Successfully Copied

बेलायतमा चम्कदै बिना

नोभेम्बर अन्तिम साता बेलायतस्थित नेपाली मोडलहरू क्याटवाकमा उत्रदा कोरियोग्राफर बिना राईको सबैले प्रशंसा गरे । बेलायतका नेपाली ब्युटिसियनहरूको संस्था ‘प्रोफेसनल ब्युटी असोसिएसन यूके’ ले अल्डरसटस्थित दि प्यालेसमा फेसन शो गरेको थियो, जसमा ६ जना मोडल विभिन्न सिक्वेन्समा सामेल थिए ।

नोभेम्बर अन्तिम साता बेलायतस्थित नेपाली मोडलहरू क्याटवाकमा उत्रदा कोरियोग्राफर बिना राईको सबैले प्रशंसा गरे । बेलायतका नेपाली ब्युटिसियनहरूको संस्था ‘प्रोफेसनल ब्युटी असोसिएसन यूके’ ले अल्डरसटस्थित दि प्यालेसमा फेसन शो गरेको थियो, जसमा ६ जना मोडल विभिन्न सिक्वेन्समा सामेल थिए । ‘बेलायतमा त्यति व्यावसायिक ढंगले फेसन शो होला भन्ने मेरो कल्पना बाहिर थियो’, ब्युटिसियन, मेकअप आर्टिस्ट, मोडल र कोरियोग्राफर बिनाले भनिन्, ‘बेलायतमा समेत मोडलिङ र फेसनमा भैरहेको व्यावसायिक प्रगतिको एउटा उदाहरण थियो त्यो ।’ त्यतिबेला आकर्षण बुटिकका विभिन्न पहिरनमा थिए मोडलहरू । नेपालमा बस्दा उनले धेरै र्‍याम्प मोडलिङ गरेकाले पनि कोरियोग्राफी जिम्मा सहज भएको बिनाले सम्झिइन् ।

यतिखेर आफ्नो परिचयको दायरा फराकिलो हुँदै गएकामा मख्ख छिन् बिना । विगत १५ वर्षदेखि बेलायत बस्दै आएकी बिनाको  पेसा नै सौन्दर्य हो । अरुलाई सुन्दर बनाउने जिम्मा लिएकी उनी आफैं पनि कम सुन्दरी छैनन् । ‘अरुले तिमी राम्री भनेर कम्प्लिमेन्टस दिँदा खुसी लाग्छ’, उनी भन्दै थिइन् ।

सन् २०१२ देखि सौन्दर्य व्यवसायमा आबद्ध छिन् उनी । उनको बेलायतस्थित फोकस्टन केन्टमा आफ्नै क्रिस्टल हेयर एण्ड ब्युटी स्टुडियो छ । सौन्दर्य व्यवसायमा चुनौती देख्छिन् उनी । आफूलाई अपडेट राखिराख्नुपर्ने, नयाँ कोर्स लिइरहनुपर्ने र बेलायती ग्राहकको चित्त बुझाउनुपर्ने जिम्मेवारी कम सहज होइन । तर पनि आफ्ना ‘प्यासन’ भएकाले यसैमा रमाइरहेको उनले सुनाइन् ।

खोटाङ जन्म घर भएकी बिना ब्रिटिस गोर्खा परिवारकी छोरी हुन् । उनले भर्खर लोकप्रिय गायक उदितनारायण झाले गाएको झरी सरी...बोलको गीतमा निर्मित म्युजिक भिडियोमा अभिनय गरेकी छन् भने पूर्वेली राईहरूको चण्डी गीत ब्युटिफूल कान्छी...मा समेत उनलाई देखिन्छ । मेकअप आर्टिस्टको हैसियतमा उनले धेरै इभेन्ट्स गरेकी छन् । सानैदेखि कलामा रुचि थियो उनलाई । राम्रो सिनेमामा अफर आए अभिनय गर्ने इच्छा रहेको उनले बताइन् ।

यूके लाइफ अति व्यस्त छ । यस्तो चटारोमा लभ गर्ने फुर्सद नै भएन रे उनलाई । ‘मायाबिना संसार अधूरो छ’, उनी भन्छिन्, ‘तर मैले त्यो अनुभूति गर्न पाइन । सायद उचित समय आएपछि होला ।’ बेलायती खुल्ला परिवेशमा लामो समयदेखि घुलमिल भए पनि विवाहअघि सेक्स सम्बन्ध राम्रो मान्दिनन् उनी । ‘यो व्यक्तिको इच्छामा भर पर्ने कुरा हो’, उनले भनिन्, ‘म चाहिँ यसबाट टाढैछु ।’

(तस्बिर सौजन्य : अमर राई)

 Image