Successfully Copied

टिनएजमा डिप्रेसन

अहिलेको व्यस्त समय तथा त्यससँगै आउने विभिन्न समस्याले मानिसमा डिप्रेसन बढ्दो छ जसबाट किशोर–किशोरीदेखि वृद्धवृद्धासम्म कोही अछुतो छैनन् ।

अहिलेको व्यस्त समय तथा त्यससँगै आउने विभिन्न समस्याले मानिसमा डिप्रेसन बढ्दो छ जसबाट किशोर–किशोरीदेखि वृद्धवृद्धासम्म कोही अछुतो छैनन् । अझ किशोरावस्थामा त अञ्जानमै डिप्रेसनको सिकार हुनेहरू प्रशस्त पाइन्छन् । 

डिप्रेसन के हो ?

डिप्रेसन एक प्रकारको रोग हो । केही समयका लागि हीन अथवा कम मनोबल भएको महसुस गर्नु सामान्य कुरा हो तर यस्तो भावना लामो समयसम्म रहँदा तथा कुनै कुरामा पनि रुचि नराख्दा मानिस डिप्रेसनको सिकार हुन्छ । 

कतिसम्म सामान्य

अहिले यो रोग चारैतिर फैलिएको पाइन्छ । विश्वमा हरेक दिन पाँच जना डिप्रेसनमा परेको पाइन्छ । बढ्दो आधुनिकता, भागदौड तथा प्रतिस्पर्धाले भरिएको जीवनले गर्दा डिप्रेसन बढ्दो छ । विश्व प्रख्यात विन्स्टन चर्चिल तथा अब्राह्म लिंकन पनि केही समय यो रोगबाट पीडित थिए । प्राचीन समयमा महाभारतका मुख्य नायक अर्जुन पनि डिप्रेसनमा परेको बताइन्छ । अहिलेको समयमा तनाव, सामाजिक एवं पारिवारिक कारणले गर्दा पनि डिप्रेसनको घटना बढ्दो क्रममा छ । डिप्रेसनलाई भावनात्मक बिरामी पनि भन्न सकिन्छ । चिकित्सकको सल्लाह तथा निर्देशनमा यो रोग ठीक हुन सक्छ । 

कसलाई हुन्छ डिप्रेसन

डिप्रेसनका लागि यही नै एउटा प्रमुख कारण हो भन्ने हँुदैन । यसमा हरेक प्रकारका बाहिरी तथा भित्री कारणले विशेष प्रभाव पारेका हुन्छन् । मस्तिष्कमा रासायनिक असन्तुलनले गर्दा किशोर–किशोरीहरू डिप्रेसनमा पर्छन् । डिप्रेसनका लागि तीन प्रमुख कुरालाई जिम्मेवार मानिन्छ । 

अनुवांशिकताका साथै मनोवैज्ञानिक एवं सामाजिक कारणले गर्दा मानिस डिप्रेसनमा पर्छ । त्यसमा पनि पहिलेका दुई कारणले मानिसमा हीनताबोध गराउँछ भने सामाजिक कारणले मानिस डिप्रेसनमा पर्छ । किशोरावस्थाका केटीमा भन्दा केटामा डिप्रेसनका घटना बढी पाइन्छ भने १५ वर्षसम्मका किशोरको तुलनामा किशोरीहरूमा डिप्रेसन हुने सम्भावना दुई गुणा बढी हुन्छ । 

आनुवांशिक कारण

परिवारका कुनै सदस्यमा यो रोग छ भने त्यसको असर बालबालिकामा पनि पर्छ । त्यसमा पनि जुम्ल्याहा बालबालिकामा बढी मात्रामा हुने सम्भावना हुन्छ ।

मनोवैज्ञानिक कारण

विषादकारी रोगका केही सामान्य मनोवैज्ञानिक कारण यस प्रकार छन् :–

  •     बढी आकांक्षा ।
  •     कठोरपन ।
  •     लगातार दोषी साबित हुनु ।

सामाजिक कारण

अध्ययनमा असफलता, रोग, नजिकको मानिसको मृत्यु, पारिवारिक सम्बन्धमा उतारचढाब आदि कारणले पनि मानिस डिप्रेसनमा परेको पाइन्छ । 

डिप्रेसन चिन्ने उपाय

व्यक्तिअनुसार हरेकमा फरक–फरक लक्षण देखापर्न सक्छ । हाम्रो सन्दर्भमा शारीरिक लक्षण भन्दा भावनात्मक लक्षणलाई बढी मान्यता दिइएको पाइन्छ । डिप्रेसनको लक्षण प्राय: थकान, शरीर दुख्ने, केही गर्न जाँगर नचल्ने, झर्को लाग्ने आदि हुन्छ । 

केही समयका लागि उदासी

यस्तो डिप्रेसन सामान्यतया कुनै ठूलो चोट अथवा आफ्नो नजिकको मानिसको मृत्युमा हुन्छ । यसले मानिसमा निम्न प्रकारको प्रवृत्ति उत्पन्न गर्छ :

  •     अनियन्त्रित रूपमा रुनु ।
  •     खान मन नलाग्नु ।
  •     आफ्नो रुचिको काम तथा यौन जीवनमा मन नलाग्नु ।

हल्का डिप्रेसन

  •     साथीहरूको संगतमा मन नलाग्नु ।
  •     आफूलाई अपराधी तथा काम नलाग्ने सम्झन थाल्नु ।
  •     कम ऊर्जा खपत हुने तथा सानो काममा पनि धेरै समय लाग्नु ।

गम्भीर डिप्रेसन

गम्भीर डिप्रेसनमा परेका मानिसलाई उनीहरूको जीवन नै समाप्त भएको महसुस हुन्छ । जीवनदेखि माया मार्नु तथा केही गर्न मन नगर्नु गम्भीर डिप्रेसनको लक्षण हो । यस्ता बिरामी मानिसहरूसँग भेटघाट गर्नमा मन नगर्ने तथा भीडभाडमा पनि आफूलाई एक्लो महसुस गर्ने खालका हुन्छन् । यस्ता मानिसले प्राय: आत्महत्याका बारेमा पनि सोचेको पाइन्छ । यस्ता मानिसलाई तत्काल डाक्टरकहाँ लानुपर्छ । 

ध्यान दिनुपर्ने कुरा 

कुनै व्यक्तिमा तल दिइएकामध्ये कुनै ५ कुरा मिले उसलाई डाक्टरकहाँ लगेर उपचार गराउनु आवश्यक हुन्छ । 

  •     भोक तथा भोजनमा कमी अथवा वृद्धि ।
  •     ऊर्जामा क्षति तथा छिटो थाक्नु । 
  •     सामान्य कार्यमा रुचि नलाग्नु । 
  •     आफ्नो निर्णयमा ध्यान नजानु तथा काम पूरा गर्न सफल नहुनु ।
  •     सुतेको अवस्थामा उत्तेजना ।
  •     हीन भावनाको विकास तथा अपराध बोध ।
  •     पटक–पटक आत्महत्याका बारेमा सोच्नु । 
  •     नचाहिने कुरा मनमा खेल्नु ।
  •     विद्यालय तथा क्याम्पस जान मन नलाग्नु ।
  •     ओछ्यानमा पिसाब फेर्नु । 
  •     पढाइ बिग्रनु ।

कसरी आफूलाई सम्हाल्ने

सबैभन्दा राम्रो आफैलाई नियन्त्रणमा राख्ने । सकेसम्म एक्लै नबस्ने । आफूलाई काममा सक्रिय गराउने । त्यसैगरी यो समस्या एक दिनमा ठीक हुन्छ भन्ने सोच्नु हुँदैन । यो समस्याविरुद्ध लड्न सकिन्छ । यो उपचार गर्न सकिने समस्या भएकाले यसमा फसेका व्यक्तिले हिम्मत गरेर मुक्ति प्राप्त गर्न सक्छन् । 

रोगको पहिचान

डिप्रेसनमा परेपछि त्यसको पहिचान आवश्यक छ । आफूले आफूलाई चिन्न सक्नुपर्छ । त्यसका लागि चिकित्सकसँग सल्लाह लिन सकिन्छ । समयमै सही मार्गदर्शन लिन सके यो समस्याबाट मुक्त हुन सकिन्छ । 

केही समाधान औषधि

डिप्रेसनमा परेका मानिसले मानिसहरूसँग घुलमिल मात्र नगरेर चिकित्सकको सहयोगमा औषधि पनि सेवन गर्नुपर्छ । समय–समयमा चिकित्सकसँग भेट्ने र दिइएको औषधि निश्चित समय र मात्रामा खाने । औषधिको सेवन नियमित रूपमा गर्ने र त्यसको असर छिटो भएन भनेर आत्तिने काम पनि नगर्ने किनभने औषधिले विस्तारै असर गर्छ । 

मनोचिकित्सा

मनोचिकित्ससँग पनि सल्लाह लिनुपर्ने हुन्छ । मनोचिकित्सकसँग डिप्रेसनका बारेमा सरसल्लाह गर्नु फाइदाजनक हुन्छ । 

के म फेरि सामान्य हुन सक्छु ?

हरेक व्यक्तिमा भएको डिप्रेसन हटाउन सकिन्छ तर त्यसको उपचारमा केही समय लाग्न सक्छ । यसका लागि नियमित रूपमा चिकित्सकको सल्लाह लिनुपर्छ र आफूलाई पनि स्वतन्त्र रूपमा छोड्नुपर्छ । यसका लागि परिवार तथा साथीभाइको सहयोग पनि लिन सकिन्छ । यस्तो बेलामा फेरि पनि डिप्रेसनमा पर्ने डर हुन्छ । त्यसैले निराश नभई सजग रहनुपर्छ । सकारात्मक दृष्टिकोण राख्दा डिप्रेसनबाट मुक्ति मिल्नुका साथै जीवन पनि सुन्दर हुन्छ । मनोवैज्ञानिक, शारीरिक तथा सामाजिक बाधाहरूमा नअलमल्लिई आफ्नो प्राथमिकतातर्फ लाग्नुपर्छ । यसो गर्दा सामान्य तथा सुखी जीवन बिताउन सकिन्छ । 

डिप्रेसनको रोकथाम

डिप्रेसन भएका व्यक्ति प्राय: असहाय स्थितिमा फस्छन् । म केही गर्न सक्दिन, मेरो जीवन व्यर्थ छ भन्ने भावना मनमा आउन दिनु हुँदैन । त्यसैगरी सानो तथा आफूले पूरा गर्न सक्ने लक्ष्य राख्नुपर्छ । यसले गर्दा विस्तारै आफ्नो मनोबल बढ्दै जान्छ । मनोबल बढाउँदै लान आफूमा केही गर्छु भन्ने भावनाको विकास गर्न सक्नुपर्छ । 

निम्न कुराबाट लाभ लिन सकिन्छ

  •     सकारात्मक कुराको विकास ।
  •     आफ्नो आवश्यकता, विचार तथा भावनामा दृढ विश्वास । 
  •     अनावश्यक तनावबाट जोगिने । 
  •     आफूलाई पूर्णरूपमा सहयोग, माया तथा विश्वास गर्ने साथीसँग कुराकानी गर्ने । 

आत्महत्या तथा किशोरावस्था

आत्महत्याको एउटा कारण डिप्रेसन पनि हो । कम मनोबल भएका युवा–युवतीले आत्महत्या गरेको पाइन्छ । आत्महत्याको जोखिम भएका किशोर–किशोरीमा निम्न प्रकारको प्रवृत्ति पाइन्छ । 

  •     डिप्रेसनको सिकार ।
  •     कुलतमा लागेका ।
  •     हरेक पल समस्यामा परेका ।
  •     पहिले पनि आत्महत्याको प्रयास गरेका ।
  •     शारीरिक तथा यौन रूपमा शोषित ।
  •     कानुनी तथा अनुशासनको संकटमा फसेका ।
  •     घरबाट भागेका ।
  •     आत्महत्या गरेका साथी तथा सदस्यको संगत भएका ।
  •     सधै आत्महत्या तथा मृत्युका बारेमा कुराकानी गर्ने ।
  •     आफैलाई आघात पुर्‍याउने ।

यस्तो मनोवृत्ति भएका किशोर–किशोरीलाई मनोवैज्ञानिक परामर्शको आवश्यकता हुन्छ । यस्तो अवस्थामा मनोपचार, औषधोपचार तथा पारिवारिक उपचार आदि गर्न सकिन्छ । 

दीशाहीन किशोरावस्था

किशोरावस्थामा प्रवेश गरेका किशोर–किशोरी स्वतन्त्ररूपमा जीवन निर्वाह गर्न रुचाउँछन् । उनीहरू आफ्नै हिसाबले आफ्नै मूल्य–मान्यता बनाउन मन पराउँछन् । आफूलाई खुसी लाग्ने कुरामा रमाउने उनीहरूको बानी हुन्छ ।

संयुक्त परिवारबाट एकल परिवारमा रम्दै गएको हाम्रो समाजमा अहिले आमाबाबु तथा छोराछोरीको सम्बन्धमा पनि परिवर्तन आएको पाइन्छ । बालबालिकाहरूको अराजक बानी, जिद्दी स्वभाव तथा आफूखुसी गर्ने बानीले अभिभावकहरूलाई दिक्क बनाएको पाइन्छ । अभिभावक तथा छोराछोरीबीच तालमेल नमिल्दा छोराछोरीले बाटो बिराउने उदाहरण पनि प्रशस्तै छन् । यस्ता किशोर–किशोरीको संख्या पनि बढ्दो छ । उनीहरू कुनै पनि प्रकारको मर्यादा मान्न तयार हुँदैनन् न त आफ्नो परम्परा नै मान्न तयार हुन्छन् । अहिलेका युवाहरू आफ्नो हिसाबमा चल्न रुचाउँछन् । यो सबैको कारण निम्न मानिन्छ :

किशोर मनमा आउने खुल्दुली

किशोरावस्थामा आमाबाबुले गर्ने गालीलाई आफ्नो मान्यताविरुद्धको रोकटोक मानिन्छ । उनीहरूलाई गालीभित्र लुकेको माया थाहा हुँदैन । उनीहरूलाई आफ्ना अभिभावक शत्रुजस्तै लाग्न थाल्छन् । यस्तो अवस्थामा उनीहरूको मनमा एक प्रकारको असन्तुलन तथा उकुसमुकुस देखापर्न थाल्छ । यतिबेला यदि मुटु दिमागमाथि हावी भए राम्रो–नराम्रो कुराबीच कुनै फरक देख्न नसक्ने स्थिति उत्पन्न हुन्छ । उनीहरूको भावनामा विवेकको अधिकार हुन्छ र समस्याले घेरिएर दिशाहीन हुन समय लाग्दैन । 

सम्बन्धमा असन्तुलन

हरेक सिक्काका दुई पाटा हुन्छन् । सिक्काको एक भाग छोप्यो भने अर्को भागको अस्तित्व देखिँदैन । त्यसैले दुवै भागको राम्रोसँग हेरचाह गर्नुपर्छ । आमाबुबाको पक्षपातले भरिएको बानी, गाली तथा आफ्ना सन्तानको मनोदशाका बारेमा अनभिज्ञ रहँदा पनि यो स्थिति उत्पन्न हुन्छ । त्यसैगरी आमाबुबाको डिभोर्स, असमयमा दुईमध्ये एकको मृत्यु तथा एक–अर्कामा झगडा, टुक्रिएको परिवार आदि कारणले गर्दा पनि बालबालिका बिग्रन्छन् । संरक्षणको अभावले गर्दा पनि बालबालिका आपराधिक कार्यमा लागेका पाइन्छन् । यस्तो अवस्थामा आमाबुबाले दायित्वबोध गर्नु आवश्यक छ । त्यसैले आमाबुबाले आफ्ना सन्तानलाई सही मार्गदर्शन गर्नुपर्छ । 

उचित शिक्षाको अभाव

किशोरावस्थामा कुनै पनि बालबालिका विभिन्न खालका सामाजिक तथा मानसिक परिवर्तनका प्रश्न लिएर आउँछन् । त्यस्तो अवस्थामा उनीहरूभित्र आएका जिज्ञासा एवं परिवर्तनको विषयमा उचित जानकारी दिनु आवश्यक छ । यो शिक्षा या त आमाबाबुले दिनुपर्छ वा शिक्षक तथा शिक्षा प्रणालीले दिन सक्छ । उचित शिक्षाको अभावमा किशोरावस्थामा प्रवेश गरेका बालबालिका गलत बाटोमा लाग्न सक्छन् । त्यस्तो स्थितिमा गलत मानिसको सहारा लिई विभिन्न खालका समस्यामा फस्ने सम्भावना पनि हुन्छ ।

टेलिभिजन तथा चलचित्रको जिम्मेवारी

आजका किशोर–किशोरीहरूलाई पश्चिमी सभ्यताको प्रभाव, फेसन आदिले आकर्षित गरेको छ । पश्चिमी सभ्यताको बोलवाला, संयुक्त परिवारको कमी, मिडियाको आवश्यकताभन्दा बढी प्रभाव आदि कारणले पनि किशोरावस्थामा प्रवेश गरेका युवाहरूले गलत बाटो समात्ने गरेका छन् । त्यसका लागि फरक–फरक प्रकारका टेलिभिजन, चलचित्र तथा त्यसको प्रभाव जिम्मेवार छ । टेलिभिजन तथा चलचित्रमा देखाइने आपराधिक कार्यक्रमले युवाहरूको कोमल मनमा नकारात्मक प्रभाव परेको छ । त्यसैगरी सपनाको संसारमा बाँच्न सिकाउने टेलिभिजन कार्यक्रम तथा चलचित्रले पनि उनीहरूलाई यथार्थबाट टाढा पुर्‍याउँछन् । 

विचारको मतभेद

आमाबुबा तथा उनीहरूका सन्तानमा विचारको मतभेदले गर्दा पनि पारिवारिक माया, आत्मीयता, सहयोग तथा विश्वासमा कमी आएको छ । एक–अर्काको विचार नमिल्दा परिवारमा तनावको स्थिति उत्पन्न हुन्छ । आमाबुबाले यो के जमाना आएको भन्दै गाली गर्ने तथा छोराछोरीले आफ्ना अभिभावकलाई समयअनुसार चल्न नसक्ने आउट डेटेड भन्दै एक–अर्काको विचारको सम्मान नगर्ने हुन्छन् । आमाबुबालाई जति माया गरे पनि बालबालिकाहरूले आफ्नो धारणा नबुझेजस्तो लाग्छ । यसले परिवार तथा बालबालिकामा विद्रोह उत्पन्न गराउँछ । 

ठूला मानिसको अनुशरण

अहिले धूम्रपान अभिभावक तथा शिक्षकहरूका लागि ठूलो चुनौतीका रूपमा आएको छ । धेरैजसो किशोर धूम्रपानलाई आफ्नो फेसन सिम्बोल मान्न थालेका छन् । यो कुलत एक अर्काको हेर्दै सिको गरिएको पाइन्छ । आजको वैज्ञानिक युगका बालबालिकालाई धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने ज्ञान हुँदाहँुदै पनि उनीहरू यसमा फस्ने गरेका छन् । यसका लागि साथीभाइ पनि जिम्मेवार हुन्छन् । धूम्रपानमा उनीहरूको घर पनि जिम्मेवार छ । घरका कुनै ठूला सदस्यले धूम्रपान गरेको देख्दा त्यो कुरा चाख्न मन लाग्नु मानवीय स्वभाव नै हो । यो बानी पछि विस्तारै आवश्यकतामा विकास हुन समय लाग्दैन । धूम्रपानको लतमा लागेका बालबालिका विस्तारै अरु कुरा पनि प्रयोग गर्न पछि पर्दैनन् । 

आवारापनलाई गम्भीरतापूर्ण नलिनु

अहिले बालबालिका ढिलो घर आए पनि खासै वास्ता गरिँदैन । यसलाई पश्चिमी सभ्यतासँग जोड्दै स्वतन्त्रता भनिन्छ । नेपाली सभ्यतालाई ध्यानमा राख्दै बालबालिकाको घरमा आउने समय निश्चित गर्न सकियो भने पनि उनीहरूलाई समयमै सम्हाल्न सकिन्छ अन्यथा विस्तारै विद्यालय छाडी बाहिर घुम्न जाने बानीको विकास नहोला भन्न सकिँदैन । त्यसैगरी जाँड–रक्सीको कुलत, आवारागर्दी तथा अश्लील साहित्यमा रुचि बढ्दै गए उनीहरूलाई सम्हाल्न कठिन हुन्छ । 

हरेक अभिभावकको सपना आफ्ना सन्तानले राम्रो शिक्षा प्राप्त गरून् भन्ने हुन्छ । त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्नु आवश्यक छ । त्यति गर्दागर्दै पनि बालबालिकाले आफ्नो बाटो बिराउन सक्छन् । यसका लागि अभिभावकले आफूलाई राम्रो साथीका रूपमा पनि प्रस्तुत गर्नु आवश्यक छ । अभिभावक तथा सन्तानबीच मान–सम्मानको पनि ख्याल राख्नुपर्छ । 

किशोरावस्थाको लभ अफेयर

अहिले समाजमा ७ कक्षामा अध्ययनरत बालबालिकाका लागि पनि लभ अफेयर भन्ने कुरा सामान्य हुँदै गएको छ । बढ्दो आधुनिकरणका साथै टेलिभिजन तथा चलचित्रले पनि यसमा विशेष प्रभाव पारेको छ । सानै उमेरका केटाकेटी पनि जीवनसाथीको खोजीमा लाग्न सक्छन् । यो उमेरमै लभ, अफेयर, ब्रेक अप तथा प्याच अप सामान्य बन्दै गएको छ । एउटा विद्यालयमा ९ कक्षामा अध्ययनरत आस्था आफूभन्दा एक तह माथि अध्ययनरत नरेशसँग भागेर विवाह गर्ने सुरमा छिन् । आस्थाको घरमा नरेशका बारेमा सबैलाई थाहा भएको तथा घरमा सबैले उनलाई गाली गरेकाले उनी भागेर जाने सुरमा देखिएकी हुन् । नरेशँसग बस्न उनी जे गर्न पनि तयार छिन् । सानो उमेर तथा अपरिपक्व दिमागले सही र गलतका बीचमा फरक नदेख्दा बालबालिकाहरू यस्तो ठूलो गल्ती गर्न पुग्छन् । यस्तोमा परिवारका सदस्यहरू पनि उनीहरूलाई सम्झाउनुभन्दा गाली गर्नतर्फ लाग्ने हुँदा बालबालिकाहरूले गल्तीमाथि गल्ती गर्न सक्छन् । 

मायामा परेको जानकारी भए

  •     मायामा परेको थाहा भए मेरो सबै कुरा तिमी नै हौ भनेर आफ्नो पढाइ–लेखाइ एकातिर थन्काउनु हुँदैन । किनभने जबसम्म आफ्नो खुट्टामा उभिन सकिँदैन तबसम्म माया सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । 
  •     आफ्नो मायाको इन्फ्याच्युयसनका बारेमा आफ्ना मिल्ने अभिभावकलाई भन्ने । यसबाट सही मार्गदर्शन प्राप्त गर्न सकिन्छ । 
  •     आफ्नो सम्बन्धलाई अघि बढाउनुभन्दा पहिले माया हो कि एकछिनको आकर्षण हो राम्रोसँग बुझ्ने । 
  •     पछि आफ्ना लागि कुनै कठिनाइ उत्पन्न नहोस् भनेर सावधान रहने । 
  •     यौन सम्पर्कबाट टाढै रहने । यौन सम्पर्कमा आधारित सम्बन्ध लामो समय टिक्दैन । साथी नै शारीरिक सम्पर्कका लागि बनाइएको हो भने त्यो माया होइन शारीरिक सम्पर्कका लागि बनाइएको सम्बन्ध मात्र हो । 

मिडियाको प्रभाव

समाचार तथा टिभीमा हामीले स्कुल तथा कलेज अध्ययनरत किशोर–किशोरीहरूका सम्बन्धमा पढ्ने गरेका छौं । त्यसमा प्रेमीले आफ्नी प्रेमिका बनाउन नपाएर किडन्याप तथा हत्या गरेका घटना पनि देखाइन्छ । यसले मनमा डर पनि पैदा गरेको हुन्छ । एक प्रकारका मानिसलाई त्यसले जागरुक बनाउँछ भने अर्को प्रकारका मानिसको मनमा डर–त्रास बढ्छ । ग्ल्यामराइजेसनको बढ्दो प्रभाव तथा मानिसको त्यसप्रतिको रुचिले गर्दा अहिले सेक्स सामान्य भएको छ । स्कुले विद्यार्थीका लागि समेत यौन जीवन कुनै नौलो कुरा मानिन छोडेको पाइन्छ । 

फिल्मी माया

टिभी सिरियल तथा फिल्मले मायाको परिभाषा नै फेरिदिएको छ । कतिपय सिरियलले स्कुल तथा कलेजमा प्रेम तथा रोमान्सको डढेलो नै लगाउँछन् । चलचित्रमा अफेयर पछि केटाकेटी घर छोडेर भाग्ने सिनले पनि किशोरावस्थामा प्रभाव पारेको पाइन्छ । उनीहरूले उक्त स्थानमा आफूलाई राखेर हेरेका कारणले यस्तो हुन्छ । 

इन्फ्याचुयसनको अर्थ माया होइन

किशोरावस्थाको माया प्राय: शारीरिक आकर्षणमा आधारित हुन्छ । यो उमेरमा मायाका बारेमा कमैलाई जानकारी हुन्छ । उनीहरूले सोचेको माया मात्र शारीरिक आकर्षण हुन्छ । त्यसैले इन्फ्याचुयसनलाई माया सम्झनु हुँदैन । यो उमेरमा यस्ता घटना धेरै नै पाइन्छन् । त्यसैले किशोरावस्थामा प्रवेश गरेका सन्तानलाई यस विषयमा राम्रो ज्ञान दिनुपर्छ । पछि पछुताउनु भन्दा समयमै इन्फ्याचुयसन र मायाबीचको फरक बुझाउन सक्नुपर्छ । 

बाल्यावस्थामै आइडियलको विकास

सेक्सोलोजिस्टहरूका अनुसार बालबालिकाले ८ वर्षदेखि नै आइडियलको इमेज बनाउन थाल्छन् । किशोरावस्थामा पुग्दासम्म उनीहरूको जीवनमा आउने–जाने प्राय: मानिसतर्फ उनीहरू आकर्षित भएको पाइन्छ । यस बीच कसैले मीठो तथा आत्मीय ढंगले बोले उनीहरूलाई जीवनसाथीका रूपमा हेरिएको पनि पाइन्छ । अञ्जानमा कुनै मानिसप्रति आकर्षण भएर मायामा परेको अनुभव हुन्छ । यद्यपि त्यो माया नभएर मात्र इन्फ्याचुयसन हो जुन केही समयपछि समाप्त हुन्छ । 

शारीरिक परिवर्तन

किशोर–किशोरीहरूमा विपरीत लिङ्गीप्रति अञ्जानमा आकर्षणको विकास हुन थाल्छ । यो उनीहरूको सेक्स हार्मोन विकास हुने समय हो । यसबाहेक यो समय शारीरिक परिवर्तनको पनि हो । आफ्नो शारीरिक परिवर्तनका बारेमा ज्ञान नहँुदा पनि मनमा जिज्ञासाको भावना आउँछ । आफ्ना अभिभावकसँग साथीको जस्तो सम्बन्ध नभएका मानिसका लागि यी सबै कुरा सेयर गर्न कठिन हुन्छ । फलस्वरूप उनीहरू आफ्नो मनको कुरा साथीहरूलाई भन्छन् । कोएजुकेसनका कारण कक्षामा केटाकेटी दुवै सँगै हुन्छन् । आपसमा एक–अर्काका कुरा सेयर गर्छन् । विस्तारै यो साथ इन्फ्याचुयसनमा परिवर्तन हुन समय लाग्दैन । त्यसपछि उक्त व्यक्तिसँग मायामा परेको महसुस हुन थाल्छ । 

अभिभावकको जिम्मेवारी

किशोरावस्थामा पुगेका सन्तानका अभिभावकको जिम्मेवारी अझ बढी हुन्छ । अभिभावकले आफ्ना छोराछोरीसँग खुलेर कुराकानी गर्नुपर्छ । सन्तानलाई शारीरिक विकासका बारेमा पर्याप्त जानकारी दिनुपर्छ जसले गर्दा उनीहरू आफ्नो मनमा लागेका कुरा बोकेर अरूकहाँ नजाऊन् । त्यसैले साथीको जस्तो व्यवहार गर्ने, उनीहरूको विद्यालयमा हुने गतिविधिका बारेमा जानकारी पनि लिने । उनीहरूलाई कोही मन परेको छ भने त्यसको जानकारी आफूलाई दिन लगाउनुपर्छ । उनीहरूका हरेक कुराको जानकारी भए सम्झाउन पनि सजिलो हुन्छ । यदि उनीहरूलाई कोही मन परेको छ भने पनि त्यो माया नभई इन्फ्याचुयसन हो भन्न पनि सजिलो हुन्छ । उमेर र त्यसको आकर्षणका बारेमा उनीहरूलाई उपयुक्त ज्ञान दिनुपर्छ । यो समय भनेको आफ्नो भविष्य बनाउने हो । यसका लागि उनीहरूलाई सजग राख्नुपर्छ । 

धेरै रोकटोक नगर्ने

किशोरावस्थाका युवा–युवती आफ्नो इमेजलाई लिएर एलर्ट हुन्छन् । त्यसका साथै उनीहरूमा एग्रेसिभनेसको मात्रा पनि बढ्छ । आफूलाई कुनै कुरामा चित्त बुझेन भने उनीहरू आफ्नो रिस कि त सामानमा वा आफूभन्दा कमजोर कुरामा पोख्छन् । यसका साथै जुन काम गर्न रोक लगाइन्छ त्यही काम गर्न तत्पर हुन्छन् । यसको कारण हार्मोनल चेन्ज हो । यसले गर्दा कहिलेकाहीँ उनीहरू आफ्नो भावना पनि बुझ्न नसक्ने स्थितिमा हुन्छन् जसले उनीहरूको बढी प्रशंसा गर्छ त्यसतर्फ उनीहरूको आकर्षण बढ्छ । 

यो उमेरमा व्यक्ति इमोसनल हुन्छ । यसका साथै शारीरिक तथा मानसिक परिवर्तनका कारण द्विविधा पनि बढी हुन्छ । जसले गर्दा सही वा गलत छुट्याउन पनि सक्दैनन् । यो उमेरका युवा आफूलाई ठूलो भएको सम्झन थाल्छन् र अभिभावकबाट आफू रेस्पोन्सिबल भएको कुरा सुन्न मन पराउँछन् भने अभिभावकका लागि आफ्ना बालबालिका सधैं सानाका सानै हुन्छन् । यसले गर्दा उनीहरू विपरीत लिङ्गीप्रति आकर्षित भएको पनि पाइन्छ । टिनएजमा इन्फ्याचुयसन पनि छिटो हुन्छ । उनीहरू पूर्णरूपमा परिपक्व भैसकेका हुँदैनन् । आफ्नो भावनामा पनि नियन्त्रण गर्न सक्दैनन् । रिएक्सनको तरिका पनि फरक हुन्छ । किशोरीहरूको तुलनामा किशोरहरू छिटो इन्फ्याचुयसनमा परेको पाइन्छ । यसको कारण सेक्स हार्माेनको परिवर्तन हो । किशोरहरूको सेक्स हार्मोन टेस्ट्रस्ट्रान एग्रेसिभनेस तथा एडभेन्चर बढाउने खालको हुन्छ जब कि किशोरीहरूको सेक्स हार्मोन एस्ट्रिजनले त्यसलाई नियन्त्रन गरेको हुन्छ । त्यसैले किशोरहरू मायामा छिटो पर्छन् र त्यसलाई छोड्न पनि समय लगाउँदैनन् । 

त्यसका साथै रेस्पोन्स मिलेन भने उनीहरू फ्रस्टेट हुन्छन् र आत्महत्या गर्न पनि पछि पर्दैनन् । यस्तो अवस्थामा अभिभावकको जिम्मेवारी आफ्ना सन्तानलाई सही मार्गदर्शन गर्नु हुन्छ । आफूलाई मन पर्‍यो भन्दैमा कोही आफ्नो हुँदैन भन्ने कुरा समयमै बुझ्नु आवश्यक छ । 

 Image