Successfully Copied

फेसनका एसेसरिज

ब्यागबिना महिलाहरूले आफूलाई अपूरो मान्छन् ।

ब्याग 

ब्यागलाई महिला दिदीबहिनीहरूको प्रिय संगिनी मानिन्छ । ब्यागबिना महिलाहरूले आफूलाई अपूरो मान्छन् । अहिले नेपाली बजारमा उमेर, समय तथा फेब्रिकअनुसार विविध शैलीका ब्याग भित्रिएका छन् । कुनै समय कालो रंगको ब्याग प्राथमिकतामा पथ्र्यो भने अहिले फरक–फरक किसिमका बोक्नुपर्छ । वयस्कहरूका लागि उपयोगी ब्याग युथहरूका लागि उपयोगी नहुन सक्छ । पार्टीका लागि क्लच उपयोगी हुन्छ भने घुमघामका लागि ह्यांगिङ ब्याग उपयोगी हुन्छ । ब्याग चयन गर्दा आफ्नो शारीरिक संरचनामा पनि विचार पुर्‍याउनुपर्छ । 

ब्यागको चयन 

  • ब्यागको स्ट्रापलाई सानो–ठूलो बनाउन मिल्ने वा नमिल्नेमा ध्यान दिनुपर्छ । 
  • सानो ब्याग हातमा लिँदा कुनै पनि महिलालाई अग्लो देखाउँछ । 
  • आफ्नो दैनिक आवश्यकतालाई ख्याल गरेर आवश्यक सामान अट्ने ब्यागको चयन गर्नुपर्छ । 
  • आफ्नो पेसाअनुरूप ब्याग चयन गर्नुपर्छ । 
  • आफू धेरै ठाउँमा जाने स्थिति छ भने विविध प्रयोजनमा प्रयोग हुनसक्ने ब्याग खरिद गर्नुपर्छ । 

ब्याग खरिद गर्नुअघि ? 

  • ब्यागले कुनै पनि महिलाको व्यक्तित्वमा निखार ल्याउँछ । त्यसैले यसलाई खरिद गर्दा विशेष ध्यान दिनुपर्छ । नियमित प्रयोगका लागि गुणस्तरीय ब्याग चयन गर्नुपर्छ । प्रयोग गरेको केही दिनमै बिग्रने खालको ब्याग खरिद गर्नुभन्दा केही बढी रकम तिरेरै भए पनि टिकाउ हुने ब्याग खरिद गर्नुपर्छ । 
  • छालाको ब्याग टिकाउ तथा अधिक समय प्रयोग गर्न सकिने हुँदा छालाको ब्यागलाई प्राथमिकता दिन सकिन्छ । आफूले ब्यागमा राम्रो मूल्य तिर्ने सोच बनाएको भए पनि छालाको ब्याग नै उपयुक्त हुन्छ । छालाको ब्यागमा रंगको विविधता कम हुने भए पनि यो टिकाउ हुनुका साथै जति प्रयोग गर्दै गयो उति नै राम्रो देखिन थाल्छ । 
  • ब्यागको चयन गर्दा अन्य रंगभन्दा कालो, खैरो तथा खरानी रंगका ब्याग उपयुक्त हुन्छन् किनभने यी रंग सदाबहार मानिन्छन् । यी रंगका ब्यागहरू हरेक पहिरनसँग उत्तिकै खुल्छन् । 
  • ब्याग खरिद गर्दा ठूल्ठूला लोगो भएको ब्यागलाई उचित मानिँदैन । व्यक्तिगत पहिचान बनाउने ब्यागमा ठूला–ठूला लोगो सान्दर्भिक देखिँदैन । 
  • ब्याग खरिद गर्ने नियममा ध्यान दिनुपर्छ । आफ्नो जिउ, हिप तथा शारीरिक संचरनाअनुरूप ब्याग चयन गर्नुपर्छ । ब्याग खरिद गर्दा त्यसलाई बोकेर ऐनामा हेरी आफूलाई सुहाएको छ कि छैन निक्र्यौल गर्नुपर्छ । 

ब्यागका किसिम 

ब्याग खरिद गर्न जानुभन्दा पहिले आफूलाई कस्तो प्रकारको ब्याग चाहिएको हो यकिन गर्नुपर्छ । अहिले ब्यागमा निकै विविधता छ । जसमध्ये ट्राभल ब्याग, टेन्ट ब्याग, क्लच, ट्रेन्डी ब्याग, ट्रजर ब्याग तथा ह्यांगिङ ब्याग चल्तीमा छन् ।

सनग्लास 

चस्माले आँखालाई घामको चर्को किरणबाट जोगाउँछ भने यो अहिले फेसनको पर्याय पनि बनेको छ । अहिले हरेक उमेरका महिलाले चस्मालाई आफ्नो फेसन स्टेटमेन्टका रूपमा पनि लिने गरेका छन् । चस्मा पनि मानिसहरूको उमेर तथा अनुहारको आकारअनुसार फरक–फरक लगाउनुपर्छ । अहिले बजारमा विविध आकार तथा रंगका चस्मा खरिद गर्न सकिन्छ । नेपाली बजारमा ब्रान्डेडदेखि ननब्रान्डेड सबैको माग उस्तै छ । दसंैको मौकामा चस्मा पनि विभिन्न सहुलियत दिइएको छ । दरबारमार्ग, कुमारीपाटी, न्युरोड तथा विभिन्न मलहरूमा ब्रान्डेड चस्माका आधिकारिक शोरुम छन् । नेपालमा गुची, रेबन, फुजी, ब्राडा, जारा, पुलिस आदि ब्रान्ड लोकप्रिय छन् । 

चस्माको चयन 

अनुहारको आकार सानो छ भने ठूलो आकारको चस्मा लगाउनु हुँदैन । 

अहिले बजारमा रातो, कालो, साइनिङ तथा कोरियन सेपका चस्माको चलन बढी छ । 

ओभल फेस 

यस्तो अनुहारका लागि हरेक प्रकारको चस्मा सुहाउँछ । अझै चारपाटे तथा सफ्ट किनारा भएको सनग्लास सुहाउँछ । सनग्लास खरिद गर्दा यसको चौडाइ आफ्नो अनुहारसँग मिल्ने हुनुपर्छ । चस्माको आकारले आइब्रोलाई छेक्नु हुँदैन । 

राउन्ड फेस 

अनुहार गोलो छ भने सानो आकारको चस्मा चयन गर्नुपर्छ । यसले परफेक्ट लुक दिन्छ । गोलाकार अनुहारका लागि राउन्ड प्लेन फ्रेम लगाउनु हँुदैन । 

स्क्वायर फेस 

यो अनुहारका लागि अण्डाकार वा गोलो फ्रेम सुहाउँछ । निधार ठूलो छ भने ओभल सेपको फ्रेम चयन गर्नुपर्छ । 

रेक्टेंगुलर फेस 

गोलो आकारको चस्मा यस्तो अनुहारलाई सुहाउँछ । ठूलो फ्रेमयुक्त चस्मा लगाउनु हँुदैन । 

ट्रयांगुलर फेस 

यो सेपको अनुहारका लागि मेटल फ्रेम निकै सुहाउँछ । 

घडी 

घडीले समयको जानकारी गराउँछ । तसर्थ मानव जीवनमा घडीको महत्व छ । घडीको प्रचलन १९ औं शताब्दीबाट सुरु भएको हो । दसैंको बेलामा घडीको पनि निकै किनबेच हुन्छ । अहिले विभिन्न आकार तथा रंगमा घडी लगाउने चलन बढेको छ । विशेषगरी अहिले ठूला आकारका घडी फेसनमा छन् । पार्टीका लागि भने साना तथा स्क्वायर सेपका घडी रुचाइन्छन् । घडीमा लेदर तथा स्टेनलेस स्टिलको माग अधिक छ । 

घडी चयन गर्दा 

  • आफूलाई कस्तो घडी चाहिएको हो त्यसमा स्पष्ट हुनुपर्छ । 
  • घडी खरिद गर्दा यसको ब्यान्ड राम्रोसँग अवलोकन गर्नुपर्छ । 
  • मूल्यबारे निक्र्यौल गर्नुपर्छ । 
  • घडीले सही समय दिन्छ कि दिँदैन यकिन गर्नुपर्छ । 
  • फेसनको पर्याय बनेको यसको डिजाइन पनि आकर्षक हुनुपर्छ । 
  • खप्ने खालको घडी खरिद गर्नुपर्छ । 
  • वाटर रेसिस्टेन्ट घडीलाई प्राथमिकता दिनुपर्छ । 
  • ब्याट्रीको झन्झटबाट पार पाउन डिजिटल घडी लिन सकिन्छ । 

बेल्ट 

बेल्ट विशेषगरी पाइन्ट लगाउँदा निकै उपयोगी हुन्छ । पाइन्टलाई यथास्थितिमा राख्न बेल्टको प्रयोग गरिन्छ । हिजोआज बेल्ट स्कर्टसँग पनि लगाउन थालिएको छ । बजारमा अहिले विविध प्रकारका बेल्ट खरिद गर्न सकिन्छ । छाला तथा अन्य विभिन्न मटेरियलले बनेका बेल्ट लगाई फेसनेबल हुन सकिन्छ । अहिले बेल्टको शैली तथा रंगमा पनि विविधता आएको छ । सस्तोदेखि महँगा ब्रान्डेड बेल्ट खरिद गर्न सकिन्छ । बेल्ट सिम्पल, क्लासिक, फंकी, बोल्ड, क्याजुअल तथा ड्रेसी आदि विविध शैलीका हुनसक्छन् जसले पहिरनलाई स्टाइलिस बनाउन सहयोग गर्छन् । 

खरिद गर्नुअघि ?

  • सुरुमा बेल्टको साइज निक्र्यौल गर्नुपर्छ । 
  • आफ्नो कम्मरको नापअनुरूप बेल्ट खरिद गर्नुपर्छ । 
  • बेल्टको बक्कललाई राम्रोसँग जाँच्नुपर्छ । 
  • छालाको बेल्ट टिकाउ हुन्छ । 
  • प्रोफेसनल महिलाहरूका लागि लेदर बेल्ट राम्रो मानिन्छ । 

 Image