Successfully Copied

जाडो महिनामा के खाने ?

जाडोको सुरुवातसँगै आफ्नो खानपानमा परिवर्तन ल्याउनुपर्छ । जाडोमा शरीर न्यानो बनाउने खाद्यपदार्थ सेवन गर्नुपर्छ । खानपानमा लापरबाही गर्दा बिरामी परिने सम्भावना बढ्छ ।

जाडोको सुरुवातसँगै आफ्नो खानपानमा परिवर्तन ल्याउनुपर्छ । जाडोमा शरीर न्यानो बनाउने खाद्यपदार्थ सेवन गर्नुपर्छ । खानपानमा लापरबाही गर्दा बिरामी परिने सम्भावना बढ्छ । जाडो महिना विशेषगरी बालक तथा वृद्धवृद्धाका लागि कष्टकर हुन्छ तसर्थ खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । गर्मीका लोकप्रिय खाद्यपदार्थ जाडोमा सकेसम्म प्रयोग गर्नुहुँदैन । जाडोमा जतिसुकै न्याना पहिरन लगाए पनि वा जतिसुकै तातो वातावरणमा बसे पनि खानपान सन्तुलित भएन भने बिरामी हुने सम्भावना वृद्धि हुन्छ । त्यसैले जाडो मौसममा शरीर तातो बनाउने खानेकुरा सेवन गर्नुपर्छ । बिहान तथा बेलुका मनतातो पानी सेवन गर्नुपर्छ । अल्कोहल तथा क्याफेन सकेसम्म प्रयोग गर्नुहुँदैन । गुलियो तथा तातो पेय पदार्थ सेवन गर्दा शरीर तातो रहन्छ । जाडोमा भोक पनि बढी लाग्छ तर अधिक खानपानले अर्को समस्या उत्पन्न गर्नसक्छ । जाडोमा विशेषगरी दम, खोकी, उच्चरक्तचाप तथा जोर्नीको पीडाजस्ता समस्या उत्पन्न हुन्छन् । 

तातो खाद्यपदार्थ 

जाडोमा धेरैजसो समय घरभित्रै बित्छ । घाम ताप्नबाहेक काम नपरी कोही बाहिर निस्कन चाहँदैनन् । घरभित्र बसेका बेला तातो पेय तथा खाद्यपदार्थको मद्दतले शरीर न्यानो बनाउन सकिन्छ । घरमा तातो खाना तयार गर्दा घर पनि न्यानो हुन्छ । जाडोमा विशेषगरी तातो सुप, रोस्ट गरिएका गेडागुडी, गहतको झोल, खुट्टीको झोल तथा ज्वानोको झोलले शरीर तातो बनाउँछ । राति सुत्ने बेला बेसार, तुलसीको पात तथा ज्वानो पकाएर खाँदा रुघाजस्ता समस्या कम हुन्छन् । यो मौसममा सकेसम्म फ्रिजमा राखिएका खाद्य पदार्थ सेवन गर्नु हुँदैन । 

मुडमा भरपर्ने खाद्य पदार्थ 

जाडोमा चिसो वातावरण, सूर्यको कमजोर प्रकाश तथा खानापानका कारण डिप्रेसन हुनसक्छ । यसलाई सिजनल इफेक्टिभ डिसअर्डर भनिन्छ । यसबाट जोगिन शरीरलाई न्यानो राख्नुपर्छ । तातोका लागि चिल्लो तथा काब्रोहाइड्रेटयुक्त पदार्थ आवश्यक हुन्छ । कार्बोहाइड्रेटको मात्रा बढेपछि शरीरको तातो पनि बढ्छ । यति बेला केक तथा क्याडबरीभन्दा स्वस्थकर खानाको प्रयोगले शरीर स्वस्थ तथा न्यानो बनाउन सकिन्छ । जाडोमा पास्ता, कोदो, फापर तथा ब्राउन राइसको सेवन उपयुक्त हुन्छ । 

डिहाइड्रेसन

जाडो महिनामा तुलनात्मक रूपमा कम पानी सेवन गरिन्छ । यसले शरीरमा डिहाइड्ेरसनको समस्या उत्पन्न गर्नसक्छ । त्यसमा पनि सुख्खा वातावरणले गर्दा शरीर त्यसै सुख्खा हुन्छ । डिहाइड्ेरसनबाट जोगिन दिनको एक कप चिया राम्रो विकल्प मानिन्छ । चियाका साथसाथै दिनको ८ गिलास पानी सेवन गर्नुपर्छ । अदुवा हालेको चिया चिसो दिनका लागि निकै उपयोगी मानिन्छ । अदुवाको स्वाद मन पर्दैन भने मरिच हालिएको चिया सेवन गर्न सकिन्छ । 

बोसोयुक्त खाद्यपदार्थ 

बोसोले हाम्रो शरीरलाई न्यानो राख्छ । यसो भन्दैमा चिल्लो पदार्थ बढी सेवन गर्नुपर्छ भन्ने पक्कै होइन । शरीरमा भएको बोसोले शरीरमा भिटामिन ए, डी, के तथा ई प्रदान गर्छ । त्यसमा पनि भिटामिन डी जाडोका लागि निकै उपयोगी हुन्छ । बोसोका लागि माछा, मसला, एभोकाडो, तोफु, रातो मासु, तेल आदि प्रयोग गर्न सकिन्छ । 

जाडोमा सेवन गर्नुपर्ने खाद्यपदार्थ 

आइस टी : जाडोमा न्यानोपनका लागि कफी धेरै पिइन्छ । कफीको नकारात्मक प्रभाव कम गर्न आइस टी उपयोगी मानिन्छ । 

अदुवा : जाडोमा बिहान अदुवा हालेको चिया तथा कुनै पनि तरकारीमा अदुवा प्रयोग गर्दा चिसो तथा अन्य विभिन्न रोगबाट जोगिन सकिन्छ । 

मसला : जाडोमा काजु, पेस्ता, ओखर तथा बदामजस्ता मसला सेवन गर्नुपर्छ ।

सबै अन्नपात : जाडोमा हरेक बिहान ओट, जौ तथा गहँु सेवन गर्नु उपयुक्त हुन्छ । ओटले अल्छीपन समेत भगाउँछ । 

बेसार : जाडोमा बेसारको सेवन निकै उपयोगी मानिन्छ । त्यसै पनि दूधमा बेसार हाली खाँदा यसले विभिन्न रोग निको पार्छ । त्यसैले जाडोमा न्यानो रहन बेसार प्रयोग गर्न सकिन्छ । 

चाकु : चाकुले शरीर न्यानो बनाउने भएकाले सुत्केरीहरूलाई घिउमा चाकु मिसाएर ख्वाउने चलन छ । चाकुलाई अदुवाको रसमा पकाएर खाँदा रुखाखोकी बिसेक हुन्छ । 

अण्डा : जाडोमा अण्डा निकै उपयोगी मानिन्छ । जाडोमा अण्डाको नियमित सेवन गर्दा शरीर न्यानो रहनुका साथै शक्ति पनि प्राप्त हुन्छ । अण्डालाई आफ्नो स्वादअनुसार तयार गरेर सेवन गर्न सकिन्छ । 

मह : मह निकै महत्वपूर्ण मानिन्छ । यसले जाडोमा हुने डिप्रेसन कम गर्छ । जाडो दिनमा बिहान तातोपानीसँग मह खाँदा चिसोले समात्न सक्दैन ।

उपयोगी खानपान

जाडोमा विशेषगरी आँत न्यानो हुने खानेकुरा सेवन गर्नुपर्छ । जाडोमा भोक बढी लाग्छ । यसले गर्दा रक्तचाप, थाइराइड तथा मधुमेह हुनेहरूले खाना खाँदा विशेष ध्यान पुर्‍याउनुपर्छ । अधिक खाना खाँदा रोगले च्याप्न सक्छ । 

जाडो दिनमा बिहान महमा तातोपानी मिसाएर तथा राति सुत्ने बेलामा तातो पानी सेवन गर्नु लाभदायक हुन्छ । गहत, फापर तथा कोदोले पनि शरीर न्यानो बनाउँछ । कुनै पनि प्रकारको रोग छैन भने जाडोमा घिउ सेवन गर्न सकिन्छ । यसले शरीर न्यानो बनाउँछ । 

जाडोमा च्यवनप्रासको प्रयोगले पनि रोग लाग्न दिँदैन । जाडो महिनामा सकेसम्म आइसक्रिम तथा चिसा खाद्यपदार्थ सेवन गर्नु हुँदैन । माइग्रेनको समस्या भएकाहरूले चिसा खाद्यपदार्थमा पूर्ण रूपमा परहेज गर्नुपर्छ । पिनास तथा रुघाको समस्या हुनेहरूले जाडो महिनामा गाईको दूध सेवन गर्नु हँुदैन । छालाका लागि टमाटर, कागती, फर्सीको बियाँ, चुकन्दर तथा ग्रिन टी प्रयोग गर्न सकिन्छ । जाडोमा रसिला तथा भिटामिन सीयुक्त फलफूल प्रशस्त मात्रामा प्रयोग गर्नुपर्छ । जाडोमा आडिला खाद्यपदार्थ सेवन गर्नुपर्छ ।

सुदर्शन बस्नेत

सुस्वास्थ्य अस्पताल

 Image