Successfully Copied

मेकअप आर्टिस्टमा नाम पनि दाम पनि

वर्तमान प्रतिस्पर्धीे समयमा जोकोही आफ्नो करियरलाई लिएर जागरुक बन्दै गएका छन् । अहिले करियरका माध्यमबाट मानिसहरू दाम मात्र होइन नाम पनि कमाउन चाहन्छन् ।

वर्तमान प्रतिस्पर्धीे समयमा जोकोही आफ्नो करियरलाई लिएर जागरुक बन्दै गएका छन् । अहिले करियरका माध्यमबाट मानिसहरू दाम मात्र होइन नाम पनि कमाउन चाहन्छन् । मेकअप आर्टिस्ट अहिलेको समयका लागि ग्ल्यामरस तथा लोकप्रिय पेसा हो । अहिले यसको माग सबैतिर छ । विवाह, व्रतबन्ध आदि विभिन्न अवसरमा मेकअप आर्टिस्टबाट मेकअप गराइन्छ ।

त्यसबाहेक विभिन्न फेसन शो, टिभी, चलचित्र तथा स्टुडियोहरूमा पनि मेकअप आर्टिस्टको आवश्यकता पर्छ । यो यस्तो पेसा हो जसमा लोकप्रियताका साथमा सफलता पनि छ । अहिले राम्रा मेकअप आर्टिस्टलाई त भ्याइनभ्याइ हुन्छ । यसको माध्यमबाट ग्ल्यामरको संसारसँग जोडिन सकिन्छ । 

के छ फेसन संसारको हालखबर ?

ग्ल्यामर तथा फेसनको लहरले सौन्दर्य उद्योगलाई निकै लोकप्रिय बनाइदिएको छ । अहिले महिला मात्र होइन पढेलेखेका पुरुषहरू पनि यो पेसामा संलग्न छन् । यो पेसामा उनीहरू सफल पनि भएका छन् । आफूमा कला छ भने विभिन्न सेलिब्रेटीलाई सजाएर आफ्नो कला संसारसामु पुर्‍याउन सकिन्छ । आफै स्टुडियो खोलेर तालिम प्रदान गर्न सकिन्छ । नेपालमा पनि मेकअप आर्टिस्टको अवधारणा निकै अघि बढिरहेको छ । नेपालमा स्नेहा मेकअप स्टुडियो खोलेर मेकअप आर्टिस्ट स्नेहा राणाले मेकअप आर्टिस्टको नयाँ परिभाषा स्थापित गर्न सफलता प्राप्त गरिन् । अहिले नेपालमा विभिन्न मेकअप स्टुडियो खुलेका छन् जहाँ केवल विवाहका लागि मेकअप तथा तालिम प्रदान गरिन्छ । अहिले नेपालमा नाम चलेका मेकअप आर्टिस्टहरू छन् जसले आफ्नो कलाका कारण नाम तथा दाम दुवै कमाइरहेका छन् । सकिल कुँवर, राजेश घिमिरे, सुजन आले, सन्तु तामाङ, सोफी तथा संगीता लामाजस्ता मेकअप आर्टिस्टले आफ्नो कामबाटै लोकप्रियता हासिल गरेका हुन् । 

आर्ट अफ मेकअप                                   

आर्ट अफ मेकअपमा कलर थ्योरी, मेकअप टुल्स एवं करेक्टिभ मेकअप तथा नैननक्स मेकअपका माध्यमबाट ज्ञान प्रदान गरिन्छ । अहिले पार्टी, इन्गेजमेन्ट, वाटरप्रुफ मेकअप तथा ब्राइडल मेकअप गर्न पनि सिकाइन्छ । यो कोर्समा विद्यार्थीहरूलाई सबै मेकअप गराउन कुशल बनाइन्छ । 

मिडिया मेकअप 

यसलाई केही एडभान्स मेकअप पनि भनिन्छ । यो मिडिया मेकअप हो । यसमा बेसिकका साथै पोर्टफोलियो, टिभी, एडफिल्म, सिलिकन, फेन्टसी, र्‍याम्प एवं स्टेज मेकअपमा पर्फेक्ट बनाइन्छ । यसका साथै बन, विग्स र फल्स जस्ता केश सज्जासम्बन्धी ज्ञान प्रदान गरिन्छ । 

पर्मानेन्ट मेकअप 

पर्मानेन्ट मेकअपको कोर्स गरेर आफूलाई उत्कृष्ट रूपमा उभ्याउन सकिन्छ । आजको व्यस्त जीवनशैलीमा मेकअपका लागि समय निकाल्न निकै कठिन हुन्छ । यो कोर्समा छालाको विश्लेषण तथा पर्मानेन्ट मेकअपसम्बन्धी ज्ञान प्रदान गरिन्छ भने आइब्रो, सेपिङ, पर्मानेन्ट गाजल, आइलाइनर, लिपलाइनर, लिप कलर आदि लगाउन सिकाइन्छ । यो कोर्समा नेल कल्चर, नेल आर्ट तथा आइलेस परमिङका साथै पर्मानेन्ट हेयर कलरसम्बन्धी सीप पनि सिकाइन्छ । 

एअर ब्रस मेकअप 

एअर ब्रस मेकअपमा मेसिनद्वारा मेकअप गर्न सिकाइन्छ । पारम्परिक मेकअपमा स्पन्ज प्रयोग हुन्छ भने यसमा स्पन्ज तथा ब्रस प्रयोग हुन्छ । यसमा एअर गन पनि प्रयोग गरिन्छ । यो मेकअपलाई कम समयमै सम्पन्न हुने स्वस्थकर मेकअप मानिएको छ । 

अवसर 

यी कोर्स पूरा गरेपछि विभिन्न सैलुन, विज्ञापन एजेन्सी, फेसन शो, चलचित्र, टिभी, कम्मेटिक कम्पनी तथा लाइफ स्टाइल जर्नलिज्म आदिमा अवसर प्राप्त गर्न सकिन्छ । यसका साथै विभिन्न सैलुन तथा मेकअप स्टुडियोमा पनि काम गर्न सकिन्छ । आत्मनिर्भर बन्न चाहने महिलाका लागि यो उत्कृष्ट पेसा हुनसक्छ । 

 Image