Successfully Copied

मध्यम आयुमा आकर्षक व्यक्तित्व

‘बितेको समय र बगेको खोलालाई फर्काउन नसकिने कुरा सत्य हो ।

‘बितेको समय र बगेको खोलालाई फर्काउन नसकिने कुरा सत्य हो । तथापि तर्कसंगत रूपमा जीवनमा बितेका वर्षलाई फर्काउन भने नसकिने होइन । केही कुरामा ध्यान दिने हो भने वास्तविक उमेरभन्दा धेरै वर्ष कम देखिन सकिन्छ ।

अनुहार व्यक्तित्वको ऐना हो । अनुहारमा पहिलेभन्दा अन्तर देखा परेको छ भने घरेलु उपचारका साथै ब्युटिपार्लर गएर फेसियल गर्नुपर्छ । ब्युटी ट्रिटमेन्टबाट अनुहार र शरीरमा धेरै अन्तर आउँछ । त्यसो त हिजोआज महिलाहरूले फेसियल, आइब्रोज, ब्लिचिङ आदि गराउनु सामान्य भएको छ । मुहारमा कसिलोपनका लागि थर्मोहर्व फेसियल उपयुक्त हुन्छ । त्यसैगरी आइब्रोज पनि स्टाइलिस तरिकाले अनुहार सुहाउँदो हिसाबले मिलाउनुपर्छ ।

उमेरलाई दृष्टिगत गरी स्वयंलाई पेम्पर गर्नुपर्छ । अनुहारमा आकर्षण कायम राख्ने प्रयास गर्नुपर्छ । मेकअपमा थोरै परिवर्तन ल्याउनुपर्छ । आँखामाथि हल्का मेकअप, आइस्याडो र आइलाईनरको प्रयोग राम्रो हुन्छ । आइस्याडोको रंग आफ्नो पहिरनको हिसाबबाट तय गर्नुपर्छ । आइल्यासेजमा मस्काराको प्रयोगले पनि ड्रिमी लुक प्रदान गर्छ । आँखाको मेकअप आफ्नो आँखाको हिसाबबाट गर्नुपर्छ । यसबाहेक हातखुट्टामा मेनिक्योर, पेडिक्योर गर्नुपर्छ ।

हातमा देखिन थालेको नसाले पनि बढ्दो उमेरलाई संकेत गर्छ, लगातारको मेनिक्योरले यसलाई दबाउँछ । नङलाई पनि फेसन र हातअनुरूप सेपमा राख्नुपर्छ । नेलपोलिस बढी मन पर्दैन भने फ्रेन्च मेनिक्योर लगाउन सकिन्छ । यसमा नङलाई विशेष तरिकाले फाइलिङ र सेपिङ गरिन्छ । ठूलो नङमा सेतो नेल इनामेल तथा बाँकी नङहरूमा हल्का ट्रान्सपरेन्ट लाईट पिन्क राम्रो हुन्छ । नेलपोलिसको यो स्टाइल राम्रो देखिनुका साथै यसले युवा लुक पनि प्रदान गर्छ ।

केशको स्टाइलिङले पनि युवा लुक प्रदान गर्छ । आफ्नो अनुहारअनुरूपको हेयर स्टाइल अपनाउनुपर्छ । ‘केश काट्नुहोस्, उमेर घटाउनुहोस्’ भनेझैं केश काटेर युवा लुक प्राप्त गर्न सकिन्छ तर कटिङ भने ग्रेसफुल हुनुपर्छ । केशलाई बेबी राख्ने, हल्का कर्ल वा प्लेन राख्ने भन्ने विषयमा पहिले नै निर्णय गर्नु राम्रो हुन्छ । यदि केश काट्ने मन छैन भने विभिन्न प्रकारको पोनिटेल पनि बनाउन सकिन्छ । जुरोलाई बेक सीट दिनु ठीक हुन्छ । स्टाइल जस्तो अपनाए पनि त्यसमा आत्मविश्वास झल्कनुपर्छ । यसका अतिरिक्त आफ्नो उमेरअनुसार पहिरन लगाउनुपर्छ ।

उमेरको अनुभूति कम गर्न केही परिवर्तित पहिरन लगाउनु राम्रो हुन्छ । पहिले साडी मात्र लगाउने गरेको भए सलबार सुट र चुडीदार कुर्ता–पाइजामा लगाउन सकिन्छ । साडी ग्रेसफुल हुन्छ नै तर गेटअप परिवर्तन गर्ने हो भने अन्य केही सुहाउँदिला पहिरन खोज्नुपर्छ । जिन्स परिवर्तन गर्ने हो भने अन्य केही सुहाउँदो ट्राइ गर्नुपर्छ । जिन्स टप उपयुक्त हुनसक्छ तर त्यो शरीर एवं व्यक्तित्व सुहाउँदो हुनुपर्छ र आफूमा आत्मविश्वास झल्कनुपर्छ ।

अधबैंसे उमेरमा जोर्नीको पीडा प्रारम्भ हुन्छ । यो समस्या हटाउन औषधोपचार गराउनु राम्रो हुन्छ । आँखा परीक्षण गराउनु पनि आवश्यक छ । प्रौढावस्थामा पुग्दा आँखा कमजोर हुनुका साथै कतिपय अवस्थामा मोतीविन्दु हुने सम्भावना हुन्छ ।

आँखामा चस्मा प्रयोग गर्नुपर्छ भने फ्रेम आफ्नो व्यक्तित्वलाई उभार्ने खालको हुनुपर्छ । इच्छाअनुरूप कन्टेक्ट लेन्स पनि प्रयोग गर्न सकिन्छ । आफ्नो अनुहारमा अन्य कुनै विकार छ भने प्लास्टिक सर्जरीको सहारा लिन सकिन्छ तर मेकअपबाटै आफूलाई सिंगार्ने प्रयास गर्नु राम्रो हुन्छ । यी सबका साथै सकारात्मक सोच, धैर्य, खुसी, शारीरिक अभ्यासका साथै मानसिक शान्ति कायम रँख्न सके हरेक अवस्थामा सुन्दर, स्वस्थ एवं आकर्षक रहन सकिन्छ ।

 Image