प्रेमलाई अनुभूतिका रूपमा लिइन्छ तर विवाहपछि प्रेम अनुभूति मात्र रहँदैन, हामी जुन कुरालाई दैनिक जीवनमा अपनाउँछौं, जसबाट जीवनसाथीलाई खुसी, सन्तुष्टि, नयाँपन प्राप्त हुन्छ त्यही नै प्रेम हो । जुन समय सबै कुरा ठीक तरिकाले अघि बढिरहेको हुँदैन, तब प्रेमपूर्ण पहल मजबुत हुनुपर्छ । केही हटेर नयाँ परीक्षण गर्नुपर्छ । विशेष अवसरमा धेरैजसोले आफ्ना श्रीमान्लाई उपहार पनि दिन्छन् ।
दैनिक रूपमा गरिने एकै प्रकारको कुराले दिक्क बनाउँछ । त्यसैले त्यस्तो अवस्थामा केही अलग काम गर्नुपर्छ । प्रेम विवाह हो भने श्रीमान्सँग सोध्नुहोस्, परिवारले सहज रूपमा विवाहका लागि स्वीकृति नदिएको भए ? विवाह नभएको भए, तपार्इं के गर्नुहुन्थ्यो ? के तपाईं मबिना रहन सक्नुहुन्थ्यो ? यी प्रश्नले उनलाई आश्चर्यमा पार्नेछ, कुराकानीमा नयाँपन आउँछ । यसैगरी आफ्ना राम्रा र रोमाञ्चक स्मृतिको सम्झना गरेर ताजापन महसुस गर्न सकिन्छ । दुवैजना कामकाजी हुनुहुन्छ भने अफिसमा फुर्सद प्राप्त भए एक–अर्कालाई फोन गर्नुपर्छ । विवाहपूर्व जसरी फोनमा कुराकानी हुन्थ्यो, त्यही प्रक्रियालाई दोहोर्याएर आपसी सम्बन्धमा तापाजन छर्न सकिन्छ ।
ठूला र महँगा रेस्टुराँमा क्यान्डल लाइट डिनरको साटो सानो रेस्टुराँमा खाना खाएर पनि आनन्द लिन सकिन्छ । कहिलेकाहीँ श्रीमान्का लागि शृंगार गरेर बस्नुहोस्, यो सरप्राइज पक्कै पनि उनलाई मन पर्नेछ । पार्टी र विशेष अवसरका लागि त सधैँ सजिइन्छ तर मात्र श्रीमान्का लागि कुनै दिन सजिएर उनका साथ रहनुहोस्, उनको नजर तपार्इंबाट पक्कै हट्नेछैन ।
यी सबै कुरा गरेर पनि आपसी सम्बन्धमा कटुता उत्पन्न भएको छ भने सबै कुरा एकैपटक एकदम ठीक हुन्छ भन्ने छैन । यसका लागि समय लाग्छ । प्रयास जारी राख्नुपर्छ, धैर्य छोड्नु हुँदैन । सम्बन्धमा मिठास ल्याउन समय, निरन्तरता र प्लानिङ चाहिन्छ किनभने सबै कुरा आफैं हुँदैन । विस्तारै कदम बढाउनुपर्छ, त्यसपछि मात्र फरक अनुभव गर्न सकिन्छ ।