Successfully Copied

सावधानी खानपानमा

हिजोआज राम्रो लगाउन र मीठो खान दसैं नै कुर्नुपर्ने अवस्था छैन तैपनि दसैंका लागि नयाँ पहिरन खरिद गर्ने तथा मासुका विभिन्न भेराइटी बनाएर खाने चलनमा कमी आएको छैन ।

नेपालीरूको महान् चाड दसैं नजिकिएको छ । यो चाड राम्रो लगाउने र मीठो खाने चाडका रूपमा प्रख्यात छ । हिजोआज राम्रो लगाउन र मीठो खान दसैं नै कुर्नुपर्ने अवस्था छैन तैपनि दसैंका लागि नयाँ पहिरन खरिद गर्ने तथा मासुका विभिन्न भेराइटी बनाएर खाने चलनमा कमी आएको छैन । अहिले धेरै मानिसलाई बदलिँदो जीवनशैली तथा अव्यवस्थित खानपानका कारण अनेकांै रोग लाग्छन् । चाडपर्व मनाउने बहानामा आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्दै जथाभावी खाए स्वास्थ्यमा नकारात्मक असर पर्ने किस्ट मेडिकल कलेजकी डाइटिसियन रश्मि श्रेष्ठ बताउँछिन् । 

चाडपर्वमा बढ्ने रोग 

ग्यास्ट्रिक 

धेरै नेपालीमा यो समस्या छ । दसैंमा भोकै बसेर पूजाआजा गर्दा ग्यास्ट्रिकले बढी सताउँछ । भोकै बसेर लामो समयपछि चिल्लो, पिरो, मसालेदार खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । पिरो धेरै खाँदा पेट दुख्छ । त्यसैले समय–समयमा पानी पिइरहनुपर्छ भने फलफूल पनि खाइरहनुपर्छ । ग्यास्ट्रिकका बिरामीका लागि बोसोयुक्त मासु हानिकारक हुन्छ । रातो मासुको साटो कुखुरा तथा माछा खान सकिन्छ । 

मधुमेह 

नेपालका थुपै्र महिला मधुमेहबाट पीडित छन् । दसैंमा नवदुर्गा भवानीको पूजाआजा भोकै पेट गर्ने चलन छ । यसले स्वास्थ्यमा असर पार्छ । व्रत बस्दा आलु तथा दूध खाइन्छ । यस्ता खानेकुरा बढी खाए मधुमेहका रोगीको शरीरमा चिनीको मात्रा अझ बढ्छ । पिसाबमा किटोन आउँछ जसलाई डायबेटिक किडोएसिडोसिस भनिन्छ । मधुमेहका रोगीले गुलियो नभएका खानेकुरा समय–समयमा खाइरहनुपर्छ । नियमित औषधि सेवन गर्नुपर्छ । खाली पेटमा पिरो, अमिलो धेरै खाँदा सुगर ह्वात्तै बढ्ने सम्भावना हुन्छ । 

मधुमेहका कतिपय बिरामीले इन्सुलिन लगाइरहेको अवस्थामा इन्सुलिन लगाएर खाना नखाँदा शरीरमा ग्लुकोजको मात्रा कम भै बिरामी बेहोस भएको पनि देखिएको छ । यसलाई हाइपोग्लासिमिया भनिन्छ । चाडपर्वमा आफ्नो स्वास्थ्यको ख्याल गर्नु पनि उत्तिकै जरुरी छ । यस्ता बिरामीका लागि रातोभन्दा पनि सेतो मासु उपयोगी हुन्छ । सीमित क्यालोरीयुक्त खाना खानुपर्छ । सुगररहित मिठाईं पनि खान सकिन्छ । दसैंमा मासुसँगै ड्रिंक्स गर्ने चलन छ । अल्कोहल तथा कोल्डड्रिंग्स आदिमा शून्य क्यालोरी हुन्छ जसले सुगर अझ बढाउँछ । 

मुटु रोग 

मुटुका रोगीले आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दै चिल्लो, पिरो बढी खाए रक्तचाप उच्च हुनुका साथै स्ट्रोकसमेत हुन सक्छ । मुटुको नसा साँघुरिएका बिरामीले पनि चाडपर्वमा विशेष सतर्कता अपनाउनुपर्छ । नियमित औषधि सेवन गर्नुपर्छ । रातो मासु खानुहुँदैन । धेरै क्यालोरी भएको, चिल्लो, पिरो तथा अमिलो खानेकुरा खानुहुँदैन । यस्ता बिरामीका लागि कुखुरा तथा माछा लाभदायक हुन्छ । पिरो धेरै खाँदा पेट पोल्न सक्छ ।

युरिक एसिड

दसैंमा धेरैको घरमा रातो मासु पाक्छ । युरिक एसिडका बिरामीले रातो मासु खानुहँुदैन । रातो मासुमा पाइने प्युरिन कन्टेन्टले युरिक एसिडलाई बढावा दिन्छ । युरिक एसिडका बिरामीले दाल तथा गेडागुडी पनि सीमित मात्रामा खानुपर्छ । उच्च प्रोटिनले युरिक एसिडलाई बढावा दिन्छ । यसले गाउट (गोलीगाँठा सुन्निने) हुन्छ । यस्ता बिरामीका लागि माछा लाभदायक हुन्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । 

मोटोपन

चाडपर्वको समयमा लामो बिदा हुने भएकाले बस्ने–खाने काम धेरै हुन्छ । अहिले जीवनशैली पनि परिवर्तन भएको छ । मानिसहरू हिँडेरभन्दा पनि गाडी वा अन्य साधनमा मन्दिर पुग्छन् । चाडपर्वमा व्यायामको पनि कमी हुन्छ । केही नगरी बस्ने–खाने काम मात्र गर्दा मोटोपन बढ्छ । त्यसैले मासु तारेरभन्दा पनि उसिनेर खानु उपयुक्त हुन्छ । मासुका साथमा सागपात अनिवार्य रूपमा खानुपर्ने हुन्छ । खाने–बस्ने मात्र नगरी काम गर्ने तथा हिँडडुल गर्नेजस्ता शारीरिक अभ्यास गरिरहनुपर्छ ।

दम 

दमका बिरामीका लागि चिल्लो, मसालेदार तथा तारेका खानेकुरा अहितकर हुन्छन् तसर्थ चिसो पेय पदार्थ एवं फ्रिजमा राखिएका खानेकुरा खानु हुँदैन । 

रक्तअल्पता 

महिलामा प्राय: रक्तअल्पताको समस्या देखिन्छ । यस्ता समस्यामा कलेजो लाभदायक हुन्छ । कलेजोमा आइरनको मात्रा बढी हुन्छ । त्यस्तै फलामको भाँडामा पकाइएको खानेकुरा पनि खान सकिन्छ । कालो दाललाई फलामको भाँडामा पकाएर खाँदा पनि आइरन प्राप्त हुन्छ ।

कोलस्ट्रोल

कोलस्ट्रोलका बिरामीले खसीको मासु, कलेजो तथा फोक्सो खानु हुँदैन । गेडागुडी, कुखुराको मासु तथा माछा नतारी थोरै तेलमा बेक गरेर खान सकिन्छ । हरिया तरकारी तथा सागपात फाइदाजनक हुन्छन् । 

थाइराइड

अहिले धेरै महिलामा थाइराइडको समस्या देखिएको छ । ९ जना महिलामध्ये १ जना पुरुषमा थाइराइड हुने अध्ययनहरूबाट पत्ता लागेको छ । थाइराइडका बिरामीले माछा–मासु खान कुनै बन्देज छैन । थाइराइड हुनेहरूले काउली–बन्दा खानुहुँदैन भन्ने धारणा छ यद्यपि नियमित सेवन गरिरहेको औषधि खानुभन्दा २ घन्टाअघि वा २ घन्टा पछिसम्म मात्र काउली–बन्दा तथा बदाम नखाए हुन्छ । काउली, बन्दा वा बदामको औषधिसँग हुने रासायनिक प्रतिक्रियाका कारण औषधिले राम्रोसँग काम गर्दैन । काउली–बन्दा खाँदा औषधि खाएको २ घन्टा अघिपछि पारेर खानुपर्छ । थाइराइड दुई किसिमको हुन्छ । 

हाइपरथाइरोइडिजम 

डायरिया हुने भएकाले रेसायुक्त पदार्थ नखानु नै वेश हुन्छ । हाइ क्यालोरी डाइट यस्ता बिरामीका लागि फाइदाजनक हुन्छ । जस्तो कि चिल्लो तथा गुलियो खानेकुरा खान सकिन्छ । मधुमेहका बिरामीले भने गुलियो खानुहुँदैन । 

हाइपोथाइरोइडिजम 

यसमा मेटाबोलिज्म स्लो हुने भएकाले तौल बढ्छ । त्यसैले गुलिया खानेकुरा कम खानुपर्छ । व्यायाम गर्नुपर्छ । कम क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । सलादको प्रयोग बढी फाइदाजनक हुन्छ । 

मिर्गौला 

मिर्गौलामा समस्या भएका बिरामीले रातो मासुका साथै प्रोटिन तथा पोटासियमयुक्त खाना कम खानुपर्छ । पोटासियम बढे मुटुलाई अप्ठ्यारो तथा सास फेर्न गाह्रो हुन्छ । गेडागुडी तथा कुरिलो खानुहुँदैन । हरियो सागपात पनि चिकित्सकको सल्लाहमा खानुपर्छ । 

कलेजो

अहिले कलेजोका रोगीको संख्या पनि बढिरहेको छ । अल्कोहलका कारण हेपाटाइटिस बी तथा सीका अतिरिक्त कलेजोका अन्य रोगका साथै क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले खानेकुरामा विशेष सतर्कता अपनाउनुपर्छ । खानेकुरा पचाउन कलेजोको आवश्यकता पर्छ । त्यसैले कलेजोलाई असर पार्ने खानेकुरा अल्कोहल, मासु आदि खाँदा दीर्घरोगीहरूले विशेष ध्यान पुर्‍याउनुपर्छ । यस्ता बिरामीले चाडपर्व त हो नि भनेर उच्च प्रोटिनयुक्त खाना खाए दिसाबाट रगत जाने, रगत बान्ता हुने आदि हुनसक्छ । चाडपर्वको आगमनसँगै यस्ता रोगीको संख्या बढ्ने भएकाले खानपानमा विशेष ध्यान पुर्‍याउनु जरुरी छ । 

कब्जियत 

मासु खाने चाडका रूपमा प्रख्यात भएकाले पनि दसैंमा मासु बढी नै खाइन्छ । अन्य खानेकुराको तुलनामा मासु बढी खाँदा कब्जियतको समस्या देखिन्छ । त्यसैले यस्तो समस्याबाट जोगिन मासुका साथमा हरियो सागपात, सलाद, खोस्टे मुंगको दाल, फलफूल आदि रेसायुक्त खानेकुरा खानुपर्छ भने प्रशस्त मात्रामा पानी पिउनुपर्छ । 

मासु कसरी संचय गर्ने ?

दसैंमा मासुको उपभोग धेरै नै हुने गरेको छ । एकैपटक धेरै मासु पकाउनुभन्दा पनि मासुलाई साना–साना पोका बनाएर फ्रिजमा राखी आवश्यक मासु मात्र पकाउन सकिन्छ । त्यस्तै मासु एकैपटक पकाएर राख्ने चलन पनि छ । यस्तो अवस्थामा एक–दुई दिनसम्मको मासु मात्र खानु उपयुक्त हुन्छ । पकाएको मासु चिसो भएपछि भाँडाको बिर्को लगाएर बन्द गरी फ्रिजमा राख्नुपर्छ । त्यसपछि चाहिने जति मात्र निकाल्ने र तताउने । मासुलाई तताउने–चिस्याउने गरिरहँदा त्यसको स्वाद बिग्रनुका साथै किटाणु पनि वृद्धि हुन्छ । अहिले बिजुलीको समस्या छ । त्यसैले फ्रिजमा सञ्चय गर्दा पनि मासु बिग्रन सक्छ । बिग्रिएको मासु खाए झाडापखाला लाग्ने, अपच हुने तथा पेट दुख्ने आदि हुनसक्छ । 

मासु पकाउँदा 

  • मासुलाई एकैपटक तेल, बेसार, नुन, मसला मोलेर मन्द आँचमा पकाउन सकिन्छ । 
  • एकपटक प्रयोग गरिएको तेल अर्को पटक प्रयोग गर्नुहुँदैन । 
  • स्वस्थ मानिसले पनि धेरै मासु खाए हानी हुन सक्छ । 
  • दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ । 
  • मासुलाई उसिनेरभन्दा पनि बफ्याएर पकाउन सकिन्छ ।
  • मासुलाई सुख्खा किसिमले फ्राइ गरेर भाँडाको तल रहेको चिल्लो फालेर खान सकिन्छ।
  • चिल्लो, पिरो तथा मसला कम हालेर पकाइएको मासु स्वस्थ हुन्छ ।
  • मासुलाई १ सय डिग्रीभन्दा बढी तापक्रममा पकाउनुपर्छ । 

मासुको विकल्प

दसैंलाई मासु खाने चाडका रूपमा लिइन्छ । हुन पनि यो समयमा सबैजसोको घरमा मासु पाक्छ । शाकाहारीले दसैंमा मासुको विकल्पका रूपमा मसरुम, पनीर, गेडागुडी, सागपात, दूध, मिठाईं आदि खान सक्छन् । यसैगरी भटमास तथा त्यसको उत्पादन पनि प्रोटिनका राम्रा स्रोत हुन् । तोफु तथा न्युट्रेला खाँदा पनि पर्याप्त प्रोटिन प्राप्त हुन्छ । 

स्वस्थ मासु

चाडपर्वमा मासुको खपत बढी हुन्छ । यस्तो बेला बेचबिखन गरिएका पशुपंक्षी कत्तिको स्वस्थ छन् ध्यान पुर्‍याउनु आवश्यक छ । मासु काट्ने ठाउँ सफा छ–छैन हेर्नुपर्छ । काँचो मासु खानुहुँदैन । 

सावधानी 

मासुलाई सेकुवा बनाएर खाने चलन छ । सामान्य समयमा पनि सेकुवा खाने ट्रेन्ड बढ्दो छ । पोलेको मासु तथा सेकुवा धेरै खाँदा पेट र आन्द्रासम्बन्धी क्यान्सर हुने सम्भावना वृद्धि हुन्छ किनभने यस्तो मासुमा कार्सिनोजेनिक नामक तत्व समावेश हुन्छ । 

टिप्स 

दसैंमा धेरैजसोको घरमा मासुसँगै कोल्डड्रिंक्स पनि सर्व हुन्छ । कोल्ड ड्रिंक्स स्वास्थ्यका लागि हितकर मानिँदैनन् । यसमा क्यालोरीको मात्रा शून्य हुन्छ । खाली पेटमा सेवन गर्दा त्यसमा भएको फस्फोरिक एसिडका कारण ढ्याउँ–ढ्याउँ आउँछ । यसको नियमित प्रयोगले हड्डी खिइने प्रक्रियालाई बल पुर्‍याउँछ भने दाँतको इनामेलमा पनि असर गर्छ । 

प्रति १ सय ग्राममा 

मासुका प्रकार     जम्मा चिल्लो     स्याचुरेटेड चिल्लो    प्रोटिन     शक्ति    कोलस्ट्रोल 

माछा    १. ७

    ०.४    २७.३    १३२    ०.७७

कुखुराको मासु    ४ . १ 

    १.१    ३५.१    १८६    ९६

अस्ट्रिच     २.५    ०.५    २८    १३५    ५०

बंगुर     ५.४    १.९    ३१.८    १८५    ८९

राँगा     ७.५    ३     ३४.२    २१२     ८६

भेँडा–बाख्रा    ८.७    ३.१    ३२     २१६    ९८

दोहोरो मारमा महिला 

घरको काम, अफिस अनि बालबालिकाको स्याहार.... यस्तैमा बितिरहेको हुन्छ महिलाको जीवन । चाडपर्वमा महिलाहरू अझ बढी व्यस्त हुन्छन् । विशेष सरसफाइ, पाहुना सत्कार, मासुका विभिन्न परिकार तथा अन्य परिकार बनाउँदैमा समय बित्छ । यसले उनीहरूमा थकान महसुस हुन्छ । कतिपय महिला त बढी कामका कारण थलासमेत पर्छन् । त्यसैले घरको काम सबै मिलेर गर्नुपर्छ । पकाउने र सरसफाइ महिलाको मात्र काम होइन । यो समयमा भोकै पूजापाठ गर्न पनि महिलाहरू नै अग्रसर हुन्छन् । भोको पेटमा पूजा गर्दै घरको काम गर्दा स्वास्थ्यमा अझ बढी असर पर्छ । त्यसैले घरका अन्य सदस्यले महिलाको काममा सघाउनुपर्छ । सबै मिलेर काम गरे चाडपर्वलाई रमाइलो बनाई अझ बढी मज्जा लिन सकिन्छ । 

 

 Image