Successfully Copied

रंगको संसार

अहिले नेपाली बजारमा स्वदेशी तथा विदेशी कम्पनीकमा विभिन्न गुणस्तरका रंग उपलब्ध छन् ।

घर त्यो हो जहाँ मन बस्छ, मन त्यहाँ बस्छ जहाँ शरीरका इन्द्रियहरू खुसी हुन्छन् । रंगले घरलाई चित्ताकर्षक बनाउँछ । रंगबिनाको घर सबै मसला मिलाएर नुन नहालिएको तरकारीजस्तै हो । मन रम्ने घर बनाउन रंगको ठूलो महत्व छ । अहिले नेपाली बजारमा स्वदेशी तथा विदेशी कम्पनीकमा विभिन्न गुणस्तरका रंग उपलब्ध छन् । बर्जर, कन्साइ नेरोल्याक, एसियन तथा पशुपति नेपालमा चलेका रंग उत्पादक हुन् । यिनले उत्पादन गर्ने रंगको गुणस्तरलगायत कलर भेराइटीको आँकलन गर्न कठिन हुन्छ ।

नेपालमा उपलब्ध कलर कम्पनीहरूले बेलाबखत ग्राहकको सेवा–सुविधालाई ध्यानमा राखी विभिन्न उपहार योजना तथा स्किम पनि ल्याउने गरेका छन् । कन्साइ नेरोल्याक नामक अन्तर्राष्ट्रिय कम्पनीले सन् २०१५ मा हिन्दी चलचित्रका सुपरस्टार शाहरूख खानलाई नेपाल ल्याई उनकै हातबाट बेस्ट कस्टमरलाई उपहार प्रदान गरेको थियो । यस्ता स्किम तथा योजनाले ग्राहक मोटिभेडेट हुने मात्र नभई साधारण नेपालीले पनि सुनौलो अवसर प्रदान गर्ने कम्पनीको दाबी छ ।

नेपालमा अत्यधिक चल्तीको बर्जर मल्टिनेसनल कलर कम्पनी हो । यसका सयौं कलर भेराइटी छन् । हामीसँग एक्टेरियर तथा इन्टेरियर दुवैमा प्रिमियम, इकोनोकिम र रेगुलर गरी तीन भेराइटीका रंग उपलब्ध छन्–बर्जर पेन्ट्सका सप्लाइ चेन एक्ज्युकेटिभ देव थापा भन्छन्–‘कलर ब्यांक प्रोडक्टमा विविध रंग मिसाएर नवीन तथा पृथक् कलर निकालिन्छ भने रेगुलर कलरमा प्राकृतिक कलरहरू नै हुन्छन् ।’बर्जर पेन्ट्समा भित्ता रंगाउनुअघि लगाइने वालपुट्टी, प्राइमर, इमल्सन, डिस्टेम्पर आदि उपलब्ध हुन्छ । भित्ता रंगाउनुअघि सकेसम्म इमल्सन लगाउनु उत्तम हुने देवको भनाइ छ । गुणस्तर र टिकाउका हिसाबले इमल्सनको प्रयोग उत्कृष्ट हुन्छ । पछिल्लो समयमा फरक–फरक कलर मिसाएर पृथक् खालको नयाँ कलर निकाल्ने होड चलेको छ र यसलाई कलर ब्यांक प्रोडक्ट भनिन्छ जसलाई क्रेताहरूले अत्यधिक रुचाएका छन् । 

एसियन पेन्ट्सका सेल्स इन्चार्ज मनीष अधिकारी अहिले घरमा रंग लगाउने कुरामा धेरै मानिस सजग हुन थालेको बताउँछन् । अधिकारीका अनुसार करिब एक दशकअघिसम्म लाखौं खर्च गरेर घर निर्माण गर्नेहरू वर्षौंसम्म घरमा रंग नलगाई बस्थे तर अहिले घर स्टिमेसन बजेटभित्रै रंगका लागि पैसा छुट्याइन्छ । मल्टिनेसनल ब्रान्ड एसियन पेन्ट्सले पनि एक्स्टेरियर तथा इन्टेरियरमा स्पेशल इफेक्ट्स, उड फिनिस, इनामेल जस्ता कलर उत्पादन गर्दै आएको छ । यसको रोयल एस्पिरा हाइ क्लास कलर हो । यो हाइ ट्याफ्लोन, स्क्र्याच प्रुफ तथा केही महँगो पर्ने एस्पिरा इन्टेरियरमा रोयल लुक्स प्रदान गर्ने रंग हो । 

अधिकारी भन्छन्–यसबाहेक हामीसँग रोयल साइन, रोयल लक्जरी, वासेबल प्रिमियम इमल्सन, इन्टेरियरका लागि ट्याक्टर डिस्टेम्पर, ट्याक्टर उनो डिस्टेम्पर जस्ता उच्च गुणस्तरीय उत्पादन उपलब्ध छन् जसलाई नेपाली उपभोक्ताले अत्यन्त मन पराइरहेका छन् । उता नेपाली उत्पादन पशुपति पेन्ट्ससँग पनि सयौं भेराइटीका रंग उपलब्ध छन् । घरभित्र र बाहिर लगाइने दुवै किसिमका रंग उत्पादन गर्ने नेपाली कम्पनी पशुपति पेन्ट्सले लामो समयदेखि ग्राहकका लागि कलर ब्यांक प्रोडक्ट पनि बजारमा उपलब्ध गराइरहेको छ । नेपाली उत्पादनलाई बढावा दिने तथा सुपथ मूल्यमा राम्रो उत्पादन गर्ने ग्राहकहरूमाझ पशुपति पेन्ट्स अत्यन्त लोकप्रिय छ ।

मुम्बईस्थित लोअर परेलमा हेड क्वार्टर रहेको अर्को मल्टिनेसनल ब्रान्ड कन्साइ नेरोल्याक रंगहरूमा उत्कृष्टता हासिल गरेको कलर उत्पादन कम्पनी हो । यो कम्पनीले बेला–बेलामा विभिन्न आकर्षक तथा रोचक स्किमहरू ल्याएर उपभोक्तहरूको मन जित्ने काम गरिरहेको छ । सन् २०१५ मा भारतीय सुपरस्टार शाहरूख खानलाई नेपाल भित्र्याएर आफ्नो ब्रान्डलाई लोकप्रिय बनाउने कन्साइ नेरोल्याकले नेपालमा राम्रो वर्चस्व कायम गरेको छ । यसका एक्सटेरियर तथा इन्टेरियर कलर संसारभर लोकप्रिय तथा गुणस्तरीय मानिन्छन् । 

बक्समा

किचनमा कस्तो रंग लगाउने ?

  • किचन भनेको घरको मुटु हो जहाँ परिवारका सदस्यहरूको बढी नै आवतजावत हुन्छ । हामी किचनमा धेरै समय बिताउँछौं । त्यसैले किचनमा आँखालाई बाधा नपर्ने रंग लगाउनुपर्छ । सकेसम्म इजी क्लिन रंग लगाउनु उपयुक्त हुन्छ किनभने किचन त्यस्तो ठाउँ हो जहाँ पानी बढी खेलाइन्छ । भान्साका लागि पानीले पनि नबिगार्ने तथा सहजै सफा गर्न सकिने रंग फिट हुन्छ । 

बेडरुमका लागि कलर

  • बेडरुम त्यो ठाउँ हो जहाँ दिनभरिको थकान मेटाउन विश्राम गरिन्छ । यस्तो ठाउँमा मन शान्त हुने खालका लाइट ब्लु, लाइट पिंक वा अफ ह्वाइट रंग लगाउन सकिन्छ । बजारमा हालसालै देखापरेको सिल्क कलर बेडरुमका लागि उपयुक्त रंग हो । 

रंग लगाउँदा अपनाउनुपर्ने सावधानी

  • हेल्थ कन्सियसहरूले सिल्कलगायतका उच्च गुणस्तरीय कलर छनोट गर्नसक्छन् ।
  • बजारमा उपलब्ध ब्रेथी जी कलर स्वास्थ्यका लागि हानिकारक छ कि छैन ध्यान पुर्‍याउने ।
  • कसै–कसैले घर अन्डर कन्स्ट्रक्सनमै रहँदा रंग लगाउन खोज्छन् जुन उपयुक्त होइन । घर रंगाउनुअघि आफ्नो एरिया तयार छ कि छैन त्यसतर्फ केन्द्रित हुने ।
  • रंग लगाइसकेपछि सुक्न पर्याप्त मात्रामा समय दिने । 
  • बिग्रिएका, मक्किएका भित्ता मेन्टेन गरेर मात्र कलर गर्ने । 

 Image