Successfully Copied

गर्भधारण गर्नुअघि

महिलाका लागि आमा बन्नु खुसीको कुरा हो । आफ्नो सन्तान स्वस्थ तथा सुन्दर होस् भन्ने चाहना सबै महिलामा हुन्छ । यसका लागि महिलाले विवाहपछि योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ भने महलिा रोग विशेषज्ञको सल्लाह पनि लिनुपर्छ ।

महिलाका लागि आमा बन्नु खुसीको कुरा हो । आफ्नो सन्तान स्वस्थ तथा सुन्दर होस् भन्ने चाहना सबै महिलामा हुन्छ । यसका लागि महिलाले विवाहपछि योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ भने महलिा रोग विशेषज्ञको सल्लाह पनि लिनुपर्छ ।

गर्भावस्थामा महिलाले आरामका साथै खानपानमा पनि ध्यान दिनु आवश्यक छ । कतिपय महिलालाले गर्भधारणको सुरुमै स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने कुरालाई त्यति वास्ता गर्दैनन् । महिलाले गर्भधारण गर्नुअघि पनि आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । 

आफू जुन महिनामा गर्भवती हुन चाहेको हो त्यसभन्दा तीन महिना पहिलेदेखि नै खानपानप्रति सजग रहनुपर्छ । खानामा क्याल्सियम, आइरन तथा प्रोटिनको मात्रा बढाउनुपर्छ । यसका लागि हरियो सागपात, दुग्ध उत्पादन तथा फलफूल पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । गर्भधारण गर्नुअघि पनि श्रीमान्–श्रीमतीले महलिा रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । चिकित्सकलाई बाल्यावस्थामा आफूले लगाए नलगाएका खोपका बारेमा जानकारी दिनुपर्छ । खोप लगाएको तीन महिनापछि मात्र गर्भधारण गर्नु उचित हुन्छ । 

गर्भधारण गर्नुअघि महिलाले मधुमेह जाँच गराउनुपर्छ । आमामा कुनै समस्या भए शिशुलाई पनि त्यही समस्या हुने सम्भावना रहन्छ । महिलाले गर्भनिरोधक औषधि सेवन गरिरहेको भए गर्भधारण गर्नु तीन महिनाअघि नै त्यस्ता औषधिको सेवन गर्न बन्द गर्नुपर्छ । गर्भधारण गर्नुभन्दा तीन महिनाअघिदेखि चिकित्सकको सल्लाहअनुसार फोलिक एसिड सेवन गर्नुपर्छ । सबैभन्दा पहिले शिशुको मस्तिष्क तथा ढाडको हड्डीको निर्माण सुरु हुन्छ । त्यसलाई बनाउन फोलिक एसिडको महत्वपूर्ण भूमिका हुन्छ । यसको कमीले शिशुको स्नायु प्रणालीसँग सम्बन्धित समस्या हुनसक्छ ।

धेरैजसो महिलामा एनिमियाको समस्या हुन्छ । हेमोग्लोबिनको कमीका कारण आमा तथा शिशु दुवैलाई खतरा हुन सक्छ । त्यसैले गर्भधारण पहिले महिलाले रगत परीक्षण गराउनुपर्छ । गर्भधारण गर्नुभन्दा पहिले श्रीमान्–श्रीमतीले थैलेसिमियाको जाँच गराउनुपर्छ । यो वंशानुगत रोग हो । श्रीमान्–श्रीमतीमा थैलेसिमिया माइनर भए शिशुमा मेजर थैलेसिमिया हुने खतरा हुन्छ । यो एउटा गम्भीर रोग हो । यसमा रोगीलाई प्रत्येक तीन महिनाको अन्तरालमा रगत ट्रान्सफ्युजनको आवश्यकता पर्छ । यसैगरी श्रीमान्–श्रीमती दुवैले एचआईभी टेस्ट गराउनुपर्छ । आमाको एचआईभी पोजिटिभ भए शिशु पनि त्यसको सिकार हुन्छ । 

हेपाटाइटिस बी यौन संक्रमणबाट फैलने रोग हो । यसले गर्दा श्रीमान्–श्रीमती दुवैले यसको जाँच गराई खोप लगाउनुपर्छ । गर्भधारण गर्नुअघि महिलाले सिफलिसको पनि जाँच गराउनुपर्छ । किनभने यसको कारणले गर्भधारणमा धेरै किसिमका समस्या उत्पन्न हुन सक्छन् । शिशु जन्माउने योजना बनाउनुअघि श्रीमान्–श्रीमतीले धूम्रपान तथा मद्यपान गर्ने बानी छोड्नुपर्छ । पुरुष भन्दा पनि महिलाहरू यो विषयमा बढी सचेत हुनुपर्छ । यसले गर्दा शिशु मानसिक तथा शारीरिक रूपमा विकृत हुने वा गर्भपतन हुने सम्भावना रहन्छ । श्रीमान्को परिवारमा कुनै खास रोग भए चिकित्सकलाई बताउनुपर्छ ।

नियमित रूपमा कुनै औषधि सेवन गरिरहेको भए चिकित्सकलाई जानकारी दिनुपर्छ । आमा बन्नुअघि प्रत्येक महिलाले आफ्नो वजनमा ध्यान दिनुपर्छ । वजन पूर्णरूपमा सन्तुलित हुनुपर्छ । आवश्यक भन्दा बढी मोटो तथा धेरै नै दुब्लो हुनु पनि गर्भधारणका लागि हानिकारक हुन्छ । आमाको वजन धेरै भए प्रिम्योचर डेलिभरी हुने सम्भावना हुन्छ । यसैगरी वजन कम हुँदा पनि अनेक किसिमका स्वास्थ्य समस्याको सामना गर्नुपर्छ । श्रीमान्–श्रीमतीमा डिप्रेसन, उच्च रक्तचाप वा कुनै किसिमको मनोवैज्ञानिक समस्या भए चिकित्सकलाई बताउनुपर्छ । यो समस्याका कारण शिशुको हेरचाहमा बाधा उत्पन्न हुनसक्छ । 

 Image