Successfully Copied

मोहन्ना क्षेत्री, शिक्षिका तथा इभेन्ट म्यानेजर

साना बालबालिकाहरूकाे मनाेविज्ञान अनुशार कसरी ख्याल राख्ने वारेमा शिक्षिका तथा इभेन्ट म्यानेजर मोहन्ना क्षेत्रीसंगकाे कुराकानि

साना बालबालिकाहरूलाई अनुशासनमा राख्न के गर्नुपर्छ ?

बालबालिकाहरू मायाका भोका हुन्छन् । उनीहरूलाई माया–ममता प्रदान गर्नुपर्छ । माया र प्रेमले संसार जित्न सकिन्छ ।

उनीहरूलाई कसरी पढाइमा एकाग्र गराउने ?

सर्वप्रथम बालबालिकाहरूको भावना बुझ्नुपर्छ । पाठसँग सम्बन्धित रोचक प्रसंग सुनाएर पढाए उनीहरू एकाग्र हुन्छन् ।

प्राय: बालबालिकाहरू घरमा चकचके हुन्छन् तर बाहिर चुपचाप रहन्छन् । यस्तो बानी सुधार्न के गर्नुपर्ला ?

घरको बाघ वनको स्याल भन्ने त उखान नै छ । जो पनि आफ्नो घरपरिवारसँग बढी नजिक अनुभव गर्छन् भने अन्यत्र बोल्न धक मान्छन् । त्यसैले बालबालिकाहरूलाई घरमा मात्र होइन अन्त पनि घुलमिल गराउनुपर्छ । बालबालिकाहरू बाहिरभन्दा घरमा चञ्चल हुनु मानवीय स्वभाव हो ।

आफ्ना सन्तान कुन स्तरका छन् कसरी थाहा पाउने ?

उनीहरूको बानी–व्यवहार, बोली, अनुशासन आदि हेर्ने, पढाइका विषयमा बालबालिकाले आफ्नो काम कसरी पूरा गरेका छन् बुझ्नुपर्छ । साथीहरूबाट सारेका छन् वा पुस्तक हेरेर आफै बुझ्ने प्रयास गर्छन् वा गाइडबाट सार्छन् ख्याल गर्नुपर्छ । कक्षामा उनीहरूको आनीबानी कस्तो छ, थाहा पाउनुपर्छ ।

बालबालिकाहरूलाई असल बनाउन के–कस्तो वावातरण सिर्जना गर्नुपर्छ ?

बालबालिकाको आवश्यकता समयमा पूरा गरिदिने, के सही र के गलत हो आफूले प्रेमपूर्ण वातावरणमा बुझाई दिनुपर्छ  । बालबालिकाले मागे भन्दैमा सबै कुरा पूरा गरिदिनु हुँदैन । 

बालबालिकाहरूको गल्तीमा अभिभावक तथा शिक्षकहरूले कस्तो सजाय दिनुपर्ला ?

गल्ती मानिसबाटै हुन्छ । यो मानवीय स्वभाव पनि हो । बालबालिकाहरूको गल्ती कुन प्रकृतिको छ ? उनीहरूबाट जानेर वा नजानेर कसरी गल्ती भएको छ बुझ्नुपर्छ । एउटै गल्ती बारम्बार दोहोरियो भने उनीहरूमा मानसिक समस्या हुनसक्छ । त्यसैले सम्बन्धित विज्ञबाट उनीहरूको उपचार गराउनुपर्छ । 

 

 Image