Successfully Copied

खाने–ख्वाउने चाड दसैं

दसैंमा लामो बिदा हुने भएकाले परिवारसँगै बसेर मीठा–मीठा परिकार तयार पार्ने, साथीसँगी मिलेर खाने तथा मस्ती गर्ने मुड हुन्छ ।

दसैं भन्नासाथ मीठो खाऊँ, रमाइलो गरौं भन्ने भावना आइहाल्छ । दसैंमा लामो बिदा हुने भएकाले परिवारसँगै बसेर मीठा–मीठा परिकार तयार पार्ने, साथीसँगी मिलेर खाने तथा मस्ती गर्ने मुड हुन्छ । त्यसमा पनि अघिपछि व्यस्त जीवन बिताइरहेका सेलिब्रेटीहरू फुर्सदमा मीठा–मीठा परिकार पकाएर आफन्तजनलाई ख्वाउन तथा त्यसको प्रशंसा सुन्न त्यत्तिकै लालायित हुन्छन् । 

अहिले चलचित्रमा व्यस्त नायिका शिल्पा पोखरेललाई दसैंको मौकामा परिकारहरू पकाएर ख्वाउन निकै जाँगर चल्छ । उनलाई आफूले पकाउन जानेका केही परिकार अरूले पकाएको मन पर्दैन । मटन कवाफ निकै मीठो बनाउने शिल्पालाई आमाले पकाएको मटन कवाफ पनि मन पर्दैन । उनले ४ वर्ष अघिदेखि उक्त परिकार पकाउन थालेकी हुन् । युट्युब हेर्दै मटनका परिकार तयार पार्ने शिल्पा हरेक वर्षको दसैंमा मटनका नयाँ–नयाँ परिकार तयार पार्छिन् । उनले बनाएको मटनका परिकार उनका परिवार, आफन्त, छिमेकी तथा साथीहरूले पनि मन पराउँछन् । पहिलो पटक मटन पकाउँदा आमाले चाखेर अबदेखि म मटन पकाउँदिन तिमी नै पकाऊ भनेपछि शिल्पा घरमा हुँदा आफैं पकाउन अघि सर्छिन् । चलचित्र निर्देशक सम्झना उप्रेती शिल्पाले पकाएको मटनकी पारखी हुन् । 

गायिका मौसमी गुरुङलाई बाहिरको खाना मन पर्दैन । सानैदेखि पाककलामा पोख्त मौसमी घरमा आफन्त तथा साथीहरू आउँदा विभिन्न किसिमका परिकार पकाएर ख्वाउन रूचाउँछिन् । त्यसमा पनि खाएपछिको प्रशंसा तथा कमेन्ट सुन्दा आनन्द लाग्ने मौसमी बताउँछिन् । दसैंमा त उनी अनेकौं परिकार तयार गर्छिन् । उनले दसैंमा मटन कवाफ, चिकेन रोस्ट, आलु दम, भन्टा आलु ग्रेभी, मुला तथा काँक्राको अचार आदि तयार गर्छिन् भने दसैंअघि गेटटुगेदरका लागि सेक्रेट पोटाटो, चिकेन क्रिस्पी, मटन सेकुवा, मसरुम साँधेको आदि परिकार पकाउँछिन् । उनले बनाउने साँधेको आलु घरमा आउने सबैलाई मनपर्ने परिकार हो । सुरुसुरुमा खाना पकाउन मम्मीले सिकाए पनि अहिले मौसमी नयाँ–नयाँ परिकार पकाउन माहिर भैसकेकी छिन् । दसैंमा उनले पकाएका परिकारका फ्यान उनकै मम्मी तथा श्रीमान् हुन् ।

मोडलिङमा सक्रिय सिर्जना पोखरेल पकाउन तथा अरुलाई त्यसको स्वाद चखाउन रुचाउँछिन् । त्यसैले पनि उनी घरमा समय मिलाई साथीभाइ तथा आफन्तहरूलाई बोलाई गेटटुगेदर गरिरहन्छिन् । मम्मीले पकाएको देख्दा रहरले हेर्दै सिकेकी सिर्जनाले जे पकाए पनि त्यत्तिकै स्वादिलो हुन्छ । दसैंको समयमा उनी मलाई बटर चिकेन, चिकेन छ्वेला, खसीको पक्कु, लाहोरी दम आलु, गाजरको हलुवा आदि बनाउँछिन् । त्यसमा पनि उनले पकाएको खसीको पक्कु, चिकेन ग्रेभी, करेला र भिन्डीको अचार सबैले रुचाउने परिकार हुन् । साथीहरूले भने उनले पकाएको चिकेन बिरयानी, चिकेन मम, भेज मम आदि विशेष रुचाउँछन् । फुर्सद भयो कि नेटमा परिकार तयार पार्ने नयाँ–नयाँ विधि हेरेर त्यसैअनुरूप परिकार बनाइहाल्ने सिर्जना खानाकी पनि उत्तिकै सौखिन हुन् । 

कतै रेस्टुराँ जाँदा नयाँ परिकार फेला पर्‍यो भने उनी डायरी बोकेर सेफसमक्ष पुग्छिन् भने दसैंमा घरमा खाना पकाउने जिम्मा पनि आफैले लिन्छिन् । नाट्यकर्मी नानी थापालाई भने भान्साको काममा त्यति रुचि छैन । त्यस्तै खाना बनाउन पनि उनलाई मुड चाहिन्छ । हत्तपत्त केही नपकाउने नानी दसैंमा फुर्सद हुने भएकाले पनि पकाउन केही जाँगर चलाउँछिन् । थापाको एउटा खुबीचाहिँ के छ भने उनी भान्सामा छिरेपछि अरुले कुनै कुरा पकाउने चान्स पाउँदैनन् ।

जे पकाए पनि मीठो बनाउने नानी चिकेन र मटनका सबै किसिमका परिकार तथा अचार सार्‍है मीठो बनाउँछिन् । थापा घरमा साथीहरूलाई बोलाउँदा पनि केही नयाँ स्वाद चखाउँछिन् । उनकी आमा उनको मटन तथा चिकेन आइटमकी फ्यान हुन् । नानीले पकाएर ख्वाउँदा परिवारका सबैले ओहो सधैं, यस्तो जाँगर चले त–भन्दै जिस्काउँछन् । थापा भन्छिन्–‘हाम्रो परिवेशमा हरेक नारीले पकाउने कला जान्नैपर्छ।’ 

 Image