Successfully Copied

फेसनमा ढाका

अस्मि श्रेष्ठ, नगमा श्रेष्ठ, शुभेच्छा खड्का, सदीक्षा श्रेष्ठ, मुना गौचन, सिर्जना पोखरेल आदिदेखि लिएर विभिन्न क्षेत्रमा आबद्ध युवतीहरूले अहिले ढाकाका पहिरन रुचाउन थालेका छन् । ``````

अस्मि श्रेष्ठ, नगमा श्रेष्ठ, शुभेच्छा खड्का, सदीक्षा श्रेष्ठ, मुना गौचन, सिर्जना पोखरेल आदिदेखि लिएर विभिन्न क्षेत्रमा आबद्ध युवतीहरूले अहिले ढाकाका पहिरन रुचाउन थालेका छन् । खासगरी कुनै पनि समारोहमा उपस्थित हुनुपरे उनीहरू ढाकाको गाउन, कुर्ता, वान पिस, कोट वा सल मध्ये कुनै एकलाई छुटाउँदैनन् । यस किसिमको पहिरनले ‘आत्मगौरव बढेको महसुस हुने’ नगमाको  धारणा छ । अस्मिले भनिन्–‘लुक्समा नयाँपन दिने त छँदैछ ।

ढाकासँगै बाँस, अल्लोजस्ता स्वदेशी उत्पादनका पहिरनले नेपाली पहिचानमा पनि टेवा पुग्ने हुँदा यस्तो पहिरनलाई प्रोत्साहित गर्नुपर्छ ।’ त्यसको कारणमा उनीहरू सबैको एउटै तर्क छ, ढाकाको पहिरनमा स्मार्ट र फरक देखिन्छ । अहिले हरेक व्यक्ति अरुभन्दा भिन्न र स्टाइलिस्ट देखिन चाहन्छन् । त्यसमा पनि अहिले भनेजस्तो रंग, बुट्टा बुनाइ तथा फरक–फरक डिजाइनले गर्दा पनि ढाकाप्रति रुचि बढेको छ।

केही समययता नेपालमा ढाका, अल्लोजस्ता मौलिक उत्पादनलाई बढावा दिने प्रयास भैरहेको छ । ‘पाल्पाली तथा तेह्रथुमको ढाकाले तन्नेरीहरूलाई तान्न सकेको छैन । बुट्टा तथा डिजाइनमा पर्याप्त विविधता नहुनु अनि सीमित रंगको प्रयोगले गर्दा परम्परागत ढाकामा युवापुस्ताको रुचि नबढे पनि २ वर्षयता बजारमा नयाँ डिजाइनका ढाकाको मागमा वृद्धि भैरहेको छ ।

यसको मुख्य श्रेय मुक्कु बुटिककी डिजाइनर मुक्ता श्रेष्ठलाई दिनुपर्छ । श्रेष्ठले सबा नेपालमा डिजाइनरका रूपमा धेरै वर्ष ढाकासम्बन्धी काम गरिसकेकी छिन् । उनले रेडिमेड तानमा बुनिने ढाकाका साथमा आफैले डिजाइन एवं धागो छनोट गरी कपडा बुन्न दिएर विभिन्न रंग तथा डिजाइनका ढाका बजारमा ल्याएपछि युवाहरू यसप्रति आकर्षित भएका हुन् । आफैले डिजाइन गरी बुन्न दिने भएकाले यस्तो ढाकाको डिजाइन अन्यत्र उपलब्ध हुँदैन । त्यसैले नै युनिक खोज्नेहरूका लागि समेत उपयुक्त भएको मुक्ताको भनाइ छ । परम्परागत पहिरनलाई नयाँ बान्कीमा उतारेर प्रयोग गर्नेहरूमा युवापुस्ताकै वर्चस्व छ । उनीहरूले फेसन डिजाइनरहरूका थरी–थरीका डिजाइनलाई रुचाइरहेका छन्।  

नगमा युवापुस्तालाई लक्षित गरेर नयाँ–नयाँ डिजाइनका पहिरन ल्याइएकाले युवाहरूले त्यसलाई सहर्ष आत्मसात् गर्नेमा विश्वस्त छिन् । ‘परम्परागतभन्दा भिन्न शैलीका पहिरन तयार भएका छन्,’ नगमाले भनिन्–‘जसले सजिलै युवाहरूको ध्यान खिच्न सक्छ ।’ ढाका विगतमा जस्तो टोपी, साडी, खास्टो वा चोलीमा मात्र सीमित नरहेको बताउँदै श्रेष्ठले भनिन्–‘अहिले ढाका र अल्लोको लङ तथा सर्ट स्कर्ट, कुर्ती, सर्ट, वान पिस, साडी आदि थुप्रै विकल्प उपलब्ध छन् ।’

पस्मिना, ढाका, अल्लोजस्ता नेपाली फेब्रिकले विदेशी वजारमा राम्रो प्रभाव जमाएका छन् । यस्ता प्राकृतिक फेब्रिकलाई विदेशीहरूले प्राथमिकता दिने अनुभव सुनाउँदैं मुक्ता श्रेष्ठको भन्छिन्,  ‘प्राकृतिक फेब्रिक हेल्थ फ्रेन्ड्ली हुने भएकाले पनि विदेशमा यसको माग अझ बढी छ । नेपाली फेब्रिकबाट ब्लेजर कोट, आउटर, वान पिस, फर्मल ड्रेस, स्कर्ट, कोट, कुर्ती आदि हरेक पहिरन बनाउन सकिन्छ ।

मुक्ता श्रेष्ठ, फेसन डिजाइनर, मुक्कु

अहिले बजारमा ढाकाको फेसन कस्तो छ ?

सकारात्मक छ । यसलाई परिमार्जित गर्दै लाने हो भने बजारमा राम्रो पकड बनाउन सकिन्छ । सेलिब्रेटीहरूले पनि यसलाई चर्चित बनाउन कुनै कसर बाँकी राखेका छैनन् । बजारको रेस्पोन्स पनि निकै राम्रो छ ।

कुन वर्गले बढी रुचाएका छन् ?

युवा–युवती तथा कामकाजी महिलाहरूलाई लक्षित गरेर टप्स, कुर्ती, ड्रेस, कोटजस्ता डिजाइन ल्याइएको छ जुन उनीहरूले निकै रुचाइरहेका छन् ।

कस्ता डिजाइन रुचाइँदो रहेछ ?

विगतमा ढाका भन्नासाथ टोपी र साडी मात्र बुझिन्थ्यो भने अहिले अवस्था फरक छ । ढाकाको रंगदेखि डिजाइनसम्ममा नयाँपन दिने प्रयास भैरहेको छ । अब ढाकाबाट स्कर्ट, कुर्ती, टप्स, कोटजस्ता पहिरन  पनि तयार हुन थालेका छन् । फरक लुक्स दिन ढाकासँगै सिल्क पनि प्रयोग गरिएको छ ।

ढाका निकै महँगो हुन्छ होइन र ?

ढाका दुई प्रकारको हुन्छ । एउटा हातैले बुन्ने र अर्काे पावरलुम बाट तयार पारिएको । हातैले बुन्दा एक मिटर कपडा बुन्न ३ देखि ४ दिनसम्म लाग्छ । त्यसैले महँगो त हुने नै भयो । यद्यपि महँगो तिर्न नसक्नेहरूका लागि बजारमा सस्तो मूल्यमै ढाकाको कपडा उपलब्ध हुन्छ । महँगो तिर्नेलाई हातले बुनेको युनिक ढाका उपलब्ध हुन्छ भने सस्तो खोज्नेहरूका लागि विभिन्न बुट्टा एवं डिजाइनमा पावरलुममा तयार ढाका उपलब्ध हुन्छ ।

ढाका कुन गुणस्तरको हो भनेर कसरी पत्ता लगाउने ?

बनावट अर्थात् बुनाइ कत्तिको कसिलो छ हेर्नुपर्छ । पछाडि लाइट बुनाइ छ भने त्यो कमजोर ढाका हो भनेर बुझ्नुपर्छ । मुख्यत: भित्रबाट बुट्टालाई नट गरेको हुनुपर्छ ।

ढाकाको हेरचाह गर्न कत्तिको गार्‍हो छ ?

तानमा बुनिएको फेब्रिक भएकाले ड्राइ क्लिन गराउनुपर्छ । ढाकालाई डेली युजभन्दा एक्सक्लुसिभ तरिकाले लगाउनु उपयुक्त हुन्छ । मेसिनमा बुनिएको ढाकालाई घरमै पनि धुन मिल्छ ।

विदेशी बजारको अवस्था कस्तो छ ?

नेपालमा भन्दा राम्रो बजार छ । हेल्थ फ्रेन्ड्ली हुने भएकाले विदेशीहरूले होममेड पहिरन बढी रुचाउँछन् ।विभिन्न फेसन शोहरूमा पनि ढाका र अल्लोका पहिरन देखिन थालेको छ, यसले फेसन

ट्रेन्डमा कत्तिको प्रभाव पारेको छ ?

यसले फेसन ट्रेन्ड नै परिवर्तन गर्छ त भन्न सकिँदैन, तर राम्रै प्रभाव पारिरहेको छ । फेब्रिक, डिजाइन आदि मानिसको रोजाइमा भर पर्ने कुरा हो । वर्तमान पुस्ता इम्ब्रोइडरी, नेट, सिफनभन्दा ढाकातर्फ आकर्षित छ ।

बक्स

ढाका : सेलिब्रेटी च्वाइस

शुभेच्छा खड्का, भिजे तथा मोडल

आयातीत पहिरनहरू कमन हुन्छन् । हरेक पसलमा उस्तै खालका सयौं पहिरन पाइने भएकाले म रेडिमेड वेयर त्यति रुचाउँदिन । युनिक, लगाउँदा राम्रो, स्टाण्डर्ड देखिने, आफैलाई स्मार्ट फिल हुने कारण म ढाकाप्रति आकर्षित भएकी हुँ । जब म ढाकाको कुनै पहिरन लगाउँछु, आफ्नो लुक्स नै फरक भएको महसुस हुन्छ ।

ढाकाको सल वा कोट मात्र लगाउँदा पनि इलिगेन्ट देखिन सकिन्छ । त्यसैले म कतिपय इभेन्टमा प्लेन कुर्तामा ढाकाको सल लगाएर जान्छु । मलाई सिम्पल एवं इलिगेन्ट पहिरन मनपर्छन् । मसँग ढाकाको कुर्ता, सल, सर्ट तथा लंग कोट, टप्स, वान पिस आदि पहिरन छन् । ढाका आउट अफ फेशन पनि हुँदैन । मौलिक नेपाली फेब्रिक भएकाले यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य पनि हो  ।

 Image