Successfully Copied

नाचबाट आनन्द लिनहोस्

नाच जीवन्तता र चैतन्यताको प्रतीक पनि हो ।

नाचलाई सुरुदेखि नै आनन्द र उल्लासको अभिव्यक्ति मानिँदै आएको छ । धेरै खुसी व्यक्त गर्नेहरूका लागि भनिन्छ– ऊ खुसीले नाच्न थाल्यो । मानिस मात्र होइन प्रकृतिको खुसीको अभिव्यक्तिका लागि पनि नाचलाई प्रतीक बनाइन्छ । हरेक पातमा पानीको थोपा, मयूरले आफ्ना सबै पखेटा फिँजाएर नाचेको आनन्द वा खुसीका कतिपय अभिव्यक्ति नाचमै आधारित छन् । नाच जीवन्तता र चैतन्यताको प्रतीक पनि हो । 

संसारमा आनन्द प्राप्तिका लागि पनि नाचको उपयोग गरिन्छ । यसमा अमेरिकाको ‘सेकर्स’ समुदाय पनि सहभागी छ । जसलाई सेकर्स भनिनुको कारण आफ्नो धार्मिक नाचको चरम सीमामा पुगेपछि सहभागी भावोन्मादमा काम्न थाल्थे र यसको अगाडिको स्टेप लोकातीत स्थितिमा पुग्नु हुन्थ्यो । 

नाचका श्रृंखलाहरूमा सबैभन्दा प्रसिद्ध सुफी दरवेसद्वारा गरिने गोलाकार नाच हो । यो नाचमा सबै दरवेस उठेर पूर्वदेखि पश्चिम दिशातिर गोलाकार रूपमा घुम्थे, सीधा हातमाथि उठाएर र उल्टा हात झुन्डाएर नाच्थे । यस क्रममा उनीहरू गीतको लयमा घुम्दै विस्तारै गति बढाउँदै जान्थे र अन्त्यमा आफ्नो उपस्थिति पनि बिर्सिएर ‘ट्रान्स’ मा पुग्थे । 

तनाव मुक्ति र ध्यानको प्रतिक्रियामा यसप्रकारको नाच सबै नाचमा समावेश गरिन थालेको छ । आज नाचका लागि खुलेका डिस्कोहरूमा विभिन्न प्रकारका नाच देख्न पाइन्छ । विशेषगरी शुक्रबार साँझ युवायुवतीहरूले डिस्कोथेगमा गएर आफ्ना सबै समस्या र उदासीपन बिर्सन्छन् । हिँजोआज त चिकित्सा एवं मनोचिकित्साहरूले पनि नाचबाट रोग निको पार्न थालेका छन्, जसलाई डान्स थेरापी भनिन्छ । चिकित्सकहरूका अनुसार नाचले शारीरिक तनाव कम हुन्छ, स्थिर भएका मांसपेशीहरू खुल्छन् र रक्त प्रवाह बढ्छ । मनोचिकित्सकहरूका अनुसार नाचले मानिसमा जोस भरिदिन्छ । 

त्यस्तै डिप्रेसन, एंकजाइटी, भय आदिलाई हटाउन सहयोग गर्छ । यदि त्यो समूह नाच छ भने त्यसमा सामुदायिकता पनि हुन्छ । यसले मेलमिलाप एवं सामाजिकतालाई बढाएर मानिसहरूको एक्लोपनलाई हटाउँछ । यदि एक्लै नाच्दै हुनुहुन्छ भने पनि नाचले जोकसैलाई मस्त बनाइदिन्छ । नाचको प्रभाव इन्द्रजालजस्तै हुन्छ । 

जहाँ नाच हुन्छ त्यहाँ जोस हुन्छ । नाच आफूमा मग्न हुने वा हराउने एउटा त्यस्तो कला हो जसले केही समयका लागि भए पनि संसारै बिर्सन पुगिन्छ । यदि कसैलाई पूर्वीय वा पश्चिमी नाचको ज्ञान छैन भने पनि जस्तो आउँछ त्यस्तै नाच्दा आनन्द आउँछ । नाच स्वतन्त्रताको चरम अवस्था हो । यो बन्धनबाट मुक्त छ । संगीतको धुनमा इच्छाअनुसार हातखुट्टा चलाउँदा पनि आनन्द प्राप्त हुन्छ ।

 Image