Successfully Copied

छोरी

‘छोरी जन्मिएकी छ डाक्टर सा’ब, घुतुमुने ।’ नर्सले ल्याएर छोरी श्रीमान्को काखमा राखिदिई । सधैं धीर–गम्भीर रहने मेरा सिनियर सर्जन श्रीमान् अलिकति मात्र मुस्कुराए । उनको कन्जुस्याइँपूर्ण मुस्कानको मेरी आमाले के अर्थ लगाउनुभयो कुन्नि, मेरो हात समाएर स्नेहमा डुबेको स्वरमा भन्नुभयो–‘छोरी भै भनेर

‘छोरी जन्मिएकी छ डाक्टर सा’ब, घुतुमुने ।’ नर्सले ल्याएर छोरी श्रीमान्को काखमा राखिदिई । सधैं धीर–गम्भीर रहने मेरा सिनियर सर्जन श्रीमान् अलिकति मात्र मुस्कुराए । उनको कन्जुस्याइँपूर्ण मुस्कानको मेरी आमाले के अर्थ लगाउनुभयो कुन्नि, मेरो हात समाएर स्नेहमा डुबेको स्वरमा भन्नुभयो–‘छोरी भै भनेर मन नखुम्च्याउनु होला ज्वाइँसाब, भोलि मर्न लाग्दा आफ्नै शरीरको अङ्ग दिएर बचाउने छोरी नै हुन्छन् । मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् ।’ मेरा आँखा आँसुले भरिए । ‘त्यो मलाई जति कसलाई थाहा छ र आमा ?’ मेरा श्रीमान्ले छोरीलाई छातीमा टाँसेर मलाई हेर्दै भने–‘बस्, मेरी छोरीमा पनि तपाईंकै छोरीको गुण आओस्, यत्ति नै चाहन्छु ।’ मैले आँखाभरि उनीहरूलाई हेरें । अनायासै मेरा आँखामा विगत उत्रियो ।

                                                 ०००००

दाइ र मेरो उमेरमा केवल १८ महिनाको अन्तर थियो तर पनि हामीमाझ भेदभावको कुनै सीमा थिएन । अझ बा बितेपछि त आमाले पराकाष्टा नै गरिदिनुभयो । उहाँ १२ वर्षको दाइलाई १२ महिनाको केटाकेटीलाई झैं व्यवहार गर्नुहुन्थ्यो । आमाको कमजोरी बुझ्दै गएको दाइ पनि फाइदा उठाउने कुनै मौका छोड्दैनथ्यो । खेतबारी टन्नै थियो हाम्रो । खान–लाउन छेलोखेलो पुग्थ्यो । खटिनचाहिँ पथ्र्यो प्रशस्तै, जुन मेरो दाइलाई कहिल्यै परेन । आमा र म घोटिएर खेतबारीमा काम गथ्र्यौं । दाइ हल्लिएर समय बिताउँथ्यो । कामको चटारो हुँदा आमा मलाई स्कुल पठाउन खोज्नुहुन्नथ्यो तर म झगडा गरेर भए पनि स्कुल जान्थें । आमाका लागि त दाइले पढिदिए नै काफी थियो । म त छोरी थिएँ, अर्काको घर जाने जात, त्यसैले मेरो पढाइ–लेखाइको उहाँलाई कत्ति चिन्ता थिएन । आखिर उहाँले पनि त स्कुलको मुख देख्नुभएको थिएन ।

२० वर्ष पनि नपुग्दै दाइ गाउँकी एउटी केटी टिपेर भाग्यो । नौ कक्षामा दुईपल्ट फेल भएर पढ्न छोडी हल्लिएर बसेको मेरो दाइ लगभग १० महिना घर आएन । आमा दाइको चिन्तामा मृतप्राय: हुनुभयो । उहाँलाई दाइले पढ्न नसकेकोमा होइन, त्यति सानै उमेरमा केटी भगाएकोमा पनि होइन, बरु उनी आँखाअगाडि नभएकोमा बढी चिन्ता थियो । लगभग दस महिना घरमा मीठो–चोखो पाकेन । कुनै चाडबाड मानिएन । मैले कुनै चीजको रहर गरे उहाँ रुदै भन्नुहुन्थ्यो–‘मेरो बालख छोरो कहाँ, कुन ठाउँमा दु:ख पाएर बसेको होला, यसको मनमा भने अलिकति चिन्ता छैन ।’ केटी लिएर भागेको लाठे छोरोका लागि उहाँको मन सधैं रुन्थ्यो तर म जो घरको, खेतबारीको काममा खटिएर पनि स्कुल–कलेजमा सधैं प्रथम हुन्थें, त्यसको लेखाजोखा आमाले कहिल्यै गर्नुभएन ।

भागेको ११ औं महिनामा दाइ घर फर्कियो । ऊ स्वास्नी काठमाडौंमै छोडेर आएको थियो । पछि दाइ आमालाई फकाएर घरबार बेच्न लगाई सबै पैसा कुम्ल्याएर काठमाडौं गयो । मैले धेरै प्रयास गरें तर रोक्न सकिन । हामी आमाछोरी बाध्य भएर उसको पछि लाग्यौं । थानकोटमा पाँच आना जग्गामा बनेको सटर भएको घर किनेर दाइले पसल सुरु गर्‍यो । बचेको पैसाले छेवैमा अर्को घडेरी किन्यो । हातमुख जोर्ने बाटो भएपछि मैले बीएस्सी नर्सिङ पढ्ने इच्छा व्यक्त गरें तर आमा र दाजु–भाउजू सहमत भएनन् । आमा सहमत नहुनुको कारण–‘जति पढिस्, त्यति नै काफी छ । अब एउटा केटो खोजी विवाह गरेर जिम्मा लाइदिन्छु अनि जे मन लाग्छ गर्नू ।’

दाइ असहमत हुनुको कारण–‘फिस कसले तिर्छ ?’ भाउजू असहमत हुनुको कारण–‘घरधन्दा कसले हेर्छ ? पसलको हिसाब–किताब कसले हेर्छ ?’ तर मैले कसैको कुरा सुनिनँ । दाजुसँग भनें–‘मेरो विवाह नै गर्ने हो भने पनि खर्च त लाग्छ । मेरो पढाइ सुरु गराइदे, म तँमाथि बोझ बन्दिनँ । काम खोज्छु । फुसर्दका बेला यहीँ पसलमा काम गर्छु । मेरो विवाहको खर्च म आफैं जोड्छु । तेरो सुको खर्च गराउँदिन ।’दाइले मनमनै गुन्यो । भाउजूसँग सल्लाह गर्‍यो अनि ठूलो खर्चको अनुपातमा सानो खर्च चुन्यो । मेरो कलेजको फिस तिरिदियो ।

चार वर्ष बिते । मैले ट्युसन पढाएँ । रेस्टुराँ र पसलमा काम गरें । भाउजूको बेस्सरी चाकरी गरें । जस्तै चटारो भए पनि डिस्टिङ्सनका साथ नर्सिङ सकें र काम सुरु गरेपछि अस्पताल नजिकै बनेपा सरें । भाउजू खराब थिइनन् तर उनी अल्छी र कन्जुस थिइन् । त्यसैले म नभएपछि आमाको थाप्लोमा अझै काम थुप्रियो । त्यसै पनि गाउँ छोडेदेखि आमा घटेर आधा हुनुभएको थियो । मधुमेहको रोगी आमा डाक्टर देखाउन पटक्कै मान्नुहुन्नथ्यो । त्यसमाथि दाइ–भाउजू पैसा खर्च हुन्छ भनेर डराउँथे । म जसरी–तसरी सबैको हेरचाह गर्थें । कामको सबै बोझ आफ्नो थाप्लोमा लिने प्रयास गर्थें तर म बनेपा सरेपछि आमाले नै सिङ्गो घर र नाति–नातिनाको रेखदेखको जिम्मेवारी बोक्नुपर्‍यो ।

दाइका चार वर्षबीचमा जन्मिएका तीनजना सन्तानका लागि भाउजूको योगदान उनले तिनलाई जन्म दिनुबाहेक केही थिएन । म र आमाले उनीहरूको हेरचाह गर्‍यौं । अब भाउजू फेरि दुई जिउकी थिइन् । सर्ने बेलामा मैले आमालाई आफूसँगै जान आग्रह पनि गरें तर आमा न छोरा छोड्न सक्नुहुन्थ्यो, न भाउजू एक्लै घर र केटाकेटीलाई सम्हाल्न सक्थिन् । म चिन्तित मनले बनेपा सरें ।

                                                 ०० ०० ००

यसरी नै अर्को एक वर्ष बित्यो । सँगै अस्पतालमा काम गर्ने एकजना सर्जन मतर्फ आकर्षित भए र बारम्बार विवाहको प्रस्ताव राख्न थाले । पहिले त मैले टार्न खोजें तर उनका बारेमा सबै कुरा बुझिसकेपछि म राजी भएँ । त्यसभन्दा पहिले मैले आफ्ना बारेमा सबै कुरा नढाँटी उनलाई बताएँ र विवाहमा खासै तडकभडक गर्न नसक्ने बाध्यता बताएँ । यो पनि उनलाई सहर्ष स्वीकार थियो । अनि मैले आमा र दाइसँग कुरा गर्न जाने मन बनाएँ । यसै पनि तीन महिना भैसकेको थियो म उता नगएको तर म उता जानुभन्दा पहिल्यै दाइको फोन आयो ।

आमा टिचिङ अस्पतालमा हुनुहुन्थ्यो । म हतारिँदै अस्पताल पुगें । आमाको अवस्था देखेर म साह्रै डराएँ । आमाका दुवै किड्नी ड्यामेज थिए । किड्नी खोज्ने कुरा चलेपछि पैसाको कुरो चल्यो । पैसाको कुरो चलेपछि दाइले सीधै भन्यो–‘मेरो यत्रो परिवार छ । पसलको कमाइले जसरी–तसरी मुखमा माड लाइदिन सकेको छु । मसँग एक पैसाको आशा नराख ।’ मैले अविश्वासपूर्ण दृष्टि ऊतिर तेस्र्याएँ ।

‘दाइ, गाउँको सारा श्रीसम्पत्ति बेचेर ल्याएर घरबार र व्यापार जोडेको छस् । म र आमाका लागि कहिल्यै खासै सिन्को भाँच्नु परेन । मसँग भए म झिक्थें तर मैले पनि त काम सुरु गरेको धेरै भएको छैन । त्यत्रो पैसा म एक्लैले कहाँबाट जोहो गरौं ?’ मैले भनें ।

‘बाउको सम्पत्तिमा छोराको हक त लागिहाल्छ नि, अब के तँ पनि हक खोज्न थालेकी ?’ ऊ जङ्गियो ।

‘बिस्तारै बोल दाइ’, मैले सेटेटिभको असरले निदाएकी आमाको अनुहार हेरेर दबेको स्वरमा भनें–‘अंश खोजेकी होइन मैले, तँलाई थाहा छ । बाको सम्पत्तिमा आमाको पनि त हक लाग्छ ? तैंले एक शब्द भनेको भरमा आफू जन्मी–हुर्किएको गाउँघर, भीरपाखा चटक्क छोडेर सारा सिरिखुरी तँलाई सुम्पेर आमा तेरो पछि लागेर यहाँ आउनुभयो । तँलाई गारो होला भनेर सिकिस्त बिरामी हुँदा पनि तँसँग कहिल्यै कुनै कुराको गुनासो गर्नुभएन । अहिले पनि यसरी नढलेकी भए कसैले थाहा पाउँदैनथ्यो उहाँको व्यथा । दाइ यस्ती आमाको त हक लाग्छ नि होइन बाको सम्पत्तिमा ?’ मेरो गला अवरुद्ध भयो । ‘हक लाग्छ भनेर म के सबै आमाको उपचारमा खर्च गरेर आफू पाटीको बास गरूँ ? ऊ झर्कियो । म आश्चर्यचकित उसलाई हेरिरहें ।

                                                  ०० ०० ००

दाइकै कारणले मेरो र आमाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । मलाई लाग्थ्यो उहाँ दाइ र मप्रति पश्चात्ताप गर्नुहुन्थ्यो । उहाँलाई लाग्थ्यो–म दाइको रिस गर्थें । आमा र मबीच सधैं कहिल्यै नटुङ्गिने विवाद चलिरहन्थ्यो तर उहाँ बिरामी भएपछि मैले केही भन्न छोडेकी थिएँ । यो त्यही दाइ थियो जसका लागि आमा सधैं मर्न तयार हुनुहुन्थ्यो । गाउँमा दाइकै कारण ती सबै आमाका पनि शत्रु हुन पुगेका थिए । म साक्षी थिएँ १० महिना दाइ नहुँदाको आमाको हालतको, जो एकोहोरो भएर हरक्षण गाउँ आउने–जाने बाटो नियाली रहनुहुन्थ्यो । मेरो परीक्षाका बेला पनि आमा मट्टीतेल खर्च हुुन्छ भनेर बत्ती बालेर पढ्न दिनुहुन्नथ्यो तर दाइको पर्खाइमा सधैं ढोकाछेउ एउटा बत्ती बालेर राख्नुहुन्थ्यो । न मीठो खानुहुन्थ्यो, न मलाई खान दिनुहुन्थ्यो । छोराका लागि मर्न तयार आमाको उपचार गर्न छोरासँग खर्च थिएन तर गाउँको सबै सम्पत्ति बेचेर किनेको उसको घरकै मोल आज आठ गुणा बढेको थियो । अर्को घडेरीको पनि उत्तिकै मोल पथ्र्यो ।

                                                  ०० ०० ००

‘त्यसो भए घडेरी बेचूँ ।’ मैले उसलाई भनें । ‘भाउजूको नाममा छ ।’ उसले दबेको स्वरमा भन्यो–‘त्यसमाथि त्यो भएको एउटा घडेरी बेचेर म छोराछोरीको पढाइ–लेखाइ कसरी गरूँ ?’ मैले रिसले आँखा देखिन । ‘त्यसो भए तँ तेरो एउटा किड्नी दे आमालाई, बाँकी खर्च म बेहोर्छु ।’ ‘बहुलाइस् कि क्या हो ?’ उसले आक्रोशित स्वरमा भन्यो–‘भर्खर २६ वर्षको पनि भा’ छैन म । घरमा चार–चारवटा छोराछोरी र जवान जाहान छे । तँ कसरी सक्छेस् मलाई अङ्गभङ्ग हो भन्न ?’

‘एउटा किड्नी नहुनु अपाङ्गै हुनु होइन ।’‘भए पनि, एउटा मर्न लागेको मान्छेका लागि सद्दे मान्छे काटकुट पार्नु ?’ ‘पुग्यो दाइ पुग्यो ।’ मैले रुँदै भनें–‘आमा मरिहाल्नु हुन्न यति सजिलै, हामी भएको के काम लाग्यो त्यसो भए ?’ ‘हामी के गर्न सक्छौं ? आमा अहिलेसम्म बाँचिहाल्नुभयो ।नाति–नातिनाको मुख देखिहाल्नुभयो । अब चिरफार गरेर किन उहाँको परत्र बिगार्नु ? बरु काजकिरिया राम्रोसँग गरिदिउँला । अस्तु काशी सेलाइदिउँला । त्यसभन्दा अरू के चाहियो ?’ ‘निस्की हाल् । तुरुन्तै बाहिर निस्की हाल् ।’ म निकै कराएँ । ‘१२–१३ वर्षको उमेरमा विवाह भएर, सधैं दु:ख काटेर, तरुनी नहुँदै दुई–दुईवटा सन्तान जन्माएर, कलकलाउँदो उमेरमा विधवा भएकी । भर्खर ४० काटेकी । यस्ती आमालाई जिन्Þदगी दिनुको सट्टा दागबत्ती दिने कुरा गर्ने ? तँ जस्तो लाछीको मलाई कुनै मद्दत चाहिएन । मै दिन्छु मेरी आमालाई किड्नी । तँ निस्की यहाँबाट र गएर स्वास्नीको काखमा घुस्रिएर मर् । फर्केर नआइज यहाँ फेरि ।’ यति भन्दै मैले आँसु पुछें ।

‘तेरो त विवाह पनि भा’ छैन ?’ उसले उठ्दाउठ्दै भन्यो–‘जोसमा आएर कुनै नचाहिँदो निर्णय नगर् । मर्नेसँग सँगै सती जान सकिँदैन, जतिसुकै माया लागे पनि । भोलि विवाह गर्ने कोही निस्किएन भने बूढीकन्या नै बस्नुपर्ला, होस गर् ।’ मैले आँसु पुछें अनि दृढ स्वरमा भनें–‘कसैकी स्वास्नी बन्नुभन्दा पहिले छोरी त बन्न सकौं । मलाई जन्म र जिन्दगी दिनेको भारा त चुकाउन सकौं । त्यसपछि सोचौंला, बाँकी जिन्दगीको कुरा । छोरी नै हुन सकिनँ भने स्वास्नी कसरी हुनसक्छु ? आमा कसरी हुनसक्छु ? तँ जा दाइ । अब हाम्रो चिन्ता नगर् ।’ ऊ अनकनाउँदै बाहिर निस्कियो ।

मैले देखें, आमाको बन्द आँखाको काप हुँदै दुई ढिक्का आँसु गालामा गुल्टिए ।

                                                  ०० ०० ००

 Image