Successfully Copied

हेयर स्टाइलको ट्रेण्ड

अहिले पहिरनदेखि मेकअप, एसेसरिज, हेयरदेखि खानपानसम्म एउटै स्टाइलमा सीमित हुने जमाना छैन ।

सीता पाठक, सौन्दर्यविद्

मानिसहरू नयाँ–नयाँ स्टाइलमा रमाउन चाहन्छन् । अहिले पहिरनदेखि मेकअप, एसेसरिज, हेयरदेखि खानपानसम्म एउटै स्टाइलमा सीमित हुने जमाना छैन । सामान्य जीवन चलाउनेदेखि सेलिब्रेटीहरूमा पनि विविध स्टाइलमा सजिने सोच हाबी हुँदै गएको छ । त्यसैले पनि हेयर स्टाइलको दुनियाँमा आधुनिक हेयर स्टाइलदेखि परम्परागत हेयर स्टाइलसम्म कायमै छन् । फेसनमा चलेको स्टाइलको कुरा गर्ने हो भने अहिले बढी चलेको हेयर स्टाइल रफ नै मानिन्छ । चिटिक्क परेको भन्दा पनि गज्याङगुजुङ हेयर स्टाइलप्रति मानिसहरू आकर्षित छन् । आफै पनि यस्ता हेयर स्टाइल बनाउन सकिन्छ भने आधुनिक हेयर स्टाइल सेन्टरमा गएर पनि आफूले चाहेको स्टाइलमा सजिन सकिने अवस्था छ । 

युवाहरूको हकमा आर्यन फेस हुनेहरूका लागि निधार देखाउने किसिमको हेयर स्टाइल उपयुक्त हुन्छ भने मंगोलियन फेसका लागि फोरलक हेयर स्टाइल सुहाउँछ । हेयर स्टाइल पहिरनमा कस्तो देखिन्छ भन्ने कुरादेखि लिएर कस्तो फेसकटमा हेयर स्टाइल बनाउने भन्ने कुरालाई प्राथमिकता दिइन्छ । हेयर स्टेट तथा कर्ली अहिलेको प्रचलित स्टाइल हो । त्यसमा पनि व्याककम, हाइसट, वाटरफल, पफ, पम, ब्लेड अम्ब्रे आदिको सहायताले कुनै पनि हेयर डिजाइन गर्न सकिन्छ । 

फेस्टिभ पहिरनका लागि हेयर स्टाइल 

सम्पूर्ण केशमा काइँयो प्रयोग गरी स्प्रे गर्ने । अगाडिको केशलाई छोडेर टपमा आर्टिफिसियल वन लगाई पिनले सेट गर्ने अनि अगाडिको केशमा काइँयो प्रयोग गरी स्प्रे गरेर त्यसलाई वनको माथिदेखि तलतर्फ लगेर पिनले सेट गर्ने । बाँकी रहेको केशलाई त्यही वन जुरोमा समेट्नुपर्छ । पछाडिको केशमा ब्याक कम्बिङ गरी स्प्रे गर्ने । पछाडिको केशलाई ट्विस्ट गर्दै फोल्ड गरी जुरोको तलतिर पनि पिनले सेट गर्नुपर्छ । त्यसपछि सम्पूर्ण केशमा हेयर स्प्रे गरी एसेसरिजले सजाउने । 

केशलाई राम्रोसँग कोरेर थोरै–थोरै अंश लिई रोल गर्ने । त्यसपछि केही समयका लागि केशलाई त्यत्तिकै छाडिदिने । त्यसपछि क्राउन एरियामा स्टफिङ अनि पिन लगाई केशमा हेयर स्प्रे गर्ने । अब अगाडिको साइडबाट सिउँदो निकाल्ने र साइडको केशलाई राम्रोसँग घुमाएर स्टफिङसँगै पिनले जोडिदिने । अर्को साइडको केशमा पनि त्यस्तै गर्ने । बीचमा बचेको केशलाई थोरै–थोरै लिएर ट्विस्ट गर्ने र पफ माथि घुमाउने । अब पछाडिको सबै केशलाई माथि उठाएर तल क्लिप लगाउने र केशलाई एउटा गुच्छाको लुक्स दिने । त्यसपछि फेरि एकपटक हेयर स्प्रे गर्ने ताकि हेयर स्टाइल चाँडै सेट होस् । अन्त्यमा हेयर एसेसरिजले केश सजाउने । 

हेयर एसेसरिज

अहिले आँखालाई झट्ट तान्न सक्ने हेयर एसेसरिज प्रचलनमा छन् । दुलहीको केश सजाउन हिजोआज आर्किड, पिओनिज, गुलाब तथा जस्मिन आदि ताजा फूल प्रयोग गरिन्छ । फूल प्रयोग गर्न नचाहनेहरूले स्वरोस्की क्रिस्टल वा ज्युल्ड क्लिप्स लगाउन सक्छन् । 

हेयर एक्सटेन्सन

केशलाई बाक्लो र आकर्षक बनाउन हेयर एक्सटेन्सनको प्रयोग निकै उपयोगी हुन्छ । यसलाई विवाहका दिन पनि प्रयोग गर्न सकिन्छ । यसलाई उपयोगमा ल्याउन र हटाउन सजिलो छ । क्लिप तथा अन्य एक्सटेन्सन केशमा राम्रोसँग म्याच हुन्छ । यसले बाक्लो जुरो बनाउन पनि सहयोग गर्छ । 

आकर्षक ब्रेडर्स

हिजोआज फिस टेल, फेन्च टेल, खजुरी चोटी आदि विभिन्न खालका जुरो चलनमा छन् । यसबाहेक मेसी टेक्सचर्ड हेयर लुक पनि मन पराउन थालिएको छ । 

हेयर केयर

दसैं सुरु हुनुभन्दा महिना दिनअघिदेखि नै केशको स्याहार गर्नु आवश्यक हुन्छ । केशलाई राम्रोसँग स्याहार गर्ने हो भने उमेर बढ्दै जाँदा पनि केश साइन, बाक्लो र हेल्दी बनाउन सकिन्छ । केश ट्रिटमेन्ट गर्दा सुरुमा फिस ओइलले मसाज गराउनुपर्छ जसले गर्दा केशमा चमक आउँछ । फिस ओयल छैन भने बदाम तथा ओखरको पेस्ट हप्ताको एकपटक लगाउन सकिन्छ । यसले केशमा चमक ल्याउनुका साथै केश झर्ने समस्याबाट पनि जोगाउँछ । हिजोआज बढी केमिकलको प्रयोग तथा सहरी प्रदूषण एवं मानसिक तनावका कारण उमेर नपुग्दै केश फुल्ने समस्या देखा पर्छ । यसरी केश फुल्ने समस्याले कुरूपसमेत बनाउनसक्छ ।

अमलालाई स–साना टुक्रामा काटेर घाममा सुकाउने । सुकेको अमलालाई नरिवल र बदामको तेलमा लेदो हुन्जेल उमाल्ने । पछि यो कालो तेलमा परिणत हुन्छ । उक्त तेल बिहान–बेलुका केशको जरामा लगाउँदा केश कालो भएर आउँछ र बिस्तारै फुल्न पनि छाड्छ । हप्ताको दुई पटक केशको टाइपअनुसार स्याम्पु तथा कन्डिसनर प्रयोग गर्ने । केशमा हप्ताको एकपटक ओयल मसाज गर्ने । हट टावल वा स्टिम दिने । यसले ब्लड सर्कुलेसनमा सहयोग गर्छ र रोमछिद्रहरू खोलेर तेल जरासम्म पुर्‍याउन मद्दत गर्छ । हेयर प्याक लगाउँदा केश बलियो, नरम र साइनिङ हुन्छ । हेयर स्पा पनि समय–समयमा गराउने जसले केशलाई हेल्दी बनाउँछ । क्यास्ट्रोल आयल अथवा अदुवाको रससँग प्याजको रस मिसाएर लगाउँदा केश झर्ने समस्याबाट मुक्त भइन्छ । दहीमा कागती मिसाएर लगाउँदा पनि चायाँ हट्छ । 

 

 Image