरन फर्निचरको हेरचाह 

धूलोलाई समय–समयमा सफा गर्नुपर्छ। 

प्रयोग नगर्दा यसलाई कपडाले छोपेर राख्नुपर्छ। यसलाईं लामो समयसम्म प्रयोग गर्न नियमित रूपमा रंग लगाउनुपर्छ। 

स्पन्जमा डिटरजेन्ट हालेर समय–समयमा पुछ्नुपर्छ। घामको किरणले पनि यसको आयु घटाउन सक्छ। 

रडआइरन फर्निचरका शोरुम 

  •  आकर्षण फर्निचर 
  •  नेपाल आइरन फर्निचर सप्लायर्स 
  • डेकोरोन आइरन फर्निचर 
  •  कान्तिपर आइरन फर्निचर 
  • मनकामना रडआइरन फर्निचर 
  •  थोन्ना गाभा रडआइरन फर्निचर 

प्लास्टिक फर्निचर 

समयसँगै अहिले प्लास्टिकका फर्निचर पनि बजारमा उपलब्ध छन्। यसका सबै खाले फर्निचर नबने पनि नेपाली बजारमा प्लास्टिकका गार्डेन चेयर तथा स्टलहरू  लोकप्रिय छन्। कम मूल्य, हलुका, रंगीचंगी तथा टिकाउपनले गर्दा यसको माग बढ्दो छ। नेपालमा प्लास्टिक फर्निचरको माग बर्सेनि १२ प्रतिशतले बढिरहेको बताइन्छ। काठका फर्निचरको विकल्पका रूपमा यसको प्रयोग प्रारम्भ भएको हो।प्लास्टिकका फर्निचरलाई घर तथा होटलमा प्रयोग गरिन्छ। यसको मर्मत–सम्भारका लागि धेरै पैसा खर्चनु पर्दैन। नेपाली बजारमा कफी टेबल, डाइनिङ टेबल, स्टल तथा चेयर बढी बिक्री हुन्छन्। नेपालमा बाग्मती तथा डल्फिन ब्रान्डका प्लास्टिकका फर्निचरको माग बढी छ। 

 Image