Successfully Copied

घरपालुवामा छारे रोग

हिजोआज घरपालुवा खासगरी कुकुरमा छारे रोग व्यापक रूपमा देखिन थालेको छ ।

हिजोआज घरपालुवा खासगरी कुकुरमा छारे रोग व्यापक रूपमा देखिन थालेको छ । यो घरपालुवामा लाग्ने घातक किसिमको रोग हो जुन पूर्णरूपमा निको हुन कठिन हुन्छ । यो रोग मस्तिष्क तथा नसासँग सम्बन्धित हुन्छ । यो रोग वंशानुगतका साथै मस्तिष्कको ट्युमर, चोटपटक तथा कडा किसिमको औषधिको प्रभावले देखा पर्छ ।

यो रोगले ग्रसित कुकुरमा शरीरको सन्तुलन बिग्रने, कम्प छुट्ने, र्‍याल निकाल्ने, छटपटिने, मुखबाट फिज निकाल्ने आदि लक्षण देखिन्छन् । त्यतिबेला कुकुरले दिसा–पिसाब पनि गर्न सक्छ । अनुहारका मांसपेशीहरू तन्किने–खुम्चिने हुन्छ । हातखुट्टामा कडापन, असामान्य आवाज निकाल्नु तथा आाखा ठूलो–ठूलो बनाउनु छारे रोगका लक्षण हुन् । खासगरी आराम गरेको तथा सुतेको बेला देखिने यस्ता लक्षण पाँच मिनेट अथवा त्यसभन्दा बढी रहन सक्छन् । त्यसपछि कुकुर फेरि सामान्य अवस्थामा फर्कन्छ । सामान्य अवस्थामा फर्कदा पनि केहीबेरसम्म मानिस नचिन्ने, आँखा कम देख्ने, खाना तथा पानी धेरै मात्रामा खाने समस्या हुन्छ । छारे रोग ठूला जातका कुकुरमा बढी देखिन्छ ।

उपचार तथा रोकथाम

छारे रोग विभिन्न किसिमको अवस्थामा फरक तरिकाले देखा पर्छ । समयमा उपचार भएन भने यो रोगकै कारण ज्यानै जान सक्छ । सुरुको उपचार कुकुरलाई यसको असरबाट कसरी बाहिर निकाल्ने भन्ने कुरामा केन्द्रित हुन्छ जसमा निद्रा लाग्नेदेखि पीडा कम गर्ने औषधि तथा भिटामिनहरू दिन सकिन्छ।

छारे रोग लागेपछि पूर्णरूपमा निको नहुन सक्छ । त्यसमा दीर्घकालीन रूपमा औषधि सेवन गराउनुपर्ने हुन्छ ।.वंशानुगत समस्या देखिएको हुँदा घरपालुवाबाट प्रजनन् गराउनु हुँदैन । घरपालुवालाई बन्ध्याकरण गराएर यो रोगको असर कम गर्न सकिन्छ । 

(डा.शरद सिंह यादव,एडभान्स्ड पेट हस्पिटल, विशालनगर, काठमाडौं)

 Image